मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग

मङ्गलबार, १२ साउन २०८३, १९ : ३२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुनसरीको देवानगञ्ज घटनामा राज्य पक्षबाट भएको गोली प्रहारमा स्थानीय युवाको मृत्युप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
  • प्रलोपाले देवानगञ्ज घटनाको उच्चस्तरीय, निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ।
  • पार्टीले राज्यले बल प्रयोगको नीति त्यागेर संवाद र सहमतिबाट समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गर्दै सुनसरीवासीलाई सद्भाव कायम राख्न अपिल गरेको छ।

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा उत्पन्न तनावका क्रममा राज्य पक्षबाट भएको गोली प्रहारमा स्थानीय युवा ओमप्रकाश मेहताको मृत्यु तथा अन्य नागरिक घाइते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङद्वारा मंगलबार जारी प्रेस वक्तव्यमा सरकारको पहिलो दायित्व शान्ति, सुरक्षा र नागरिकको जिउधनको रक्षा गर्नु भए पनि देवानगञ्ज घटनाले सरकारको संवेदनशीलता, प्रशासनिक क्षमता र जिम्मेवारीमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। 

विवादलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्ने अवस्थामा बल प्रयोग किन गरियो र एक नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने पार्टीको माग छ।

प्रलोपाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, घाइते सबै नागरिकको निःशुल्क, प्रभावकारी र गुणस्तरीय उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।

पार्टीले वर्तमान सरकारले आफ्ना असफलता ढाकछोप गर्न लोकतान्त्रिक प्रक्रिया, संवैधानिक संस्थाहरू र नागरिक अधिकारमाथि हस्तक्षेप गर्ने तथा नागरिकमाथि दमन गर्ने कार्य तत्काल रोक्नुपर्ने पनि जनाएको छ। लोकतन्त्रमा जनताको आवाजलाई दमनबाट होइन, संवाद र सहमतिबाट सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ।

प्रेस वक्तव्यमा घटनाको उच्चस्तरीय, निष्पक्ष र पारदर्शी छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न, दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याई कडा कारबाही गर्न तथा पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। साथै, राज्यले बल प्रयोगको नीति त्यागेर संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्नुपर्ने धारणा पार्टीले व्यक्त गरेको छ।

प्रलोपाले यस संवेदनशील अवस्थामा सम्पूर्ण सुनसरीवासी तथा नेपाली नागरिकलाई अफवाह, उक्साहट र सामाजिक तथा धार्मिक सद्भाव बिथोल्ने गतिविधिबाट टाढा रहँदै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गरेको छ।

bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप