सोमबार, ११ साउन २०८३
ताजा लोकप्रिय

उल्टो बाटो जति हिँडे पनि अगाडि पुगिँदैन

सोमबार, ११ साउन २०८३, १७ : ३४
सोमबार, ११ साउन २०८३

सारांश

  • दुई ठूला कम्युनिस्ट पार्टीहरूबीचको कार्यगत एकता र पार्टी एकताको प्रयासले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला भन्ने प्रश्न उठेको छ ।
  • कम्युनिस्ट पार्टीहरूले सत्तामा सहभागितासँगै वर्गउत्थान, परिवारवाद, नेतृत्वको मालिक मानसिकता र जनताका मुद्दामा उदासीनता जस्ता कारणले जनविश्वास गुमाएका छन् ।
  • जनविश्वास पुनः प्राप्त गर्नका लागि पार्टी नेतृत्वले जनतासमक्ष माफी माग्नुपर्ने, पहिलो पुस्ताले नेतृत्व छाडेर तेस्रो पुस्तालाई अवसर दिनुपर्ने र जनजीविकाका कार्यक्रम कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ ।

प्रदेश सरकारहरू मिलेर बनाउने भनेर नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीले भागबन्डाको लिखित सहमति नै गरेका छन् । दुवै दलका नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सहकार्य आगामी निर्वाचन हुँदै पार्टी एकतासम्म पुग्ने ठानेका छन् ।

खासमा दुई ठूला कम्युनिस्ट पार्टीको यो सहकार्यले नेपाली राजनीतिमा कस्तो प्रभाव पार्ला त ? यो अहिलेको जल्दोबल्दो प्रश्न बनेको छ ।

बाहिरबाट सरसर्ती हेर्दा देशका दुई ठूला कम्युनिस्ट पार्टीको बिचमा कार्यगत एकता र पार्टी एकताको ध्याउन्न राम्रै देखिन्छ । त्यसले राम्रै परिणाम दिने अपेक्षा पनि गरिएला । तर आजको नेपाली समाजको वास्तविकता के हो त ? के यो एकताले देशको वर्तमान सामाजिक अन्तर्विरोधको समस्या समाधान गर्दछ त ? बिल्कुल गर्दैन ।

आजको राजनीतिक सङ्कटको मुख्य जिम्मेवार शक्ति कम्युनिस्ट पार्टीहरू भएको आरोप लाग्दै आएको छ । कम्युनिस्ट पार्टीहरू इमानदार र जिम्मेवार बन्न नसक्दा यी सबै समस्या अगाडि आएका हुन् । जेनजी विद्रोहपछि भएको निर्वाचनबाट अहिले नयाँ सरकार बनेको छ । निकै ठूलो जनधनको क्षतिपछि खडा भएको यो सरकारको विकल्प खोज्नुपूर्व यो अवस्थाको कारण पहिल्याउन जरुरी छ ।

नेपाली जनताले नेपालका राजनीतिक दलहरूलाई विश्वास नगरेका होइनन् । कम्युनिस्ट पार्टीहरूप्रति नेपाली जनताको निकै ठूलो आशा र भरोसा थियो । जनताले कम्युनिस्ट पार्टीका नेताहरूलाई पटकपटक सरकारको नेतृत्वमा पुर्‍याएकै हुन् । बहुमत मात्र होइन, झन्डै दुई तिहाइ जनमतसमेत दिएकै हुन् ।

त्यति ठूलो विश्वास र भरोसा एकाएक टुट्यो । तिनै जनता कम्युनिस्टको विरोधी बन्न पुगे र विकल्प खोज्न पुगे । किन यस्तो भयो ? यो प्रश्नको जवाफ नदिईकन जो जता, जतिवटा मिले पनि परिणाम राम्रो आउने सम्भावना छैन । बरु उनीहरूको यात्रा झन् ओरालो लाग्ने नै हो ।

के अहिले नेपाली जनताले रास्वपालाई झन्डै दुई तिहाइ मत दिएको प्रचण्ड र केपी ओली नमिलेर हो त ? जेनजी विद्रोहमा सडकमा निस्किएका नागरिक अरू देशका हुन् त ? यही देशकै नागरिक हुन्, जसले हिजो कांग्रेस, कम्युनिस्टलाई विजयी गराएर खुसी मनाएका थिए । होलान् अरू चलखेलहरू पनि, तर मुख्य विषय त आन्तरिक हो ।

नेपालमा गरिब, किसान, सुकुम्बासी, उत्पीडित जाति, क्षेत्र र लिङ्गले कम्युनिस्ट पार्टीमाथि अति ठूलो भरोसासहित विश्वास गरेका थिए । हरेक आन्दोलनमा जीउज्यानको माया मारेर लडेका थिए । तर त्यो भरोसा टुट्यो र तिनै नागरिक जेनजी विद्रोहमा सहभागी बने, रास्वपाका मतदाता बने । यसको गहिरो कारण पहिल्याउन सकियो भने मात्र एकता वा ध्रुवीकरणको अर्थ हुनेछ ।

समस्याको जरो खोजौँ र समाधान गर्नतर्फ लागौँ । कम्युनिस्ट आन्दोलन यति छिटो धराशायी भएर जनविश्वास गुम्दै जानुका निम्न कारणहरू नबिर्सौँ :

  • पहिलो : सत्तामा सहभागितासँगसँगै कम्युनिस्ट पार्टीका नेताहरूमा ठूलो वर्गउत्थान भयो । हिजो जनताका घर, झुपडीमा बस्ने नेता-कार्यकर्ताहरू एकाएक आलिसान महलका मालिक बन्न पुगे । उनीहरूको लवाइखवाइ, चालचलनलाई जनताले नजिकबाट नियालिरहेका थिए । लामो समय रूपान्तरणको आशा गरे । जब अब हुँदैन भन्ने निष्कर्षमा पुगे, अनि विद्रोहमा उत्रिए ।
  • दोस्रो : हिजो सँगै हिँडेका कार्यकर्ता, जनता, घाइते, सहिद परिवार, आश्रयस्थल सब भुलेर परिवारवादमा नेतृत्व लम्पट भएको जनताले देखिरहेका थिए । नेतृत्व र उनीहरूको परिवारको रहनसहन, उठबस, विलासी जीवनशैली जनताले मन पराएका थिएनन् ।
  • तेस्रो : नेतृत्व भनेको मालिक र अरू नागरिकहरू दास भन्ने मानसिकता बढ्दै गयो । एकपटक पदमा पुगेपछि आजीवन नेतृत्वमा रहने प्रवृत्ति विकास हुँदै गयो । उदाहरणका लागि २०४६ कात्तिकमा पार्टीको मुख्य नेतृत्वमा पुगेका र अहिलेको नेपाल कम्युनिस्ट पार्टीका संयोजक रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर नेतृत्वमा छन् । उनी अझै पनि विश्राम लिन र अरूलाई अवसर दिन चाहँदैनन् । जबकि प्रचण्ड नेतृत्वमा पुगेको एक वर्ष पछाडि जन्मिएका बालेन्द्र शाह यो देशको कार्यकारी प्रमुख बनेका छन् । यति लाजमर्दो अवस्था भएपछि युवा पुस्ताले कति सहन सक्छ र ? अर्को उदाहरण हो एमाले । दुई कार्यकालको विधान संशोधन र ७० वर्षे उमेरहद हटाएर आजीवन नेतृत्वमा बस्ने ओली अनुकूलको व्यवस्था बनाइएपछि एमालेमा पनि युवा पुस्ता रुष्ट बन्न पुगे । दुवै पार्टीमा युवा, नवयुवाको उत्पादन र वृद्धिमा करिबकरिब बन्ध्याकरण भयो । उनीहरू आफ्नै नेतृत्वप्रति असन्तुष्ट र विद्रोही बन्दै गए ।
  • चौथो : जनताका मुद्दामा नेतृत्व पूरै उदासीन देखिँदै गए । हिजोका प्रतिबद्धताविपरीत यात्रा गर्न थाले । अपारदर्शी जीवनशैलीसँगै अस्वाभाविक काण्डमा नेतृत्वको नाम जोडिन थाल्यो । पार्टीभित्र फरक मत र विचारको हत्या हुँदै जान थाल्यो । नेतृत्व नोकरशाही जस्तै बन्न थालेपछि आन्तरिक रूपमा पनि आक्रोश र असन्तुष्टि बढ्दै गयो ।

यस्तो अवस्थामा आमूल सुधारबिना कुनै भागबन्डा, सहकार्य र एकताले केही हुनेवाला छैन । स्थितिलाई सम्हालेर समाजवादी विचारको रक्षा र विकास गर्ने हो भने निम्न कुराहरूमा ध्यान दिनैपर्दछ :

  • पहिलो : जनताका नाममा अपिल गरी सार्वजनिक माफी माग्नुपर्छ । विगतका गल्ती नदोहोर्‍याउने प्रतिबद्धतासहित प्रायश्चित्त गर्नुपर्छ । 
  • दोस्रो : पहिलो पुस्ताले पार्टीको नेतृत्व छाडेको घोषणासहित मौजुदा पार्टी संरचना विघटन गर्नुपर्दछ । अनि तेस्रो पुस्ता बढी, दोस्रो पुस्ता थोरै मिसाएर समग्र वाम आन्दोलनलाई पुनर्गठन गर्नुपर्दछ ।
  • तेस्रो : सुदूर भविष्यका काल्पनिक कथा होइन, जनजीवनसँग जोडिएका शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, जनजीविका जस्ता महत्त्वपूर्ण कार्यक्रमको सूची तयार गरी त्यसको पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।

नेतृत्व हस्तान्तरणसहित युवाको नेतृत्वमा बृहत् वाम, प्रगतिशील र समाजवादी ध्रुवीकरणमा जाने हो भने मात्र गिरेको साख नयाँ शिराबाट उठ्न सक्दछ । नत्र, यथास्थितिमा गरिने एकता, ध्रुवीकरण वा गठबन्धन जति गरे पनि कुनै अर्थ हुनेछैन । त्यसकारण अहिले नेकपा र एमाले गठबन्धन वा एकता उल्टो बाटोको यात्रा हो । उल्टो बाटो जति हिँडे पनि अगाडि पुगिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

यज्ञ पोखरेल
यज्ञ पोखरेल
लेखकबाट थप