सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रौतहटमा पत्रकार, प्रहरी र जनप्रतिनिधिले मनाए रंग बिनाको होली

सोमबार, २६ फागुन २०७६, १६ : १७
सोमबार, २६ फागुन २०७६

रौतहट । रौतहटमा पत्रकार, प्रहरी र जनप्रतिनिधिले बिना अबिर (रंगबिना) को होली मिलन कार्यक्रमको आयोजना गरेका छन् । बज्जीका पत्रकार समाज र दलित पत्रकार संघ रौतहटको आयोजनामा कटहरियामा पत्रकार, प्रहरी र जनप्रतिनिधिबीच अबिर(रंग)रहित होली मिलन कार्यक्रम सम्पन्न भएको हो ।

कारोना भाइरसको सन्त्रासकाबीच  पहाडमा आज र मधेशमा भोली मनाइने रंगको पर्व होलीमा सकारात्मक सन्देश जाने उदेश्यले पत्रकार, प्रहरी र जनप्रतिनिधि सम्मिलित टोलीले रातो टिका र फुलको माला लगाएर होली मिलन कार्यक्रम मनाएको हो ।

कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुश्वाहा, उपप्रमुख नुरजहाँ खातुन, डिएसपी ज्ञानकुमार महतो, रातोपाटीकर्मी एवं कटहरिया एफएमका प्रमुख सञ्जय मिश्रा, पत्रकार सञ्जय साह, नागरिककर्मी मदन ठाकुर, पत्रकार राजु श्रीवास्तव, समाजसेवी नसरुदिन अन्सारी, ज्ञानेन्द्र कर्ण, लगायत दुुईदर्जन सञ्चारकर्मीहरुले रंग अबिर बहिष्कार गर्दै होली मिलन कार्यक्रम मनाएका हुन् ।

होली पर्वमा लगाइने अबिर र रंग सहितको पानीले भिजेर कारोनाको जोखिम बढन सक्ने भन्दै टिका र माला लगाएर पर्व मनाइएको आयोजक पक्षले जनाएको छ । उक्त अवसरमा वक्ताहरुले आफुहरुले होली पर्व मनाएजस्तै भोली तराईमा मनाईने पर्व होलीमा रंग अबिरको प्रयोग नगरी सबै सुरक्षित हुन आग्रह गरेका थिए । कार्यक्रममा भारत र चीनमा कोरोना ससंक्रमणले महामारीको रुप लिसकेको अवस्थामा नेपालमा हालसम्म संक्रमित नभेटिनु सौभाग्य रहेको वक्ताहरुले बताएका थिए । वक्ताहरुले सर्वसाधारणलाई हात नमिलाई नमस्कार गर्न समेत आग्रह गरेका थिए । 

कार्यक्रममा ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख, डिएसपी ज्ञान कुमार महतोले कोही कसैलाई जबरस्ती रंग–अबिर र फोहर पानी न छयाप्न आग्रह गरे । उनले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन नगर्न र अनिवार्य हेलमेट लगाई २ जनाभन्दा बढी मोटरसाईकलमा नचढ्न अनुरोध गरेका थिए । महतोले तिब्र गतिमा सवारी नचलाउन, चर्को आवाजमा म्युजिक नबजाउन, होली खेल्दा सामाजिक सद्धभाव कायम राख्न समेत  अनुरोध गरेका थिए ।

कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा र उपप्रमुख नुरजहाँ खातुनले टिका र गम्छा ओढाएर सञ्चारकर्मीलाई सम्मान समेत गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप