‘सेवा पुरस्कार’ मुटु रोग विशेषज्ञ डा.कोइरालालाई
काठमाडौँ । यस वर्षको ‘सेवा पुरस्कार नेपाल’ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालालाई प्रदान गरिएको छ । कर्मयोगी बद्रीविक्रम थापा स्मृति सेवा गुठीले आज यहाँ आयोजना गरेको कार्यक्रममा मुटु रोगको उपचार र बाल चिकित्सा क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै रु दुई लाख २२ हजार २२२ राशि नगदसहित सम्मानपत्रले उनलाई सम्मानित गरिएको हो ।
यसैगरी यस वर्षको ‘बद्रीविक्रम राष्ट्र गौरव पुरस्कार नेपाल’ भरतपुर महानगरपालिका-१ देवघाट चितवनमा रहेको गार्गी कन्या गुरुकूललाई प्रदान गरिएको छ । सबै जातका बालिकालाई संस्कृत शिक्षा दिने गुरुकूललाई उक्त पुरस्कार दिइएको हो ।
यो पुरस्कारको राशि रु दुई लाख २२ हजार २२२ सहित सम्मानपत्र रहेको छ । पुरस्कार गार्गी कन्या गुरुकूल प्रतिष्ठानका प्रमुख संरक्षक एवं अध्यक्ष भगवती उपाध्यायले ग्रहण गरिन् ।
कार्यक्रममा ८० वर्षको उमेरमा तरकारी पसल सञ्चालन गर्ने पाटनकी मनमाया लामालाई नगद रु २५ हजार राशिसहित सम्मानपत्रसहित श्रम सम्मान प्रदान गरिएको छ । आठ दशक जीवन पार गरिसकेका ललितपुरका श्यामलाल महर्जनले अहिले पनि घर घर पुगेर शुद्ध तोरीको तेल बेच्नुभएको भन्दै नगद रु २५ हजार नगद र सम्मानपत्रसहित श्रम सम्मान गरिएको छ ।
थापा स्मृति सेवा गुठीले यसवर्षको आर्थिक सहयोग नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषलाई रु २५ हजार प्रदान गरेको छ । कोषका पवन आलोकले सो सहयोग ग्रहण गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै स्वामी आत्मानन्द गिरिजी महाराजले धर्म, संस्कृति, संस्कार र सेवालाई मुख्य आधार बनाएर काम गर्ने व्यक्ति, व्यक्तित्व र संस्थालाई सम्मान गर्नु सकारात्मक कदम भइरहेको भन्दै खुसी व्यक्त गरे । आफूले सन्यास धारण गरेर पनि जीवनमा धर्म, संस्कृति, संस्कार र सेवाको निरन्तर गरिरहेको उनले बताए ।
गुठीका अध्यक्षसमेत रहेका काठमाडौँ विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा सुरेशराज शर्माले बद्रीविक्रम थापाले शिक्षा र संस्कृतिका क्षेत्रमा गरेकाे योगदान अविस्मरणीय रहेको बताए । गुठीका सचिव डा.चिन्तामणि योगीले धर्म, संस्कृति, संस्कार र सेवालाई मूल आधार बनाएर काम गर्ने जनशक्ति निर्माण र सम्मानमा काम गरिनुपर्नेमा जोड दिए ।
गार्गी कन्या गुरुकूलमा कक्षा ११ मा अध्ययनरत छात्रा नवीना भट्टराईले संस्कृत ज्ञान र विज्ञानको भाषा भएकाले सबैलाई यसको आवश्यकता पर्ने बताइन् । गार्गी कन्या गुरुकूल प्रतिष्ठानका उपाध्यक्ष डा.मन काफ्लेले गुरुकूलमा कक्षा ६ देखि कक्षा १२ सम्म ८५ जना बालिकाले संस्कृत शिक्षा अध्ययन गरिरहेका जानकारी दिए ।
पुरस्कृत व्यक्तित्व डा.कोइरालाले कोशी र बागमती प्रदेशमा बाल अस्पताल स्थापना भइसकेको जानकारी गराउँदै अब कर्णाली प्रदेशमा स्थापना गर्न लागिएको जानकारी दिए । बालबालिकाको सबै किसिमका रोगको उपचार गर्ने उद्देश्यले खोलिएका यस किसिमको बाल अस्पताल देशका सात वटै प्रदेशमा विस्तार गरिने उनले प्रतिबद्धता जनाए ।
गुठीका कोषाध्यक्ष एवं बद्रीविक्रम थापाका छोरा किरण थापाले २०५३ साल कात्तिक १ गते स्थापना भएको संस्थाले प्रत्येक वर्ष ‘सेवा नेपाल’ नामक विशेषाङ्क प्रकाशन गर्दै आएको जानकारी दिए । यसवर्ष वरिष्ठ पत्रकार भैरव रिसाल विशेषाङ्क प्रकाशन गरिएको भन्दै उनले यो २५औँ अङ्क रहेको बताए ।
आफ्ना बुबाले जीवनमा राष्ट्र सेवा गरी बसेकाे बताउँदै किरणले नेपालका १२ स्थानमा केही विशेष कार्य गर्ने लक्ष्यका साथ गुठी अघि बढेको जानकारी दिए । यसका लागि सरोकार भएका निकायको सहयोग आवश्यक पर्ने उनको भनाइ छ ।
गुठीका सदस्य श्रीओम श्रेष्ठले अञ्चलाधीश हुँदा आफ्नै ससुरालाई पनि समात्ने न्यायप्रेमी प्रशासकका रूपमा बद्रीविक्रम थापा स्थापित भएकाे जानकारी गराए । उनले अञ्चलाधीश हुँदा विभिन्न स्रोतबाट आएको रकम आफ्नो हातले नछोएर सेवामा लगाउने व्यक्तित्व उनी भएको बताए ।
बद्रीविक्रम थापाको १०४औँ जन्मजयन्तीका अवसरमा आज यहाँ कार्यक्रम आयोजना गरी विभिन्न विधाका व्यक्तित्व र संस्थालाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण