सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य/ जीवनशैली

महिनावारीको पीडा : कति रगत बग्नु स्वाभाविक हो, कहिले अस्पताल जाने?

‘महिनावारीमा धेरै रगत बग्नु सामान्य होइन, यो गम्भीर स्वास्थ्य समस्या हो’
सोमबार, ११ साउन २०८३, १८ : ३०
सोमबार, ११ साउन २०८३

सारांश

  • महिनावारीमा अत्यधिक रक्तस्राव एक गम्भीर स्वास्थ्य समस्या हो जसले १० देखि ३० प्रतिशत महिलालाई असर गर्छ र यसको पहिचान र उपचारमा अझै धेरै अनुसन्धान आवश्यक छ।
  • प्रति चक्र ८० मिलिलिटरभन्दा बढी रगत बग्नु, ठूला रगतका ढिक्का जानु वा सात दिनभन्दा बढी महिनावारी हुनुलाई अत्यधिक रक्तस्राव मानिन्छ, तर यसको मापन चुनौतीपूर्ण छ।
  • अत्यधिक रक्तस्रावले एनिमिया जस्ता अन्य स्वास्थ्य समस्या निम्त्याउनुका साथै शिक्षा, काम र व्यक्तिगत जीवनमा समेत नकारात्मक असर पार्छ।

महिनावारीमा अत्यधिक रक्तस्राव हुनु एउटा गम्भीर स्वास्थ्य समस्या हो। यसको कारण के हो र यसको उपचार कसरी गर्न सकिन्छ भन्ने कुरा हामीले भर्खरै मात्र बुझ्न थालेका छौं।

१२-१३ वर्षको उमेरदेखि नै मिसेल एल्सटनले महिनावारीको सबैभन्दा कठिन दिनहरू स्कुलको नर्स बस्ने कोठामा सुतेर बिताइन्। प्याडबाट रगत छिचोलेर बग्दा उनी कडा दुखाइको सामना गर्थिन्। उनी भन्छिन्, ‘मलाई यो सामान्य हो भन्ने सिकाइएको थियो। यो यस्तो कुरा हो जसको सामना गर्न सिक्नुपर्छ।’

साथीहरूले जस्तो महिनावारीको सामना गर्न नसक्दा उनलाई कमजोरी महसुस हुन्थ्यो। ४० वर्षको उमेर नाघेपछि मात्र उनले थाहा पाइन्, यसमा कमजोरीको कुनै दोष थिएन। उनको महिनावारीमा अस्वाभाविक रूपमा धेरै रगत बग्थ्यो। महिनावारीको समयमा हुने रक्तस्रावले दैनिक जीवनमै असर पुर्‍याउँछ भने डाक्टरहरू यसलाई अत्यधिक महिनावारी रक्तस्राव भन्छन्, जुन एउटा गम्भीर चिकित्सकीय समस्या हो।

विश्वभरका मानिसहरूमा गरिएको अध्ययनअनुसार प्रजनन उमेरका १० देखि ३० प्रतिशत महिलाले एल्सटनले जस्तै महिनावारीमा अत्यधिक रक्तस्रावको समस्या भोग्छन्। यसबारे कमै मात्र उजुरी वा जानकारी दिइने र कति रगत बग्नुलाई अत्यधिक मान्ने भन्ने बुझाइको कमीले गर्दा वास्तवमा प्रजनन उमेरका आधाजसो महिलामा यस्तो समस्या हुन सक्ने अध्ययनहरूले देखाएका छन्। अत्यधिक रक्तस्रावले अन्य स्वास्थ्य समस्याहरूको पनि संकेत गर्न सक्छ। यसलाई बेवास्ता गरेमा रक्तअल्पता (एनिमिया) जस्ता गम्भीर परिणामहरू निम्तिन सक्छन्।

यद्यपि, अनुसन्धानकर्ताहरूले भर्खरै मात्र महिनावारीमा हुने अत्यधिक रक्तस्रावबाट हुने हानीका बारेमा गहिराइमा अध्ययन गर्न थालेका छन्। उनीहरू राम्रो पहिचान र उपचारको खोजीमा छन्। बायोमेडिकल अनुसन्धान प्रकाशनहरूको डाटाबेस ‘पबमेड’ मा महिनावारीको रगत शब्द खोज्दा पछिल्लो दशकमा जम्मा ४०० वटा मात्र प्रकाशन फेला परे। उदाहरणका लागि, सिमेन (वीर्य) सम्बन्धी प्रकाशनहरूको सङ्ख्या १५,००० भन्दा बढी छ।

स्कटल्यान्डस्थित युनिभर्सिटी अफ एडिनबर्गकी स्त्रीरोग विशेषज्ञ तथा अत्यधिक रक्तस्रावसम्बन्धी अनुसन्धान पहल ‘द मिस्ड भाइटल साइन’ की कार्यक्रम निर्देशक ज्याकी मेबिन भन्छिन्, ‘महिलाहरूका लागि दशकौं नभए पनि वर्षौंको अनुसन्धान बाँकी छ। र मलाई लाग्छ, त्यो समय अब आइसकेको छ।’

  • कति रगत बग्नु अत्यधिक हो?

अनुसन्धानकर्ताहरूका लागि प्रति चक्र ८० मिलिलिटरभन्दा बढी रगत बग्नु, अमेरिकी सिक्काभन्दा ठूला रगतका ढिक्का जानु वा सात दिनभन्दा बढी समयसम्म महिनावारी हुनु अत्यधिक रक्तस्राव हो। 

mensuration (2)

तर महिनावारी हुनेहरूका लागि रक्तस्राव मापन गर्ने व्यावहारिक तरिकाहरूलाई रूपान्तरण गर्ने कुनै प्रमाणित वा मेट्रिक प्रणाली छैन। जस्तै: कति पटक बाथरुम जाने, कतिवटा प्याड वा ट्याम्पोन फेर्ने, वा रगत लागेको भित्री वस्त्रको सङ्ख्या कति हुने भन्ने कुनै निश्चित मापदण्ड छैन।

केही चिकित्सकहरू क्रमशः धेरै रगत लागेका प्याड र ट्याम्पोनहरू देखाइएको चार्ट प्रयोग गरेर बिरामीहरूलाई आफ्नो रक्तस्रावको अनुमान गर्न लगाउँछन्। तर यो पनि सही हुँदैन। किनकि सबै महिनावारीका उत्पादनहरू एकैनासका हुँदैनन् र तिनको रगत सोस्ने क्षमतामा पनि ठूलो भिन्नता हुन्छ।

जसको परिणामस्वरूप, महिनावारीको समयमा कति रगत बग्नु अत्यधिक हो भनेर निर्धारण गर्न सजिलो छैन। धेरैजसो अवस्थामा चिकित्सकहरूले यसले बिरामीको दैनिक जीवनको गुणस्तरमा कत्तिको असर गरिरहेको छ भन्ने आधारमा अत्यधिक रक्तस्रावको निक्र्यौल गर्नुपर्ने हुन्छ।

क्यालिफोर्निया विश्वविद्यालय सान फ्रान्सिस्कोको स्त्रीरोग, प्रसूति र प्रजनन विज्ञान विभागकी क्लिनिकल प्रोफेसर एडवोवा क्रिस्टी भन्छिन्, ‘कहिलेकाहीँ बिरामीहरूलाई आफूलाई भइरहेको रक्तस्रावको मात्रा सामान्य होइन र वास्तवमा यसको उपचार गर्न सकिन्छ भन्ने कुराको पत्तै हुँदैन।’

एल्सटनको रगत नियमित रूपमा ओछ्यान र लुगामा लाग्थ्यो। एकपटक त मोबाइल फोन पसलको सेतो कुर्सीमा समेत रगत लाग्यो। उनलाई आफूले नै केही गल्ती गरिरहेको छु र सायद रगत रोक्न फरक किसिमका उत्पादनहरू चाहिन्छ भन्ने लाग्थ्यो।

उनलाई महिनावारीको समयमा पीडादायी पेट दुखाइ र रगतको दाग लाग्नु सामान्य कुरा हो भनेर स्वीकार गर्न लगाइएको थियो। विश्वका अन्य क्षेत्रहरूमा महिनावारीसम्बन्धी अन्धविश्वास र लाञ्छना अझ गहिरो छ।

श्रीलङ्कास्थित युनिभर्सिटी अफ कोलम्बोका प्रसूति तथा स्त्रीरोग विभागका इमेरिटस प्रोफेसर तथा एशियन सोसाइटी अफ एन्ड्रोमेट्रियोसिस एन्ड एडेनोमायोसिसका प्रमुख हेमन्त सेनानायके भन्छन्, ‘मलाई लाग्छ मेरो क्षेत्रमा धेरै मानिसहरू यसको बारेमा गुनासो गर्दैनन्। सायद दुखाइलाई सामान्य मान्ने चलन र सामाजिक लाञ्छनाका कारण उनीहरू डाक्टरकहाँ आउँदैनन्।’

स्त्रीरोग विशेषज्ञहरूलाई अत्यधिक रक्तस्राव पत्ता लगाउन विस्तृत प्रश्नहरू सोध्न आउँछ। तर अन्य क्षेत्रका चिकित्सकहरूले यी संकेतहरूलाई बेवास्ता गर्न सक्छन्। कसैले आफ्नो अत्यधिक रक्तस्रावको समस्या पहिचान गर्न एल्सटनले झण्डै ३० वर्ष कुर्नुपर्यो, र यस्तो समस्या भोग्ने उनी एक्ली भने होइनन्।

  • अत्यधिक रक्तस्राव एउटा लक्षण मात्र होइन

अत्यधिक रक्तस्राव आफैंमा एउटा समस्या भए पनि यो मुख्यतया ठूलो स्वास्थ्य समस्याको लक्षण हो। यो पोलिप्स (मासु पलाउने), फाइब्रोइड्स, क्यान्सर, रगतसम्बन्धी विकार, अण्डाशयसम्बन्धी समस्या र एन्ड्रोमेट्रियोसिस जस्ता गर्भाशयसम्बन्धी विकारलगायत विभिन्न कारणले उत्पन्न हुन्छ। पहिलो पटक महिनावारी सुरु हुँदा र महिनावारी सुक्ने (मेनोपज) अवस्थामा शरीरको हार्मोनल सन्तुलन परिवर्तन भइरहेको बेला पनि यो सामान्य मानिन्छ, यद्यपि यसलाई सम्बोधन गर्नुपर्छ।

यी अवस्थाहरूको उपचार गरेर अत्यधिक रक्तस्रावलाई कम गर्न सकिन्छ, तर यी समस्याहरूले रक्तस्रावको मात्रालाई कसरी बढाउँछन् भन्ने वैज्ञानिकहरूलाई अझै ठ्याक्कै थाहा छैन। गर्भाशयको मांसपेशीमा पलाउने क्यान्सररहित मासुको डल्लो नै फाइब्रोइड्स भएको बताउँदै मेबिन भन्छिन्, ‘फाइब्रोइड्सकै बारेमा धेरै अनुसन्धान भएका छन्, तर उदाहरणका लागि तिनीहरूले किन अत्यधिक रक्तस्राव गराउँछन् भन्ने विषयमा भने अनुसन्धान भएको छैन।’

अर्कोतर्फ, अत्यधिक रक्तस्रावको उपचार नगर्दा आइरनको कमी जस्ता नयाँ समस्याहरू सिर्जना हुन सक्छन्। स्वस्थ कोष, रोग प्रतिरोधात्मक क्षमता, मांसपेशी, छाला, कपाल र नङको लागि आइरन एक आवश्यक खनिज हो। आइरनको मात्रा घट्न थालेपछि दिमाग लट्ठ पर्ने (ब्रेन फग), रिंगटा लाग्ने, सास फेर्न गाह्रो हुने, सजिलै निलडाम बस्ने र कपाल झर्ने जस्ता समस्याहरू देखा पर्न सक्छन्।

यसरी अत्यधिक रक्तस्रावको असर महिनावारीको समय बाहिर पनि रहिरहन्छ। अध्ययनहरूका अनुसार अत्यधिक रक्तस्राव हुने ४० प्रतिशतभन्दा बढी महिलामा आइरनको कमी पनि हुने गरेको अनुमान छ। एल्सटनले आफूलाई पनि यही तथ्याङ्कभित्र पाइन्। 

mensuration (1)

उनलाई सधैँ जाडो हुन्थ्यो र अक्सर आइस क्युब (बरफको टुक्रा) खान मन लाग्थ्यो। यो आइरनको कमीको एउटा अनौठो तर स्पष्ट संकेत हो जसलाई अनुसन्धानकर्ताहरूले अझै राम्ररी बुझ्न सकेका छैनन्। उपचार नभएमा आइरनको कमीले रक्तअल्पता निम्त्याउन सक्छ। यस्तो अवस्थामा शरीरभरि अक्सिजन पुर्‍याउन रातो रक्तकोषिकाका लागि आवश्यक पर्ने हेमोग्लोबिन उत्पादन गर्न बोनम्यारोसँग पर्याप्त आइरन हुँदैन। यो एउटा यस्तो गम्भीर अवस्था हो जसलाई सुधार्न चरम अवस्थामा रगत नै चढाउनुपर्ने हुन्छ।

कम र मध्यम आय भएका देशहरूमा रक्तस्राव मातृ मृत्युको प्रमुख कारण भएको सेनानायके बताउँछन्। यस्तो अवस्थामा गर्भावस्थाअघि नै आइरनको कमीले हुने रक्तअल्पता समाधान नभएमा रगत खेर जाँदा शरीरले आफूलाई तङ्ग्राउन सक्ने क्षमतामा कमी आउँछ। यसले भ्रूणको मस्तिष्क विकासमा पनि हानी पुर्‍याउन सक्छ।

  • अत्यधिक रक्तस्रावको मूल्य/असर

अत्यधिक रक्तस्रावको चिकित्सकीय गम्भीरताबारे वैज्ञानिक मान्यता बढ्दै गए पनि यो समस्यासँग बाँच्नु कस्तो हुन्छ भन्ने विषयमा कमै अनुसन्धान भएको छ।

बेलायतको शेफिल्ड हलाम युनिभर्सिटीकी मनोविज्ञानकी उपप्राध्यापक एमिली योङले पनि एल्सटनले जस्तै अत्यधिक रक्तस्रावको अनुभव गरिन्। रगत धेरै बगेका कारण उनी एकपटक भन्दा बढी बेहोस भइसकेकी छिन्। जुनसुकै बेला पनि महिनावारी हुन सक्ने भएकाले उनी सधैं फेर्ने लुगा बोकेर हिँड्थिन्। तर उनका डाक्टरहरूले बच्चा जन्माएपछि महिनावारी सामान्य हुने आश्वासन दिए। दुई दशकसम्म स्वास्थ्यकर्मीहरूबाट भएको बेवास्ताको पीडाबाट प्रेरित भएर उनी अहिले अत्यधिक रक्तस्राव भएका अन्य व्यक्तिहरूको अनुभवमाथि अनुसन्धान गरिरहेकी छिन्।

योङ भन्छिन्, ‘यो केवल एउटा असुविधा मात्र होइन। यो त महिनावारीको चक्रको वरिपरि आफ्नो सम्पूर्ण जीवनको संरचना तयार पार्नुपर्ने बाध्यता हो।’

सन् २०२५ मा प्रकाशित हुने एउटा अध्ययनका लागि योङले यस्तै अनुभवहरूलाई प्रकाशमा ल्याउन अत्यधिक रक्तस्राव भएका व्यक्तिहरूको अनलाइन फोरम पोस्टहरू छानबिन गरिन्। उनले देखेका कुराहरू रिस उठ्दोदेखि लिएर पीडादायी रूपमा हास्यास्पदसम्म थिए। डाक्टरले उनीहरूको समस्याको गम्भीरता पहिचान गर्नुअघि नै कतिपय व्यक्तिहरूलाई धेरै पटक रगत चढाउनुपरेको कुरा थुप्रै पोस्टहरूमा वर्णन गरिएको थियो।

अन्य पोस्टहरूमा यस्ता जीवन्त वर्णनहरू थिए, जस्तै: ‘हो, यदि कसैले मेरो बाथरुममा लुमिनोल (अपराधस्थलमा रगत पत्ता लगाउन फरेन्सिकमा प्रयोग हुने रसायन) प्रयोग गर्‍यो भने, म पक्कै जेल जानेछु किनकि उनीहरूले दर्जनौं हत्याका सिकारहरू खोज्न मेरो आँगन खन्नेछन्।’ 

अत्यधिक रक्तस्रावकै कारण स्कुल वा काम छोड्नुपरेको, वा स्वस्थ यौन जीवन नभएको बारेमा पनि पोस्टहरू थिए। केही पोस्टहरूमा मानसिक स्वास्थ्य समस्याहरूको उल्लेख गरिएको थियो भने योङका अनुसार अन्य केही पोस्टहरू हृदयविदारक थिए। जसमा महिनावारी यति गम्भीर र जीवन नै परिवर्तन गर्ने खालको भएकाले आत्महत्याको सोच आएको उल्लेख थियो।

ट्रान्सजेन्डर पुरुष वा नन-बाइनरी व्यक्तिहरूका लागि महिनावारी आफैंमा निकै पीडादायी हुन सक्छ, त्यसमाथि अत्यधिक रक्तस्रावले त झन् ‘घाउमा नुनचुक’ छर्कने काम गर्छ। क्यालिफोर्निया विश्वविद्यालय सान डिएगो रेडी चिल्ड्रेन्स अस्पतालकी बाल रक्त रोग विशेषज्ञ जुली जाफ्रे भन्छिन्, ‘हामीले धेरै ट्रान्सजेन्डर बिरामीहरू देख्छौं जसले आफूलाई पुरुषको रूपमा चिनाउँछन्, तैपनि उनीहरूमा अत्यधिक रक्तस्रावको समस्या हुन्छ। जुन उनीहरूका लागि आफैंमा एउटा थप डरलाग्दो अनुभव हो।’

अन्ततः व्यक्तिहरूको व्यक्तिगत जीवनमा पर्ने अत्यधिक रक्तस्रावको समग्र प्रभावले शिक्षा र काममा समेत बाधा पुर्‍याउँछ र यसको असर समाजभरि फैलिन्छ। एल्सटनका अनुसार महिनावारी हुँदा उनी प्रायजसो स्कुल छुट्थिन्। आमाले स्कुल जानैपर्छ भनेर जिद्दी गरे पनि उनी नर्सको कोठामा सुतेर बस्थिन्।

बेलायतमा अत्यधिक रक्तस्राव हुने किशोरीहरूले औसतमा वर्षको नौ दिनसम्म स्कुल छुटाउँछन्। श्रीलङ्का जस्ता कम र मध्यम आय भएका देशहरूमा यो सङ्ख्या अझ बढी हुन सक्ने सेनानायकेको अनुमान छ। विपन्न क्षेत्रका छात्राहरू महिनावारीका उत्पादनहरू फेर्ने वा फाल्ने सुविधा नभएका विद्यालयहरूमा जान बाध्य हुन सक्छन्।

Very-Heavy-Menstrual-Flow_Resources_CeMCOR

वयस्क अवस्थामा यसको अर्थ काम गर्ने दिन र अवसरहरू गुमाउनु हो। न्युयोर्क सहरकी टेलिहेल्थ थेरापिस्ट एल्सटनले पछिल्लो पटक कठिन महिनावारीको समयमा आफ्नो सेसन छोट्याउनुपर्दा एउटा सेवाग्राही गुमाउनु पर्यो। ‘दुखाइ यति कडा थियो, म उहाँको कुरा सुन्नै नसक्ने अवस्थामा थिएँ,’ एल्सटन भन्छिन्, ‘मैले सीधै उहाँलाई भनें, म यो सेसन पूरा गर्न सक्दिनँ।’ फोन काटेर कुर्सीबाट उठ्दा उनले आफ्नो मुनि रगतको आहाल नै देखिन्।

मेबिन भन्छिन्, ‘अत्यधिक रक्तस्राव हुने महिलाहरू वर्षमा (औसतमा) ३.६ हप्ता काममा जान सक्दैनन्। यसले अर्थतन्त्रलाई अर्बौंको घाटा लगाइरहेको छ। यदि हामीले महिलाहरूका लागि यो समस्या समाधान गर्न सक्यौं भने... हामी वास्तवमै समाजका सबैका लागि सही काम गर्नेछौं।’

  • उपचार र परीक्षणहरू

यसलाई सही बाटोमा ल्याउन अझै धेरै काम गर्न बाँकी छ। युनिभर्सिटी अफ मिसिगन मेडिकल स्कुलकी प्रसूति तथा स्त्रीरोग विभागकी प्रोफेसर एरिका मार्स अत्यधिक रक्तस्रावका लागि उपचारहरू उपलब्ध भए पनि त्यो पर्याप्त नभएको बताउँछिन्। उनी भन्छिन्, ‘हामीसँग डरलाग्दो गरी थोरै मात्र उपचारका विकल्पहरू छन्।’

अत्यधिक रक्तस्रावको उपचार त्यसको भित्री कारणमा निर्भर हुन्छ। यदि रक्तस्राव धेरै गम्भीर छैन भने आइबुप्रोफेन जस्ता नन-स्टेरोइडल एन्टी-इन्फ्लामेटरी औषधिहरूले बहावलाई कम गर्न सक्छन्। गर्भनिरोधक चक्की वा हर्मोनल इन्ट्रा-युटेरिन डिभाइस (आईयूडी) जस्ता हार्मोनल उपचारहरू पनि छन्, जुन महिनावारीको समयमा रक्तस्राव कम गर्ने सबैभन्दा प्रभावकारी उपचारमध्ये पर्छन्।

यी विधिहरू निकै पहुँचयोग्य भए तापनि यसको प्रयोगमा केही बाधाहरू छन्। जस्तै: इन्ट्रा-युटेरिन डिभाइस राख्दा दुखाइ हुन सक्छ। गर्भनिरोधक चक्कीले एल्सटनलाई काम गर्‍यो, तर उनको परिवारमा चक्कीलाई लिएर रहेको नकारात्मक सोचका कारण उनले उमेर नपुग्दासम्म कुर्नुपर्यो। कलेज पढ्न गएपछि मात्र उनले डाक्टरको पुर्जी पाइन्।

हार्मोनल उपचारले सबैलाई काम नगर्ने र स्तन दुख्ने तथा मुड परिवर्तन हुने जस्ता साइड इफेक्टका कारण मानिसहरूले प्रायः यसको प्रयोग छाड्ने गरेको मेबिन बताउँछिन्। मानिसहरूले ट्रान्जेक्सामिक एसिड जस्ता नन-हार्मोनल औषधिहरू पनि प्रयोग गर्न सक्छन् जसले रक्तस्राव रोक्न मद्दत गर्छ। जाफ्रे भन्छिन्, ‘समस्या के हो भने तिनीहरू ब्यान्ड-एड (ह्यान्डीप्लास्ट) जस्तै हुन् र तिनले मुख्य कारणको समाधान गर्दैनन्।’

औषधिले सधैं समस्या समाधान गर्न सक्दैन। ३० को दशकको मध्यतिर एल्सटनले केही समयको लागि गर्भनिरोधक चक्की छाडेकी थिइन्। त्यसपछि उनको महिनावारी झनै तीव्र रूपमा फर्कियो, साथै मुडमा पनि भारी परिवर्तन आउन थाल्यो। 

अन्ततः उनले स्त्रीरोग विशेषज्ञलाई भेटिन् जसले भिडियो एक्सरे (अल्ट्रासाउन्ड) गरेर केही सम्भावित कारणहरू पत्ता लगाइन्। एल्सटन सम्झिन्छिन्, ‘डाक्टरले भन्नुभयो, गर्भनिरोधक चक्कीलाई छोडिदिनुस्। तपाईंको गर्भाशयमा सात-आठवटा ठूला फाइब्रोइडहरू छन् र तपाईंलाई एन्ड्रोमेट्रियोसिस पनि भएको हुन सक्छ।’ एन्ड्रोमेट्रियोसिस एउटा यस्तो पीडादायी अवस्था हो जसमा गर्भाशयको भित्री तहमा हुने एन्ड्रोमेट्रियल तन्तु गर्भाशयबाहिर बढ्न थाल्छ।

फलस्वरूप, उनले पाठेघर फाल्ने शल्यक्रिया (हिस्टेरेक्टोमी) रोजिन् र आफ्नो गर्भाशय पूर्ण रूपमा हटाइन्। वास्तवमा, अत्यधिक रक्तस्राव पाठेघर फालिनुको सबैभन्दा सामान्य कारणमध्ये एक हो। उनी आफ्नो यो छनोटमा खुसी छिन् र अत्यधिक रक्तस्रावको उनको कथा एउटा समाधानका साथ टुंगिन्छ।

तर, पक्कै पनि पाठेघर फाल्नु भनेको ठूलो शल्यक्रिया हो, यो स्थायी हुन्छ र यसले गर्भधारणलाई असम्भव बनाउँछ। स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीको स्वास्थ्यभन्दा प्रजनन क्षमतालाई प्राथमिकता दिँदा यो विशेष गरी समस्याग्रस्त बन्छ। 

योङको अनुसन्धानमा सहभागी एक महिलाका तीन सन्तान थिए र उनका श्रीमानले भ्यासेक्टोमी (स्थायी बन्ध्याकरण) गरिसकेका थिए। तर ती महिलाले सम्बन्धविच्छेद गरेर सन्तान चाहने अर्को पुरुषसँग विवाह गर्न सक्ने सम्भावनालाई देखाउँदै उनका डाक्टरले अत्यधिक रक्तस्रावको उपचारका लागि पाठेघर फाल्न अस्वीकार गरेको योङ बताउँछिन्।

mensuration (3)

आफ्ना बिरामीहरूको उपचार पद्धतिलाई लिएर उत्पन्न निराशा र असहजताले मेबिनलाई ‘द मिस्ड भाइटल साइन’ को नेतृत्व गर्न प्रेरित गर्‍यो। यो स्वास्थ्य परोपकारी संस्था ‘वेलकम लिप’ द्वारा अनुदान प्राप्त विश्वव्यापी अनुसन्धान कार्यक्रम हो। महिनावारीमा आउने परिवर्तनहरू अन्य स्वास्थ्य समस्याहरूको पहिलो संकेत हुन सक्छन् भन्ने मान्यतालाई यो कार्यक्रमको नामले झल्काउँछ। जसले गर्दा यो रक्तचाप, शरीरको तापक्रम वा मुटुको धड्कन जस्तै महत्त्वपूर्ण संकेत बन्न पुग्छ।

आगामी तीन वर्षमा, १३ जना अनुसन्धानकर्ताहरूको टोलीले विश्वभर अत्यधिक रक्तस्रावको पहिचान र उपचारमा हुने औसत पाँच वर्षको ढिलाइलाई घटाएर पाँच महिनामा झार्न काम गर्नेछ।

त्यस लक्ष्यतर्फको एक कदमको रूपमा मेबिन अत्यधिक रक्तस्राव पछाडिको संयन्त्र र यसको कारणहरू खोतल्न चाहन्छिन्। अर्को मुख्य ध्यान यो अवस्थाको पहिचानमा सुधार ल्याउनु हो। केही परियोजनाहरूले महिनावारीको तरल पदार्थमा बायोमार्करहरू (अत्यधिक रक्तस्रावको रासायनिक संकेत) खोज्ने, महिनावारीका उत्पादनहरू प्रयोग गरेर रक्तस्राव अनुगमन गर्न स्मार्ट सेन्सरहरू बनाउने, वा आइरन कम हुने जोखिमको मूल्याङ्कन गर्न स्मार्टफोन र पहिरनयोग्य उपकरणहरूको डाटा प्रयोग गर्ने उपकरण निर्माण गर्नेछन्।

जिनोमको द्रुत विश्लेषण जस्ता नयाँ र उदाउँदो अनुसन्धान प्रविधिहरूका कारण प्राविधिक रूपमा यो परियोजनाका लागि सही समय भएको मेबिनको बुझाइ छ। उनी भन्छिन्, ‘यसअघि महिलाको स्वास्थ्य सुधार गर्न यी प्रविधिहरूको प्रयोग गरिएको थिएन। मलाई लाग्छ अब हामीले यो गर्ने बेला आएको छ।’

त्यसैगरी, यो अवस्थासँग जुध्न रक्त विशेषज्ञहरूले स्त्रीरोग विशेषज्ञहरूसँग मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै जाफ्रेले अत्यधिक रक्तस्रावको क्षेत्रमा रक्त रोग विशेषज्ञहरूलाई ल्याउन काम गरेकी छिन्। उदाहरणका लागि, ‘द फाउन्डेसन फर वुमन एन्ड गर्ल्स विथ ब्लड डिसअर्डर्स’ ले अमेरिकाका हेमोफिलिया उपचार केन्द्रहरूलाई महिला तथा बालिकाहरूको हेरचाहमा सुधार र विस्तार गर्न मद्दत गरिरहेको छ।

तर यस प्रगतिको एउटा महत्त्वपूर्ण पाटो भनेको अत्यधिक रक्तस्राव भएका व्यक्तिहरूले वास्तवमै नयाँ पहिचान विधि र उपचारहरू प्रयोग गर्न सक्छन् भन्ने सुनिश्चित गर्नु हो। त्यसैकारण मार्स आफ्नो स्थानीय समुदायका अश्वेत र हिस्पानिक महिलाहरूसँग मिलेर काम गरिरहेकी छिन्, जो अमेरिकामा श्वेत महिलाहरूको तुलनामा रक्तअल्पताको उच्च जोखिममा छन्। विश्वासिला समुदायका सदस्यहरूसँग मिलेर काम गर्दा आफ्नो पछिल्लो अध्ययनले मानिसहरूलाई आवश्यक हेरचाहसँग जोड्ने र यी अवस्थाहरूको बारेमा सामान्य ज्ञान बढाउने तरिकाहरू पत्ता लगाउने उनको आशा छ।

महिला र महिनावारी हुने सबै व्यक्तिहरूलाई आइरनको कमीले हुने ‘ब्रेन फग’ बिना र काम तथा स्कुल नछुटाई आफ्नो पूर्ण क्षमतामा बाँच्न मद्दत गर्नका लागि अनुसन्धान र चिकित्सामा अत्यधिक रक्तस्रावलाई प्राथमिकता दिनु अत्यावश्यक भएको अनुसन्धानकर्ताहरूले बढ्दो रूपमा महसुस गरिरहेका छन्। एल्सटन भन्छिन्, ‘हामीले महिलाहरूलाई अझ गम्भीरतापूर्वक लिन आवश्यक छ। हामीलाई उचित हेरचाहको खाँचो छ ताकि हामी यो संसारमा बाँच्न पाउने हाम्रो समान अधिकारको प्रयोग गर्न सकौँ।’

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्याकलिन रोचिल्यू
ज्याकलिन रोचिल्यू
लेखकबाट थप