बुधबार, १३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाइपलाइन, व्यापार र सुरक्षाबारे वार्ताका लागि इराकी प्रधानमन्त्री टर्कीमा

मङ्गलबार, १२ साउन २०८३, २२ : ४२
मङ्गलबार, १२ साउन २०८३

सारांश

  • इराकी प्रधानमन्त्री टर्की पुगेर ऊर्जा, व्यापार र सुरक्षाबारे वार्ता गर्नेछन् ।
  • तेल पाइपलाइन विस्तार र क्षेत्रीय तनाव कम गर्ने योजनाबारे छलफल हुनेछ ।
  • कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) सँगको द्वन्द्व अन्त्य गर्ने प्रयासका बीच यो भ्रमण भएको हो ।

काठमाडौँ । इराकका प्रधानमन्त्री अली अल–जैदी मङ्गलबार टर्की पुगेका छन् । उनको भ्रमणका क्रममा इराकी तेल निर्यातलाई क्षेत्रीय तनावबाट पर्ने जोखिम कम गर्न टर्कीसम्म तेल पाइपलाइन विस्तार गर्ने योजनालगायत ऊर्जा, व्यापार र सुरक्षा विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

पदभार सम्हालेयता प्रधानमन्त्री जैदीको यो तेस्रो विदेश भ्रमण हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसहितका अधिकारीसँग हुने भेटवार्तामा सुरक्षा, व्यापार, ऊर्जा, यातायात तथा जल व्यवस्थापनका विषयमा छलफल हुने टर्कीका अधिकारीले बताएका छन् ।

इराकी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा दुवै पक्षको हित हुने गरी संयुक्त पूर्वाधार परियोजनाबारे छलफल गर्ने उल्लेख छ ।

गत वर्षको संसदीय निर्वाचनपछि प्रधानमन्त्री चयनमा देखिएको लामो राजनीतिक गतिरोध अन्त्य गर्दै सर्वसम्मत उम्मेदवारका रूपमा प्रधानमन्त्री बन्नुभएका जैदी अमेरिकाको वासिङ्टन र इरानको तेहरान भ्रमणपछि अङ्कारा पुगेका हुन् ।

यसै महिनाको सुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको भेटवार्तापछि अमेरिकी कम्पनीले इराकी सरकारसँग करिब ६० अर्ब अमेरिकी डलर बराबरका सम्झौता तथा साझेदारी गरेका थिए । तीमध्ये फारसको खाडीबाट इराकी तेल निर्यातका लागि वैकल्पिक मार्ग निर्माण गर्ने परियोजना पनि समावेश छन् ।

प्रस्तावित एउटा परियोजनाअन्तर्गत दक्षिणी इराकको बसरा हुँदै पश्चिमी इराकको हदिथा र त्यसपछि टर्कीको सेहान बन्दरगाह तथा सिरियाको बानियास बन्दरगाहसम्म पाइपलाइन निर्माण गर्ने योजना छ ।

प्रधानमन्त्री जैदीको भ्रमण टर्कीले उत्तरी इराकमा मुख्य आधार रहेको कुर्दिस्तान वर्कर्स पार्टी ९पीकेके०सँग दशकौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने प्रयास गरिरहेका बेला भएको हो ।

पीकेकेले गत वर्ष शान्ति प्रक्रियाको हिस्साका रूपमा हतियार त्याग्ने र सङ्गठन विघटन गर्ने घोषणा गरेको थियो ।

टर्कीले शान्ति प्रक्रियालाई अघि बढाउन सीमित आममाफीसहितको कानुनी व्यवस्था गर्ने तयारी गरिरहेको छ । यसबाट पीकेकेका केही लडाकुलाई टर्की फर्कन अनुमति मिल्न सक्ने अपेक्षा गरिएको छ ।

पीकेकेले सन् १९८४ देखि टर्कीविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ । उक्त द्वन्द्वमा हालसम्म हजारौँ मानिसको मृत्यु भइसकेको छ । टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली सङ्घले पीकेकेलाई आतङ्कवादी सङ्गठनका रूपमा सूचीबद्ध गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप