धेरै बच्चा जन्माउने आमालाई तक्माः जति धेरै सन्तान त्यति ठूलो ‘मेडल’
थुप्रै देशका सरकारले धेरै बच्चा जन्माउँदा नागरिकलाई आर्थिक प्रोत्साहन दिने गर्छ तर काजकिस्तान यी देशभन्दा सबैभन्दा माथि छ ।
काजकिस्तानमा ठूलो परिवारलाई निकै महत्व दिइँदैछ । यहाँको सरकारले परिवारमा धेरैभन्दा धेरै बच्चा होस् भन्ने चाहेको छ । त्यसकारण यो देशको जन्मदर बढाउन योगदान दिने आमालाई ‘हिरो मदर्स’ को तक्मा दिइन्छ ।
कुनै परिवारमा ६ जना बच्चा भए आमालाई रजत पदक दिइन्छ । सात वा सोभन्दा बढी बच्चा जन्माउने आमालाई स्वर्ण पदकबाट सम्मानित गरिन्छ ।
पदक पाउने आमाले सरकारबाट आजिवन मासिक भत्ता पनि पाउँछन् ।
धेरै सन्तान, ठूलो मेडलः
रौशन कोजोमकुलोवा १० सन्तानकी आमा हुन् । उनीसँग रजत र स्वर्ण दुबै पदक छन् । आफ्नो यो उपलब्धीमा कोजोमकुलोवालाई गर्व छ ।
उनका घरमा ८ छोरी र दुई छोरा छन् । खानाको मेचमा सबै बच्चा सँगै खाना खाइरहेका छन् । सबैभन्दा कान्छो छोरा ठूलो दाइको काखमा बसेर खाना खाइरहेको छ ।
कोजोमकुलोवाले आफ्नो तक्मा टीसर्टमाथि लगाएर देखाउँछिन् । स्वर्ण पदक पाएपछि उनी आजिवन सरकारी भत्ताको हकदार भएकी छिन् ।
बक्तीगुल हलाइकबेवाका ६ सन्तान छन् । उनले सिल्भर मेडल पाएकी छिन् र सरकारबाट हरेक महिना भत्ता पाइरहेकी छिन् ।
हलाइकबेवाका एउटा छोरा काखे बालक नै हुन् । उनी भन्छिन्, ‘यो सबैभन्दा कान्छो हो जो ४ वर्षको छ । सबैभन्दा जेठो १८ वर्ष पुग्यो ।’
देशलाई धेरै बच्चा चाहिएको छः
जो आमाले मेडल पाएका छैनन् उनीहरुले पनि सरकारबाट आर्थिक सहायता पाउन सक्छिन् । जुन परिवारमा चार सन्तान छन् उनीहरुलाई भत्ता दिइन्छ, बच्चा २१ वर्ष नपुगुञ्जेलसम्म ।
काजकिस्तानको श्रम र सामाजिक कार्यक्रम विभागकी अक्साना एलुसेजोवा भन्छिन्, ‘हाम्रो सरकारलाई आफ्नो देशमा धेरै बच्चा चाहिएको छ, यो नै हाम्रो नीति हो ।’
‘सबैजनाले हामीसँग धेरै बच्चा भइदिए हाम्रो जनसंख्या ठूलो हुनेथियो भनेर कुरा गरिरहेका हुन्छन् ।’
सोभियत परम्पराः
आमालाई पदकबाट सम्मानित गर्ने र आर्थिक मद्दत प्रदान गर्ने प्रथा सोभियत संघको समयमा सुरु भएको थियो ।
सन् १९४४ मा सोभियत संघले ‘मदर हिरोइन’ पुरस्कार सुरु गरेको थियो । यो ती परिवारलाई प्रदान गरिन्थ्यो जसका १० वा सोभन्दा बढी सन्तान हुन्थे ।
सोभियत समयको तुलनामा अब यो पुरस्कार साना परिवारले पनि पाउन थालेको छ किनभने जन्मदर उच्च राख्नु अहिले पनि काजकिस्तान सरकारको प्राथमिकता हो ।
‘हिरो मदर’ को संज्ञा पाउनका लागि अब कम्तीमा चार सन्तान हुन आवश्यक छ ।
सरकारले गर्भवती महिला र एकल आमालाई पनि आर्थिक सहायता दिन्छ तर पहिलो वर्ष मात्रै ।
जुन आमाको चारभन्दा कम सन्तान छन् उनीहरुले सरकारबाट कुनै मासिक भुक्तानी पाउँदैनन् ।
कतिले यो योजना २ वा सोभन्दा बढी आमाका लागि पनि लागू गर्नुपर्ने माग राख्दै आएका छन् ।
हलाइकबेवा भन्छिन्, ‘केही मानिसहरु सानो परिवारमा धेरै बच्चा जन्माउन डराउँछन् किनभने सरकारले पहिलो वर्षमात्रै उनीहरुको मद्दत गर्छ । यो एउटा कारण हुनसक्छ ।’
परिवारमा रमाइलो छः
हाइकबेवा भान्सामा खाना बनाइरहेकी छिन् । उनको सबैभन्दा कान्छो छोरा आमालाई समातेर त्यहीँ उभिरहेको छ ।
उनी भन्छिन्, ‘मैले हरेक महिना १ लाख ४४ हजार टेंगे (३७० अमेरिकी डलर वा लगभग ४२ हजार पाउँछु । यो पर्याप्त छ ।’
‘मैले यति पैसामा गुजारा गर्ने कोसिस गरिरहेकी हुन्छ तर म काम पनि गर्छु । सरकारले दिएको, आफूले कमाएको पैसा बच्चाका आवश्यकता पूरा गर्न खर्चिन्छु । उनीहरुलाई केही कमी नहोस् भन्ने कुरामा ध्यान दिइरहेको हुन्छु । मलाई केही कुरामा चित्त दुखाई छैन ।’
रौशन कोजोमकुलोवा पनि आफ्नो स्थितीसँग सन्तुष्ट छिन् । उनी भन्छिन्, ‘अहिले पहिलोको जस्तो स्थिती छैन ।’
‘सुरुमा हाम्रो मासिक भत्ता कम थियो । अब मलाई केही गुनासो छैन । सबैकुरा निकै राम्रोसँग चलिरहेको छ ।’
टेलर विडम्यान, एजात रुजिएव/ बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण