मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
अर्थ

दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्दै धितोपत्र बोर्ड

मङ्गलबार, १२ साउन २०८३, १४ : ०३
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • नेपाल धितोपत्र बोर्डले संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) प्रदान गर्ने व्यवस्था हटाउने भएको छ ।
  • बोर्डका नयाँ अध्यक्ष गोपाल भट्टले दोहोरो आईजीनको अवधारणा अन्तर्राष्ट्रिय अभ्यासमा नरहेको भन्दै यसलाई अगाडि नबढाउने सङ्केत गरेका छन् ।
  • सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले एक वर्षअघि ल्याएको यो निर्देशिका बोर्डमा थन्किएको थियो ।

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड दोहोरो आईजीनको व्यवस्थाबाट पछि हट्ने भएको छ । करिब एक वर्ष अघि नेपालको पुँजी बजारलाई व्यवस्थित बनाउन भन्दै सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिका ल्याएको थियो ।

उक्त निर्देशिकामा सीडीएससीले संस्थापक (प्रमोटर) र साधारण सेयरलाई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) प्रदान गर्ने व्यवस्था गरेको छ । तर उक्त कार्यविधि एक वर्षसम्म बोर्डमा थन्कियो ।

तत्कालीन बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले उक्त कार्यविधिलाई अघि बढाएनन् । तर अहिले बोर्डमा नयाँ अध्यक्ष गोपाल भट्टले जिम्मेवारी सम्हालेका छन् । अध्यक्ष भट्टले विगतमा थन्किएर र अड्किएर बसेका सबै फाइल अध्ययन गरेर अघि बढाउने तयारी गरेका छन् ।

तर, धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ नयाँ निर्देशिकामा गरिएको संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै आईजीन दिने व्यवस्था हटाउने सङ्केत गरेका छन् ।

बोर्डका अध्यक्ष भट्टले केही दिनअघि पत्रकारहरूसँगको भेटमा यस्तो सङ्केत गरेका हुन् । उनले सीडीएससीले एक वर्षअघि पठाएको डबल आईजीन सम्बन्धी कार्यविधि अगाडि नबढाउने स्पष्ट सङ्केत गरे ।

अध्यक्ष भट्टका अनुसार डबल आईजीन नम्बर धितोपत्रको अन्तर्राष्ट्रिय पासपोर्ट जस्तै भएकाले यसमा मनलाग्दी गर्न नमिल्ने बताए । उनले डबल आईजीनको अवधारणा अन्तर्राष्ट्रिय अभ्यासमा नरहेको बताए । उनले अन्तर्राष्ट्रिय संस्था अन्नाको गाइडलाइनको आधारमा कार्यविधि बनेकाले कार्यान्वयन गर्न अनिवार्य नभएको उल्लेख गरे ।

अध्यक्ष भट्टले भने,‘ डबल आईजीन नम्बर हाम्रो आन्तरिक उत्पादन होइन, यो अन्तर्राष्ट्रिय प्रोडक्ट हो । अन्नाको जे स्ट्यान्डर्ड अपरेटिङ गाइडलाइन छ, हामी त्यसैअनुसार चल्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यासमा डबल आईजीनको अवधारणा छैन ।अन्तर्राष्ट्रिय अभ्यासभन्दा बाहिर गएर डबल आईजीन लागू गर्ने पक्षमा बोर्ड छैन ।’

उनले थप स्पष्ट पार्दै भन्ने, ‘जसरी पासपोर्टको नियम विश्वभर एउटै हुन्छ, त्यसैगरी आईजीनको नियम पनि विश्वव्यापी हुन्छ । यदि हामीले अन्तर्राष्ट्रिय मापदण्ड मिचेर अघि बढ्न सकिँदैन । अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै अघि बढ्ने हो ।’

यससँगै सीडीएससीले लामो समयदेखि प्रस्ताव गर्दै आएको डबल आईजीनको कार्यविधि बोर्डबाट स्वीकृत नहुने निश्चित देखिएको छ ।

सीडीएससीले पठाएको कार्यविधिका सम्बन्धमा टिप्पणी गर्दै उनले प्रश्न गरे,‘अहिलेसम्म कार्यविधिबिना कसरी काम भइरहेको थियो? अहिले कार्यविधि किन चाहियो ?

आईजीन नम्बर नेपाल स्टक एक्सचेन्ज (नेप्से) को समन्वयमा सीडीएससीले जारी गर्ने गर्छ । सीडीएससीले आईजीन नम्बर जारी गरेपछि मात्रै कुनै पनि कम्पनीले जारी गरेको सेयर सेयरधनीको खातामा आउँछ । आईपीओ मार्फत परेको सेयर लगानीकर्ताको डिम्याट खातामा आउन आईजीन नम्बर आवश्यक पर्छ ।

सीडीएससीले एक वर्षअघि गत वर्ष साउन ११ गते बोर्ड बैठकले निर्देशिका पारित गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो ।

तर सीडीएससीले बोर्डमा पठाएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ले अहिलेसम्म स्वीकृत हुन सकेको छैन । सीडीएससीको बोर्ड बैठकबाट सर्वसम्मत पारित भई धितोपत्र बोर्डमा पुगेको उक्त निर्देशिका बोर्डमै अध्ययन भइरहेको भन्दै थन्काएर राखिएको थियो ।

लामो समय छलफल र धितोपत्र बोर्डको निर्देशनअनुसार सीडीएससीले सेयर अभौतिकीकरण गर्दा प्रदान गर्ने इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आईजीन) सम्बन्धमा कार्यविधि बनाएर स्वीकृतिका लागि बोर्डमा पठाएको थियो ।

निर्देशिकामा यस्तो छ सीडीएससीको प्रस्ताव

नयाँ निर्देशिकाले पुँजी बजारमा हुने अपारदर्शी अभ्यासलाई पूर्णरूपमा रोक्ने सीडीएससीले विश्वास लिएको छ ।

अब कुनै पनि कम्पनीले प्रमोटर सेयरलाई सर्वसाधारण सेयरमा बदल्न चाहेमा साधारणसभाबाट निर्णय गराई सार्वजनिक सूचना प्रकाशनपछि मात्रै सीडीएससीलाई आग्रह गर्नुपर्ने व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार कुनै संगठित संस्थाको अनुरोधमा सीडीएससीले आवश्यकता अनुसार आईजीन मिश्रण (मर्जर) गर्न सक्नेछ । यसका लागि सम्बन्धित संस्थाले देहाय बमोजिमका कागजात तथा प्रमाण सहित निवेदन दिनुपर्नेछ ।

निर्देशिकामा एउटै अन्तर्राष्ट्रिय परिचयपत्र नम्बर (आईजीन नम्बर) लिएका कम्पनीहरूलाई अब फरक–फरक आईजीन दिने व्यवस्था प्रस्ताव गरिएको छ । यसअघि संस्थापक र साधारण सेयर मिसाएर एउटै आईजीन लिएका कम्पनीहरूले पनि निर्देशिका लागू भएपछि दुई वटा आईजीन पाउने व्यवस्था छ ।

निर्देशिकाको दफा ७ (२) मा भनिएको छ, ‘यस निर्देशिका लागु हुनु पूर्व संस्थापक र सर्वसाधारण समूहको धितोपत्रको लागि एउटै आईजीन दिई लकइन अवधिमा रहेका धितोपत्र समेतलाई निर्देशिका लागु भए पश्चात् फरक–फरक आईजीन प्रदान गरिने छ ।’

साथै, कुनै धितोपत्रलाई फरक आईजीन दिइएको भए पनि आवश्यक नपर्ने देखिएमा सीडीएससीले मर्जर गर्न सक्ने व्यवस्था पनि छ ।

सीडीएससीले धितोपत्रको लागि प्रदान गरिने अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) लाई गाभ्न (मर्जर गर्न) र छुट्ट्याउन सकिने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

सीडीएससीको यो नयाँ व्यवस्थाले धितोपत्र बजारको अभौतिक कारोबारलाई थप व्यवस्थित, पारदर्शी र अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाउन मद्दत पुग्ने विश्वास लिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप