सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कास्की २ उपनिर्वाचन : समाजवादी पार्टीले सिफारिस गर्‍यो ३ जनाको नाम

बिहीबार, ०७ कात्तिक २०७६, १८ : ०८
बिहीबार, ०७ कात्तिक २०७६

पोखरा– बाबुराम र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले कास्की २ को उपनिर्वाचनका लागि केन्द्रीय समितिमा ३ जनाको नाम सिफारिस गरेको छ । गएको असोज पहिलो साता नै केन्द्रीय कार्यालयले नाम सिफारिसका लागि जिल्लालाई पत्र पठाएको थियो । 

समाजवादी पार्टीका कास्की जिल्ला समिति अध्यक्ष गिरीप्रसाद गुरुङका अनुसार उम्मेद्वारीका लागि सहमतिमा ३ जनाको नाम केन्द्रमा पठाइएको हो । ‘सर्वसहमतिमा ३ जनाको नाम पठाएका छौं । प्रदेश हुँदै केन्द्रीय समितिले एक जनाको नाम छनौट गरेर पठाई दिनुहुन्छ,’ उनले भने । उम्मेदवारी चयन गर्ने मिति भने अझै तय नभइसकेको उनले जानकारी दिए । आउँदो कात्तिक १६,१७ भित्रमा उमेदवार चयन हुने अनुमान गरिएको उनले सुनाए । 

नेकपाको लाल किल्ला मानिने कास्की २ मा ठुला पार्टीले उमेदवार चयन गर्न नसकेको अवस्थामा साझाले भने हिजो नै उमेदवार घोषणा गरिसकेको छ । प्रमुख प्रतिपक्ष काँग्रेसले १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । तर, सत्तापक्ष नेकपाले भने उमेदवारको लागि सिफारिस पठाइसकेको छैन । यही आउँदो १० गते भित्रमा उमेदवारको नाम सिफारिस गर्ने नेकपा कास्कीले जनाएको छ । 

समाजवादीबाट धर्मराज गुरुङ, हेमबहादुर थापा किरण, रामबहादुर नेपालीको सर्व सहमतिमा नाम सिफारिस गरिएको कास्की जिल्ला अध्यक्ष गुरुङले जानकारी दिए । चुनावी मैदानमा समाजवादी पार्टी अझै उत्रिसकेको छैन ।  पहिचानको मुद्दालाई नै अघि सारेर समाजवादीले चुनाव लड्ने योजना बनाएको छ । समाजवादी पार्टीले बोक्ने गरेको समृद्धि, सु–शासन, समाजवाद र पहिचानको ऐजेन्डालाई नै चुनावी मुद्दा बनाएर अघि बढ्ने उनले सुनाए । ‘विधिको शासनको लागि पहिला त भ्रष्टाचार मुक्त समाज बनाउनु जरुरी छ । भ्रष्टाचारले देश गाँजिरहेको छ, देशलाई भ्रष्टाचारमुक्त बनाउनु नै हामो उद्देश्य हो, पहिचानसहितको मुलुक बनाउने उद्देश्य हो,’ उनले भने ।

समाजवादीले चुनावमा कुनै पार्टीसँग तालमेल नगर्ने उनले प्रष्ट्याए । ‘हामी आफ्नै तरिकाले चुनाव लड्छौ, कुनै पार्टीसँग तालमेल हुँदैन,’ उनले भने । अहिले पार्टी संगठन विस्तारको काम भइरहेको उनले सुनाए । वडा वडामा संगठन विस्तारमा लागि रहेको उनले जानकारी दिए । वडा नम्बर ७, १७, १५ र १६ मा संगठन विस्तार गठन भइसकेको र बाँकी रहेका वडामा पनि संगठन विस्तारका लागि रहेको उनले सुनाए । 

कास्की २ मा आफूहरुले जसरी पनि चुनाव जित्ने उनको तर्क छ । पहिचानको मुद्दा नै आफूहरुको चुनाव जित्ने मुख्य हतियार हुने उनले दाबी गरे ।  पार्टी एकता अघि बाबुराम नेतृत्वको तत्कालीन नयाँ शक्ति र उपेन्द्र नेतृत्वको संघीय समाजवादी पार्टी पनि कास्की २ को अघिल्लो चुनावी मैदानमा थिए । २०७४ को चुनावमा कास्की २ मा ७० हजार ६ सय ५१ मतदाता रहेकोमा यो पटक बढेर ७२ हजार २ सय मतदाता पुगेका छन् । 
अघिल्लो चुनावमा तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याएर काँग्रेसका देवेन्द्र चालिसेलाई ८ हजार ५ सय ४६ भारी मत अन्तरले जितेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप