सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी पार्टीमाथि सरकार छाड्न दबाब

आइतबार, ०३ कात्तिक २०७६, १६ : ०२
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं । समाजवादी पार्टी नेपालमाथि सरकार छाड्न दबाब परेको छ । राष्ट्रिय जनता पार्टी, नेपालले सरकार छाडेपछि मात्र समाजवादी पार्टीसँग एकीकरण हुने भनेको छ भने पूर्व सहमतिअनुसार डा.बाबुराम भट्टराई समूहले पनि सरकार छाड्न दवाव दिएको छ । 

तत्कालीन नयाँ शक्ति पार्टी र समाजवादी पार्टीबीच एकीकरण हुँदा डा.बाबुराम भट्टराईको पहिलो सर्त थियो, सरकार छाड्ने कुरा । तर, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एकीकरण भएको केही दिनपछि सरकारलाई एउटा अल्टिमेटम दिएर सरकार छाड्ने सहमति गरेका थिए ।

समाजवादी पार्टीका केन्द्रीय सदस्य रामरिझन यादवले पार्टी एकीकरणको समयमा केही दिनमै सरकार छाड्ने सहमति भए पनि हालसम्म त्यो सहमति कार्यान्वयन नभएको बताए । उनले भने, ‘अब पनि समाजवादी पार्टी सरकारमा रही रह्यो भने पार्टीलाई हानी नै हुन्छ । जुन उद्देश्यका लागि त्यहाँ गएको थियो, त्यो उद्देश्य पुरा भएन भने त्यहाँ बस्नुको औचित्य छैन ।’ 

दुई पार्टीबीच एकीकरण भएको सात महिनाभन्दा बढी भइसक्यो तर हालसम्म समाजवादी पार्टीले सरकारसँग कुनै छलफल गरेको छैन । एकीकरण हुनुभन्दा पहिले उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरमले ०७५ फागुन २१ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको थियो । त्यसपछि समाजवादी पार्टीले न यस विषयमा कुनै कुरा गरेको छ, न सम्झौता कार्यान्वयनका लागि नै कुनै दवाव दिएको छ । 

नयाँ शाक्ति पार्टीसँग एकीकरण गर्ने समयमा अध्यक्ष यादवले ‘अहिले सरकार छाड्ने अवस्था छैन, सरकारमाथि चारैतिरबाट प्रहार भइरहेको छ । हिन्दुवादीहरु जागेका छन् यसबेला समाजवादी पार्टीले सरकार छाड्यो भने पार्टीमाथि नै आरोप लाग्न सक्ने भएकाले तत्काल सरकार नछाड्ने केहीपछि सरकारलाई अल्टिमेटम दिएर छाड्ने’ भनेको तत्कालिन नयाँ शक्ति पार्टी पक्षधर एक नेताले बताए ।

त्यतिमात्र होइन, अध्यक्ष उपेन्द्र यादवले सम्झौता कार्यान्वयनका लागि सरकार सकारात्मक भएको बेला सरकार छाड्न नहुने भन्दै बाबुरामलाई कन्भिन्स गरेका थिए । तर लामो समय बित्दा पनि सम्झौता कार्यान्वयनको न सम्भावना देखिएको छ, न सरकारले कुनै चासो लिएको छ ।

सरकारमा सहभागी हुनका लागि तत्कालीन संघीय समाजवादी पार्टी नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग दुई बुँदे सम्झौता गरेको थियो । त्यसमध्ये सरकारमा सहभागी हुने बुँदा लागु भएको छ भने संविधान संशोधनको विषयमा कुनै प्रकृया शुरु भएको छैन ।   

डा.बाबुराम भट्टराई समूहले प्रत्येक बैठकमा सरकारको विषयमा कुरा उठाउने गरेको छ । सरकारलाई निरन्तरता दिने हो भने मन्त्री हेरफेर पनि हुनुपर्ने तर्क सो समूहले राख्ने गरेको समाजवादी पार्टी स्रोतले जनाएको छ । पूर्वसहमति अनुसार सरकार छाड्नुपर्ने बाबुराम समूहको दबाब छ । 

यता, राजपा नेपालले पार्टी एकीकरणका लागि समाजवादी पार्टीसँग नियमित छलफल गरिरहेको छ । छलफलमा राजपा नेपालको एउटै सर्त हुन्छ– पहिला सरकार छाड्नुस् अनि एकताको प्रक्रिया अगाडि बढ्छ ।
तर समाजवादी पार्टीले एकीकरणमा सरकारको विषय नउठाउन भन्दै आएको छ । राजपा नेपालका अध्यक्षमण्डलका सदस्य एवं वार्ता समितिका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार नछाडेसम्म एकीकरण हुँदैन भन्दै आएका छन् । 

पार्टीमा सरकार छाड्न यिनै दवावहरु आउन थालेपछि समाजवादी पार्टीले त्यस विषयमा छलफल गर्नका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । सो पार्टीको संघीय परिषद्को बैठक कात्तिक २८ गते र केन्द्रीय समितिको बैठक २९ र ३० गतेका लागि बोलाएको छ । 

सो बैठकमा राजपा नेपालसँगको एकीकरण, सरकार छाड्ने÷नछाड्ने विषय, पार्टी समायोजन, कार्यविभाजन, उपचुनाव लगायतको विषयमा छलफल हुने बताइएको छ । पार्टीका महासचिव रामसहाय यादवले संविधान संशोधनको विषयमा सरकारसँग कुराकानी भइरहेको बताए । उनले सम्झौता कार्यान्वयन भएन भने सरकारमा बस्नुको औचित्य नरहनेसमेत प्रष्ट पारे । उनले भने, ‘अब अन्तिमपटक प्रधानमन्त्री ओलीसँग भेटेर कुराकानी गर्ने र सम्झौता कार्यान्वयन कहिले गर्ने भनि अल्टिमेटम दिने । त्यो अल्टिमेटममा सम्झौता कार्यान्वन नभए सरकार छाडेर हिड्नेछौं ।’

पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकमा यिनै विषयहरुमा छलफल पनि हुन्छ । छलफलबाट आएको सुझावका आधारमा आवश्यक निर्णय लिने उनले बताए ।

समाजवादी पार्टीको तर्फबाट सरकारमा दुईजना मन्त्री र एकजना राज्यमन्त्री सहभागी छन् । उपप्रधानमन्त्री सहित स्वास्थ्य मन्त्रीमा उपेन्द्र यादव स्वयं छन् भने इस्तियाक राई शहरी विकास मन्त्री छन् ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप