बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मदिरा खुवाएर धोविघाटका तीन घर ६ लाख ७० हजारमा 'झ्वाम' पारेको भन्दै उजुरी

बुधबार, २२ साउन २०७६, १२ : ५१
बुधबार, २२ साउन २०७६

ललितपुरको धोविघाटमा एउटा घरको मुल्य कति पर्ला ? ५ आना १ पैसा क्षेत्रफलमा बनेको ३ वटा घर जम्मा ६ लाख ७० हजारमा बिक्री भयो भन्दा पत्याउन मुस्किल नै हुन्छ ।

तर सत्य यही नै हो ।

ललितपुर धोविघाटका राम महर्जन र रत्न महर्जनमाथि छिमेकीलाई मदिरा खुवाएर तीनवटा घर झ्वाम पारेको आरोप लागेको छ । उनीहरुले सुजीत सिजापतिको करोडौं घर र जग्गा ७ लाखभन्दा कम मुल्यमै झ्वाम पारेका हुन् ।

३९ वर्षका सुजीत सिजापति मदिराको अम्मली बनिसकेका थिए । उनको दैनिकी घर नजिकैको भट्टी पसलमा गएर मदिरा पिउनुमात्रै थियो । मदिरा पिलाउने व्यक्ति पनि सुजीतकै छिमेकी थिए । पैसा नहुँदा पनि छिमेकीले मदिरा पिलाउन सहयोग गर्थे ।

२०६८ साल वैशाख २० गते ।

घर नजिकैको एक भट्टी पसलमा सुजीतलाई रक्सी खुवाएर १५ लाखमा घर किनेको कागज गर्न लगाएको र ६ लाख ७० हजार दिएको सुजीतका ससुरा अर्जुन बहादुर भण्डारी क्षेत्रीले रातोपाटीलाई बताए ।

महर्जनद्वयले सुजीतलाई नसामा पारेर घर कब्जा गरेको भन्दै सुजीतकी श्रीमती अन्जना भण्डारी (सिजापती) ले असार २७ गते महानगरीय प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी छन् ।

प्रहरीमा जाहेरी दिएसँगै सुजीतको तर्फबाट बहस गर्ने वकिलहरु पनि विपक्षीसँग मिलेको ससुरा अर्जुनको आरोप छ । उनले भने, ‘केदार लुईटेल र कृष्ण प्रसाद भण्डारीले ज्वाईं, छोरी र नातिनातिना कसैको पनि हक नलाग्ने गरेर विपक्षीसँग मिलेर काम गरिरहेका छन् ।’

घटना मोडिएपछि...

१५ लाखमा कागज गरेका राम महर्जनले हाल तीनवटै घर रत्न महर्जनलाई ३१ लाखमा बेचेका छन् ।

३१ लाखमा रत्नलाई घर बेच्दा उनीहरुले फेरि सुजीतलाई साक्षी राखेको परिवारको भनाई छ । उनीहरुले सुजीतलाई फेरि पनि रक्सी खुवाएर साक्षी राखेको पीडित परिवारको आरोप छ ।

५ आना एक पैसामा जग्गामा रहेको २ वटा घर नयाँ हो भने एउटा घर पुरानो हो ।

मुख्य नाइके सरोज तुलाङ्गे

धोविघाट ठाडेढुङ्गाका सरोज तुलाङ्गे घटनाको मुख्य नाइके रहेको सुजीतकी श्रीमती अञ्जनाले रातोपाटीलाई भनिन्, ‘सरोज जग्गा कारोबार गर्ने दलाल हो ।’

सरोजले छाला उद्योग खोल्ने भनेर आफ्नो घरमा २ वटा फ्ल्याट भाडामा लिएको समेत उनले बताइन् । उनले भनिन्, ‘मेरो श्रीमानलाई विभिन्न प्रलोभन देखाएर कम्पनीको प्रोपाइटर राखिदिएछ । जबकी मेरो श्रीमान अनपढ हुन् ।’

०६५ सालदेखि अहिलेसम्म सरोजले उद्योग सञ्चालन गरेको कर नतिरेको पाइएको छ । त्यहाँ कार्यरत मजदुरहरुलाई समेत तलब नदिएको त्यहाँ कार्यरत एक कर्मचारीले रातोपाटीसँग भने ।

राम महर्जन र रत्न महर्जन सरोज तुलाङ्गेको आदेशअनुसार चल्ने गरेको अञ्जनाले आरोप लगाइन् । उनले भनिन्, ‘हाम्रो घर कब्जामा लिन सरोजले राम र रत्नलाई प्रयोग गरेको हो ।’

सुजीतका ससुरा अर्जुन भण्डारी क्षेत्रीका अनुसार उनीहरुले सुरुमा १ करोड मागेको र ७५ लाखमा मोटामोटी एकखालको सहमति भएपनि अहिलेसम्म उक्त घरमा रत्नले नै आफ्नो हालीमुहाली जमाइरहेको बताए ।

उनले भने, ‘१५ लाख अग्रिम दिइसकेका छौं । ६० लाख बाँकी छ । त्यसमा अझ जग्गा नामसारीलगायतको खर्च पनि हामी आफैंले व्यहोर्न तयार छौं ।’

यस विषयमा रत्न महर्जन सहमत देखिएपनि राम महर्जन अझै पनि सहमत नभएको उनको भनाई छ । यता सरोज तुलाङ्गे भने फरार रहेका छन् ।

हाल उक्त ठाउँमा आनाको ३६ लाख रहेको बताइएको छ ।

यी सबै झुटा आरोप हो : राम महर्जन

तीनवटा घर झ्वाम पारेको आरोप लागेका राम महर्जनले यी सबै झुटा भएको बताएका छन् । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘सुरुमै १५ लाख दिएका हौं । पटक–पटक गरेर पैसा दिएको होइन ।’

त्यसपछि सुजीतको परिवारले आफूसँग फेरि १० लाख मागेको उनको भनाई छ । ‘७ वर्षअघिको कुरा हो । विभिन्न जाल प्रपञ्च र षड्यन्त्र बनाएर घर झ्वाम पारेको आरोप सरासर झुट हो,’ उनले भने ।

यस विषयमा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी रवीन्द्र धानुकले आवश्यक अनुसन्धान भइरहेको बताए । उनले भने, ‘मुद्दा दर्ता भएको छ । दुवै पक्षलाई बोलाएर छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप