आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

खानेपानी मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता, यी हुन समेटिएका विषय

सोमबार, ०९ भदौ २०७६, २० : ४७
सोमबार, ०९ भदौ २०७६

काठमाडौं – चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको सहजतापूर्वक कार्यान्वयन गर्ने लक्ष्यका साथ  खानेपानी मन्त्री वीना मगर र सचिव माधव बेल्वासेबीच  कार्य सम्पादन करार सम्झौता गरिएको छ ।

मन्त्रालयमा सोमबार सम्पन्न भएको सम्झौता कार्यक्रममा मन्त्रालयसँग सम्बन्धित योजना आव २०७६÷७७ मा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

मन्त्री मगर र सचिव बेल्वासेले सम्झौतामा हस्ताक्षर गरे । सरकारको नीति तथा कार्यक्रममा आधारभूतस्तरको खानेपानी सेवालाई आगामी आवमा ९२ प्रतिशत र चार वर्षभित्र शतप्रतिशत जनसङ्ख्याको पहुँचमा पु¥याइने उल्लेख छ । 

त्यस्तै निर्माणधीन खानेपानी आयोजना सम्पन्न गरी तराईका जिल्लामा आर्सेनिकमुक्त सुरक्षित खानेपानी उपलब्ध गराइने नीति तथा कार्यक्रममा समावेश छ ।

सरकारले लिएका यी लक्ष्य पूरा गर्न मन्त्री र सचिवबीच कार्यसम्पादन सम्झौता भएको हो । 

सम्झौतामा उल्लेख भएअनुसार ९८ भूकम्पबाट क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्ने, एक हजार ३६८ आयोजनाको खानेपानी सेवा विस्तार तथा पुनःस्थापना गर्ने, १५ क्रमागत तथा ४१ नयाँ गुणस्तर सुधारका आयोजनाको कार्यान्वयन गर्ने र थोक वितरण प्रणाली तथा जलाशययुक्त सम्भाव्य आयोजनाको सम्भाव्यता अध्ययन तथा विस्तृत अध्ययन कार्य चालू आवभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।  

त्यस्तै २३ नगरक्षेत्र पोखरा, बुटवल, नेपालगञ्ज, विराटनगर, भद्रपुर, धरान, वीरगञ्ज, भैरहवा र धनगढीलगायत अन्य क्षेत्रका लागि खानेपानी सुधार कार्य गर्ने हस्ताक्षरित सम्झौतामा उल्लेख छ ।

चालू आवभित्रमा मेलम्चीको पानी पथान्तरण गरिसक्ने कार्यसम्पादन सम्झौतामा उल्लेख छ । त्यसैगरी नेपाललाई खुला दिसामुक्त राष्ट्र बनाइ पूर्ण सरसफाइ अभियानलाई देशैभरि अगाडि बढाउने मन्त्रालयको प्रतिबद्धता छ ।

कार्यक्रममा मन्त्री मगरले सम्झौता जनतासँग गरिएको प्रतिबद्धता भएको बताइन् । ‘सम्झौता जनताका अगाडि यो काम गर्छु भनेर गरिएको प्रतिबद्धता हो’, उनले भनिन्, ‘हामीले चालू आवभित्र धेरै काम सम्पन्न गरेर देखाउनुपर्ने चुनौती छ, त्यसैले मन्त्री र सचिवले मात्रै नभई सबैले आत्मसात गरी सरकारका कार्यक्रम कार्यान्वयन गर्न तिर लागौँ ।’

सचिव बेल्वासेले नीति तथा कार्यक्रम र बजेटले लिएका लक्ष्य पूरा गर्नेतर्फ लाग्न सबैको साथ सहयोग जरुरी रहेको बताएको मन्त्रालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप