शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखमाथि पाकिस्तानी सेनाको प्रवक्ताको प्रहार

आइतबार, ०८ भदौ २०७६, ०८ : २४
आइतबार, ०८ भदौ २०७६

बलिउड अभिनेता शाहरुख खानको कम्पनीको तर्फबाट नेटफ्लिक्सका लागि तयार एक सिरिजको विषयमा पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूर र शाहरुख खानका प्रशंसकबीच ट्वीटरमा विवाद जारी छ । पाकिस्तानका ट्वीटर प्रयोगकर्ता पनि यसबारे टिप्पणी गरिरहेका छन् ।

शाहरुख खानको कम्पनीले नेटफ्लिक्सका लागि ‘बोर्ड अफ ब्लड’ नामको सिरिज तयार गरेको छ । यो सिरिज २७ सेप्टेम्बरमा प्रशारण हुनेछ ।

शाहरुख खानले बिहिबार आफ्नो ट्वीटर अकाउन्टबाट यसको ट्रेलर सार्वजनिक गरे ।

शाहरुखले ट्रेलर जारी गर्दै ट्वीटरमा लेखे, ‘सिरिज बोर्ड अफ ब्लड हाजिर छ । यो जासुसी, बदला, प्रेम र कर्तव्यको एक रोमाञ्चक कहानी हो । आशा गर्छु, यसमार्फत् तपाईंले मनोरञ्जन लिनुहुनेछ ।’

गफूरको ट्वीटः

त्यसको एक दिनपछि अर्थात्, शुक्रबार पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले यो सिरिजबारे एक ट्वीट गरेका छन् जसमा शाहरुख खानलाई ‘बलिउड सिन्ड्रोम’ बाट ग्रसित बताइएको छ ।

वास्तवमा ट्रेलरबाट स्पष्ट हुन्छ कि ‘बोर्ड अफ ब्लड’ मा यस्ता तीन भारतीय जासुसको कहानी छन् जो एक रेस्क्यू मिशनमा पाकिस्तानको बलूचिस्तान प्रान्तमा जान्छ । ट्रेलरमा यसलाई ‘सुसाइड मिशन’ बताइएको छ ।

आसिफ गफूरले शाहरुख खानलाई ‘वास्तविकता हेर्न’ सल्लाह दिएका छन् ।

गफूरले आफ्नो नीजि ट्वीटर ह्यान्डलबाट गरिएको ट्वीटमा लेखेका छन्, ‘शाहरुख खान बलिउड सिन्ड्रोमले घेरिएका छन् । वास्तविकताका लागि ‘रअ’का जासुस कुलभूषण जाधव, विंग कमान्डर अभिनन्दन र २७ फेब्रअरी २०१९ को स्थिती हेर्नुहोस् । तपाईंले यसको साटो भारत अधिनस्त जम्मू–कश्मीरमा भइरहेको अपराध र नाजीवादीप्रति आसक्त आरएसएसविरुद्ध बोलेर शान्ति र मानवतालाई प्रोत्साहन गर्न सक्नुहुन्छ । ’

आसिफको यो ट्वीटपछि धेरैले उनीमाथि प्रश्न गरेका छन् ।

सन्दिप सप्रे नामको एक ट्वीटर प्रयोगकर्ताले कुलभूषण जाधवबारे लेखे, ‘स्विकारोक्ति प्रमाण होइन ? ’

शाहरुख खानका एक प्रशंसकहले गफूरले सबैभन्दा धेरै फलोअर भएका भारतका ट्वीटर अकाउन्टलाई निशाना बनाउने गरेको आरोप लगाए ।

यस्तै थुप्रै ट्वीटर प्रयोगकर्ताले पाकिस्तानी सेनाका प्रवक्तालाई निशानामा पारेका छन् । यस्तै, पाकिस्तानका थुप्रै प्रयोगकर्ताले गफूरको समर्थनमा पनि ट्वीट गरिरहेका छन् ।

यद्यपि, शाहरुख खानले आसिफको ट्वीटको कुनै जवाफ दिएका छैनन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप