सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक स्याहार सुधार्ने बेलायती प्रधानमन्त्रीको प्रतिबद्धता

सोमबार, ११ साउन २०८३, १७ : ०१
सोमबार, ११ साउन २०८३

काठमाडाैँ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) माथिको बढ्दाे दबाब कम गर्न देशको सामाजिक स्याहार प्रणालीमा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पदभार सम्हालेको एक सातापछि बीबीसीसँगको अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक पूँजीको प्रमुख हिस्सा यही सुधारमा केन्द्रित गर्ने बताए।

बर्नह्यामले आफूले पदमा रहँदासम्म सामाजिक स्याहार क्षेत्रमा अर्थपूर्ण परिवर्तन नगरी सरकारबाट बाहिरिन नचाहेको स्पष्ट पारे। उनका अनुसार सुधार कार्य सकेसम्म छिटो अघि बढाइने भए पनि नयाँ प्रणाली कार्यान्वयन गर्न समय लाग्नेछ।

बेलायतमा राष्ट्रिय स्वास्थ्य सेवा सार्वजनिक कोषबाट सञ्चालन हुने र उपचार निःशुल्क उपलब्ध हुने व्यवस्था भए पनि वृद्ध तथा अशक्त नागरिकका लागि सामाजिक स्याहार सेवा भने मुख्यतः निजी क्षेत्रमार्फत सञ्चालन हुँदै आएको छ। स्थानीय निकायले सेवा व्यवस्थापन गरे पनि बढ्दो वृद्ध जनसङ्ख्या र सीमित स्रोतका कारण सेवा प्रणाली दबाबमा परेको छ।

सामाजिक स्याहारको अभावका कारण अस्पतालबाट डिस्चार्ज गर्नुपर्ने धेरै वृद्ध तथा आश्रित बिरामी लामो समयसम्म अस्पतालमै बस्न बाध्य हुने गरेका छन् । यसले एनएचएसमा शय्या अभाव र कर्मचारीमाथिको कार्यबोझ थप बढाएको विश्लेषण गरिएको छ।

बर्नह्यामले सन् २००९–१० मा तत्कालीन प्रधानमन्त्री गोर्डन ब्राउनको सरकारमा स्वास्थ्यमन्त्री रहँदा एनएचएससरह निःशुल्क राष्ट्रिय स्याहार सेवा स्थापना गर्ने प्रस्ताव अघि सारेका थिए। यद्यपि त्यो योजना कार्यान्वयन हुन सकेको थिएन । उनका बुबा अल्जाइमर रोगबाट पीडित रहेकाले सामाजिक स्याहार सुधारप्रति आफू लामो समयदेखि प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरे।

प्रधानमन्त्री बर्नह्यामले बढ्दो सामाजिक सुरक्षा तथा कल्याण खर्च नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि औँल्याएका छन्। उनले काम गर्न सक्ने व्यक्तिलाई रोजगारीतर्फ फर्काउन सामाजिक सहायता प्राप्त गर्ने मापदण्डलाई थप उत्तरदायी बनाउने संकेत गर्दै उपलब्ध अवसरको उपयोग गर्नेहरूसँग सहायता प्रणालीलाई जोड्नुपर्ने धारणा व्यक्त गरे।

यसअघि पूर्वप्रधानमन्त्री किर स्टारमरले पनि कल्याणकारी प्रणालीमा सुधार गर्ने प्रयास गरेका थिए। तर आफ्नै दलभित्रको विरोधका कारण प्रस्तावित सुधारका केही योजना परिमार्जन गर्नुपरेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप