सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

जनमत पार्टीका सचिव यादवले दिए राजीनामा

सोमबार, ११ साउन २०८३, १७ : २५
सोमबार, ११ साउन २०८३

सारांश

  • जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पार्टीभित्रको पछिल्लो राजनीतिक, सङ्गठनात्मक र कार्यशैलीका कारण पदबाट राजीनामा दिएका छन् ।
  • यादवले पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार र सङ्गठनात्मक मर्यादाका विषयमा असहजता उत्पन्न भएको बताएका छन् ।
  • उनले जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई राजीनामा बुझाउँदै आगामी दिनमा लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय र जनताको हितका पक्षमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुटवल । जनमत पार्टीका सचिव भोविन्द्रप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । रुपन्देहीको भैरहवा निवासी यादवले सोमबार दिउँसो पार्टी  अध्यक्ष डा.सीके राउतलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । 

उनले राजीनामा पत्रमा पार्टीभित्र पछिल्लो समय उत्पन्न राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीसम्बन्धी परिस्थितिका कारण पदमा रहेर प्रभावकारी रूपमा कार्यसम्पादन गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरेका छन् ।

पार्टीको नीति, सिद्धान्त र उद्देश्यअनुसार जिम्मेवारी निर्वाह गर्दै आए पनि पछिल्लो समय पार्टीभित्र आन्तरिक लोकतन्त्र, पारदर्शिता, समान व्यवहार तथा सङ्गठनात्मक मर्यादाका विषयमा गम्भीर असहजता उत्पन्न भएको यादवले बताएका छन् ।

‘आफ्नो आत्मसम्मान, राजनीतिक मूल्य–मान्यता तथा व्यक्तिगत विवेकलाई ध्यानमा राख्दै जनमत पार्टीको राष्ट्रिय सचिव पदबाट आजकै मितिदेखि लागू हुने गरी स्वैच्छिक राजीनामा पेस गर्दछु,’ यादवले राजीनामा पत्रमा भनेका छन् ।

यादवले आफूले पार्टीमा रहँदा निर्वाह गरेको जिम्मेवारीमा कुनै कमी–कमजोरी भए त्यसलाई व्यक्तिगत रूपमा नलिई सङ्गठनात्मक यात्राको स्वाभाविक पक्षका रूपमा ग्रहण गरिदिन आग्रह गरेका छन् ।

उनले जनमत पार्टी तथा पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता र शुभेच्छुकहरूप्रति आफू सधैँ समान भावनाका साथ रहने बताएका छन् । आगामी दिनमा लोकतन्त्र, जनअधिकार, सुशासन, सामाजिक न्याय र जनताको हितका पक्षमा आफ्नो राजनीतिक तथा सामाजिक भूमिका निरन्तर निर्वाह गर्दै जाने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

राजीनामा पत्रको अन्त्यमा यादवले आफ्नो राजीनामा स्वीकृत गरी आवश्यक प्रक्रिया अघि बढाइदिन पार्टी अध्यक्ष डा.सीके राउतसमक्ष अनुरोध गरेका छन् । उनले आफ्नो राजीनामाबारे पार्टी सचिवालय र अध्यक्ष राउतलाई जानकारी गराइसकेको बताएका छन् ।

जनमत पार्टी स्थापनाकालदेखि नै पार्टीमा सक्रिय रहँदै आएका यादव यसअघिको सङ्घीय निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप