मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामी मारमा

मङ्गलबार, १२ साउन २०८३, २१ : १२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • भक्तपुर क्यान्सर अस्पतालको रेडियोथेरापी उपकरण १० दिनदेखि बिग्रिँदा क्यान्सरका बिरामीहरूले उपचारमा सास्ती पाएका छन् ।
  • बिरामीका आफन्तले रेडियोथेरापी गर्ने पालो आएकै बेला मेसिन बिग्रिँदा निकै दुःख भएको र बाहिर उपचार गर्न जाँदा ठूलो रकम खर्च भएको बताएका छन् ।
  • अस्पतालले भन्सारमा सामान आइसकेकाले छिट्टै मर्मत गरी सेवा पुनः सुरु गरिने जनाएको छ ।

काठमाडौँ । भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरका बिरामीका लागि अपरिहार्य मानिने रेडियोथेरापी उपकरण बिग्रिँदा बिरामीहरू मारमा परेका छन् । क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी उपकरण १० दिनदेखि बिग्रिँदा बिरामीहरूले सास्ती व्यहोर्नुपरेको हो । 

बिरामीका आफन्त गणेशराज उपाध्यायले रेडियोथेरापी गर्ने पालो आएकै बेला मेसिन बिग्रिँदा बिरामीलाई निकै दुःख भएको बताए । उपाध्यायले भने, ‘भाइलाई ब्रेन ट्युमर भएपछि वीर अस्पतालमा अप्रेसन गऱ्यौँ । पछि क्यान्सर देखियो । यसको एकमात्र विकल्प रेडियोथेरापी हो । बाहिर उपचार गर्न जानका लागि ५० हजार रुपैयाँ तिरिसकेका छौँ ।’ उनले बिहीबार नै उपकरणका लागि आवश्यक सामग्री आइपुग्ने भनिए पनि अहिलेसम्म नआएको बताए । बिरामीहरूले यथाशीघ्र मेसिन मर्मत गरी सहज रूपमा सेवा उपलब्ध गराउन माग गरेका छन् । 

अस्पतालले भने केही दिनभित्रै रेडियोथेरापी मेसिन सञ्चालनमा आउने बताएको छ । अस्पतालकी सूचना अधिकारी राजमती गोसाइँले भन्सारसम्म सामान आइसकेकाले छिट्टै अस्पताल आइपुग्ने बताइन् । गोसाइँले भनिन्, ‘साउन ३ गते राति ुहाइ भोल्टेजुका कारण फ्युज भई उपकरणको चिप्स बिग्रिएको हो । सेवा दिन नसकेको यथार्थ हो । भन्सार छुट हुनेबित्तिकै उपकरणको सामान आइपुग्छ । सम्भवतः छिट्टै नै सेवा पुनः सुरु हुन्छ ।’

यस अस्पतालमा रेडियोथेरापीका लागि बिरामीहरूले महिनौँ कुर्नुपर्ने बाध्यता छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप