बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परियोजना अघि बढाउने सहमति

बिहीबार, ०९ असोज २०७६, १७ : ३४
बिहीबार, ०९ असोज २०७६

काठमाडौं– जाजरकोटमा अवस्थित ४ सय १७ मेगावाटको नलसिंहगाड जलविद्युत परिआयोजना अघि बढ्ने भएको छ । जापान भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन र जापानी  विकास नियोग (जाइका) का कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच बिहिवार भएको भेटवार्तामा उक्त परियोजनालाई अघि बढाउने विषयमा सहमति भएको हो । 

मन्त्री पुनले उक्त परियोजनालाई अघि बढाउने विषयमा बुधवार जापानका संसदीय, परराष्ट्र, उपमन्त्री नोरुहिरो नाकायामा, कृषि, वनतथामत्स्यपालन राज्यमन्त्री योसिताका ईता र जापान संसदीय मैत्री समूहका अध्यक्ष तथा लिबरल डेमोक्राटिक पार्टीका महामन्त्री तोसिहिरो निकाइसग छलफल गरेका थिए ।

भेटवार्तामा उर्जामन्त्रालयका सहसचिव तोया अधिकारी, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतका उच्च अधिकारी सहभागी थिए ।  उर्जामन्त्री पुनले जाइकाले पिपिपि मोडेलमा उक्त आयोजना अघि बढाउने गरी प्रस्ताव गरेको जानकारी दिए । उनका अनुसार उक्त परियोजनालाई जाइकाले उच्च प्राथमिकतामा राखेको छ । ‘जाइकासँगको छलफल अत्यन्तै सकरात्मक भएको छ, डिपिआरको अध्ययनलगत्तै परियोजनालाई अघि बढाउने गरी पहल थाल्ने प्रतिबद्धता जनाउनुभएकोले पनि चाँडै यसले मूर्त रुप पाउनेमा म आशावादी छु ।’ मन्त्री पुनले भने ।

त्यसका साथै छलफलको क्रममा जाइकाका उपाध्यक्ष कोशिकावाले नेपालको उर्जा क्षेत्रमा थप लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन् । भेटमा मन्त्री पुनले नेपालमा हाल पाँच वर्षको लागी स्थायी सरकार रहेको भन्दै थप लगानीका लागी आग्रह गरे । उनले नेपालमा जलविद्युतको बजार समेत सुरक्षित रहेको र नाफा समेत सजिलै लिन सकिने अवस्था सरकारले बनाएको दावी समेत गरे । मन्त्री पुनले कुलेखानी जलाशययुक्त आयोजना र कन्काई सिञ्चाइ आयोजनामा जापानले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । 

आगामी १० वर्षमा नेपालले १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र उत्पादित बिजुली बेच्नका लागि भारत र बंगलादेशसँग सम्झौता भइसकेको मन्त्री पुनको भनाई थियो । उनले उत्पादित बिजुलीको लागि आन्तरिक र बाह्य बजार बनाउन सरकार सक्षम रहेको धारणा समेत राखे । जापानमा जलविद्युतको क्षेत्रमा काम गर्ने २५ कम्पनीका प्रतिनिधिले भेटेका उर्जामन्त्री पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् ।

चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधि र १ सय सहभागी भएको अन्तरक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागी सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरे । कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्ता सरह सुविधा दिने घोषणा समेत गरेका छन् । उनले भने, ‘तपाइँहरुले नेपालमा लगानी गर्नुभयो भने हामीले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौ । उत्पादित बिजुली पनि हामीले नै खरिद गर्छौ, बजारको पनि चिन्ता नगर्नुहोस् ।’ 

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो इलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्सलगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप