सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

सोमबार, ११ साउन २०८३, १३ : ५८
सोमबार, ११ साउन २०८३

सारांश

  • नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।
  • शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच भएको ३ बुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् ।
  • प्रचण्डले गठबन्धनलाई मजबुत बनाउन माधव नेपालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने आश्वासन दिएका छन् ।

काठमाडौँ । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे समझदारीप्रति पाल असन्तुष्ट रहेकाले उनलाई फकाउने उद्देश्यले प्रचण्ड कोटेश्वर पुगेको बताइएको छ ।

शनिबार अध्यक्ष ओली र संयोजक प्रचण्डबिच पाँच वटा प्रदेशमा सरकार गठन गर्ने र शक्ति बाँडफाँट गर्ने गरी भएको ३ बुँदे सहमतिप्रति नेपालले असन्तुष्टि जनाउँदै आएका छन् । उक्त सहमति 'सत्ता केन्द्रित' मात्र भएको र नीतिगत स्पष्टता नभएको नेपालको धारणा रहँदै आएको छ । 

सोमबार बिहान साढे ९ बजे भएको उक्त भेटवार्तामा यही विषयमा केन्द्रीय रहेर छलफल भएको बुझिएको छ । माधव नेपालका सहयोगी लक्ष्मण रेग्मीका अनुसार, भेटमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता समीकरणलाई बलियो बनाउने विषयमा केन्द्रित रहेर कुराकानी भएको छ । नेपालको असन्तुष्टिमा केन्द्रीय रहेर प्रचण्डले आश्वस्त पार्ने प्रयास गरेको बताइएको छ । 

शनिबारको सहमति अनुसार नेकपा एमालेले कोशी, बागमती र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री लिने र नेकपाले कर्णाली र सुदूरपश्चिममा मुख्यमन्त्री लिने उल्लेख छ । 

नेपाल निकट नेता रामकुमार भट्टराईले नयाँ सरकारले गर्ने नवीन कार्यहरू र जनतालाई दिने डेलिभरीका विषयमा प्राथमिकता निर्धारण नगरिएकाले सहमति परिपक्व नभएको नेपालको बुझाइ रहेको बताए । 

प्रचण्डले भने गठबन्धनलाई मजबुत बनाउन माधव नेपालको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनलाई विश्वासमा लिएर अघि बढ्ने आश्वासन दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप