आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बोक्सी आरोपमा कुटिएकी महिलाको रोदन : प्रहरीले कारबाही प्रक्रया अघि बढाएन

सोमबार, २८ माघ २०७५, १३ : ३५
सोमबार, २८ माघ २०७५

सिरहा–सिरहाको नरहा गाउँपालिका ३ चन्द्रअयोध्यापुर खोरिया टोलमा बोक्सी आरोपमा चार दिनअघि निर्घात कुटिएकी महिलालाई जवर्जस्ती बोक्सी स्वीकार्न बाध्य पारिएको पीडितले बताएकी छन् । 

घटनाको पर्सिपल्ट (२६ माघ)मा मिर्चैयास्थित इलाका प्रहरी कार्यालयमा पुगेकी पीडित ५० वर्षीया बौवावती महतो र उनका पतिले पीडकहरुमाथि कारबाही गर्न माग गर्दै निवेदन दर्ता गरेका छन् । 

तर प्रहरीले भने रीत पूर्वकको जाहेरी नपरेकाले कारवाही अघि बढाउन नसकेको दावी गरेको छ । 

मिर्चैयाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले पीडितको तर्फबाट रीतपूर्वक जाहेरी परेमात्रै घटनाको अनुसन्धान अगाडि बढ्नसक्ने बताए । 

‘अन्यथा पीडितले अहिले दिएको निवेदन अनुसार छलफल मात्र गराउन सकिन्छ, कानुनी कारबाहीको प्रकृया अगाडि बढाउन सकिंदैन’ उपरीक्षक खनालले भने । 

महिलामाथि अन्याय भयो : वडाध्यक्ष
नरहा गाउँपालिका ३ का वडाध्यक्ष अनिसुल मियाँले समाजमा अझैपनि अन्धविश्वास कायम रहेएको बताए । उनले धामी झाँक्री, भूतप्रेत मान्नेहरुको बाहुल्यता हट्न नसकेको स्वीकार गर्दै गाउँको भिडले एक्ली महिलालाई कुटपीट गर्दै बोक्सी स्वीकार्न दवाव दिनु अन्याय भएको बताए ।

‘धामी, झाँक्री, बोक्सी मान्नेहरु भएपनि कानुनी रुपले कुटपिट गर्न मिल्दैन’ वडाध्यक्ष मियाँले भने । आइतबार खोरिया टोल पुगेका सञ्चारकर्मी तथा अधिकारकर्मीहरुको टोली सदाय बस्तीमा पुगेका बेला वडाध्यक्ष मियाँ पनि पुगेका थिए । वडाध्यक्ष पुगेलगत्तै बस्तीका स्थानीयहरु उर्लिएर महतो बोक्सी नै भएको बताइरहेका थिए । 

महतोको ज्यानमाथि खतरा
बोक्सीको आरोपमा कुटिएपछि महतो परिवारले आफूहरुमाथि असुरक्षा बढेको गुनासो गरेका छन् । करिब ७५ घर सदाय बस्तीका प्रायः सबैजनाले महतोले बोक्सी मन्त्र जानेको र टुनामुना गरी गाउँलेलाई दुःख दिने गरेको दावी गरिरहेका छन् । 

स्थानीय अमिरी सदायकी श्रीमति जीवछीदेवीले आफ्नो १९ वर्षीय जेठा छोरा संजीव ११ माघदेखि काम्ने र बक्ने गर्न थालेको बताइन् । ‘मेरो छोरो लगातार तीन हप्तासम्म काम्दै बौवावतीकै नाम लिन थालेपछि २३ माघमा गोलबजारका मोलवीकहाँ पुर्याएर झारफुक गराएँ’ उनले भनिन् ‘त्यसको भोलिपल्ट पनि काम्न नछोडेपछि गाउँलेहरुसहित उनको घर पुगेर निको बनाउन दवाव मात्रै दिएपछि छोरो ठीक भयो’ उनको दावी थियो ।

संजीवलाई भूतप्रेत लगाएपछि कामेको भन्दै उनकी हजूरआमा ६० वर्षीया झौलीदेवी सदाय, आमा जीवछी, दिदी बहिनीसहित मिलेर लछारपछार गर्दै चौतारामा पुर्याई कुटपिट गरेको पीडितले प्रहरीमा दिएको निवेदनमा उल्लेख छ ।

पीडित महतोका अनुसार घरमा गाईलाई घाँसपानी गरेर बाख्रा सार्न खोज्दै गर्दा दक्षिण पूर्वतिर पर्ने सदाय बस्तीबाट आएको पचासौं जनाको समूहले आफुलाई घरबाट घिसार्दै चौतारोमा लगेर बोक्सी हुँ भन्न दवाव दिएका थिए । 

‘म बोक्सी होइन’ भन्दै हात जोड्दा समेत निर्घात कुटपिट गरे, एक वर्षीय छोरा आयुषलाई नै मारिदिने धम्की दिए’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप