जब ध्वजावाहक नेपाली विमान सिधै जापान पुग्यो...
–कालिका खड्का
जापान । नेपाल वायु सेवा निगमको सूर्य र चन्द्रसहितको ध्वजावाहक विमान जापान पुग्दा नेपालीहरु निकै हर्षित भएका छन् । काठमाडौंँ–नारिता उडानका लागि सोमबार बिहान नेपाली समय १ः२५ बजे उडान शुरु गरी जापानको समयानुसार १०ः५० मा नारिता विमानस्थल पुग्दा नेपालीहरु खुशी देखिएका हुन् । नेपालकोभन्दा जापानको समय करीब तीन घण्टा छिटो छ ।
‘नेपाल वायु सेवा निगमको ध्वजावाहक विमान सीधै जापान आउनु राष्ट्रको गौरवको कुरा हो’, हाल जापानको सेन्डाई शहरमा छ वर्षदेखि बस्दै आएकी कुसुम थामीले भनिन्, ‘पहिला सिङ्गापुर, कतार, अरब जाने विमानमा आएर फेरि अर्को विमान चढेर जापान आउनुपथ्र्यो, सीधै आउँदा समय छोटो र पैसा पनि कम लाग्छ ।’
निगमले नियमित उडान गरिदिए नेपाली तथा नेपालमा जाने जापानी पर्यटकका लागि सहज हुने उनको भनाइ थियो । ‘निगमले सस्तोमा टिकट दिनुपर्छ भन्ने लाग्दैन, टिकटमा केही पैसा बढी भए पनि देश धनी हुन्छ’, उनले थपे, ‘विमान नेपालबाट सीधै जापान आउँदा नेपाल राष्ट्रको पनि शान बढेको महसुस भएको छ ।’
निगमले साताको सोमबार, बुधबार र शुक्रबारको उडान इजाजत पाएको छ । सोहीअनुरुप सोमबार काठमाडौंँबाट नारिता उडान भरेको हो । निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई वाइड बडी ए–३३० जहाज छन् । त्यही जहाजबाट उडान हुनेछ ।
जापानको टोकियोमा एक दशकदेखि बस्दै आएका सुुरेश बाँस्टाकोटीले पनि जापानमा सीधै नेपालको विमान आउँदा गौरवको अनुभूति भएको बताए । ‘आफ्नो देशको झण्डासहितको विमान जापानमा आउँदा म त खुशीले भक्कानिएँ’, उनले सुनाए, ‘जापानमा बस्ने नेपाल र पर्यटक सबैका लागि असाध्यै राम्रो शुरुआत हो ।’ उनले पनि उडानले निरन्तरता पाओस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्ष देवीलाल भण्डारीले उडान नेपाल सरकारको सराहनीय काम भएको बताए । ‘यो वर्तमान सरकारको धेरै राम्रो कामको शुरुआत हो, यसले राष्ट्रको गौरव बढाउने काम गरेको छ’, उनले भने, ‘नारिता, टोकियो, चिवालगायत ठाउँमा नेपाली धेरै बस्छन्, उडानले सबैको मद्दत गर्छ, जुन खुशीको कुरा हो ।’ उनका अनुसार जापानमा ९० हजार नेपाली छन् । त्यसमा ३० हजार विद्यार्थी र बाँकी व्यवसाय गर्ने व्यक्ति र कामदार छन् ।
निगमले गत भदौ १२ गते ओसाका उडान शुरु गरे पनि नेपाली नागरिक र नेपाल आउने पर्यटकलाई ध्यानमा राखेर ओसाका उडान बन्द गरी काठमाडौँ–नारिता उडान गर्न लागेको हो । निगमको पहिलो व्यावसायिक उडानमा काठमाडौंँ नारिताका लागि २२० जनाले टिकट काटेका थिए । नारिताबाट काठमाडौँ जान २६८ जनाले टिकट लिएका छन् ।
निगमका अनुसार नारिता उडानका लागि दुईतर्फी भाडादर न्यूनतम रु ७३ हजार कायम गरिएको छ । शुरुआतमा प्रमोशनल फेयरअन्तर्गत सो भाडादर सार्वजनिक गरिए पनि भाडादर परिर्वतन हुन सक्छ । निकट भविष्यमा यात्रुको मागअनुसार भाडादर कायम गरिनेछ । दुई सय ७४ सिट क्षमता भएको वाइडबडी जहाजबाट निगमले जापानमा ‘सेडुल’ उडान शुरु गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण