सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन शुरु

मङ्गलबार, २७ फागुन २०७६, १९ : १८
मङ्गलबार, २७ फागुन २०७६

काबुल । अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको एक अमेरिकी सैनिक अधिकारीले मङ्गलबार बताएका छन् । अफगानिस्तानमा हिंसा र राजनीतिक सङ्कट गहिरिँदै गए पनि काबुल र तालिबानबीचको प्रस्तावित शान्ति वार्ता हुनुअघि अमेरिकी सैनिक फिर्ता हुन थालेका हुन् । 

संयुक्तराज्य अमेरिका आफ्नो सबैभन्दा लामो द्वन्द्व अन्त्य गर्न उत्सुक छ । दोहामा गत महिना अमेरिका र तालिबान समूहबीच सम्पन्न सम्झौताको शर्तमा १४ महिनाको अवधिभित्र अमेरिकी समेत सबै विदेशी सैनिक अफगानिस्तानबाट फिर्ता हुने उल्लेख छ । तर यसको बदलामा तालिबानीले सुरक्षाको प्रत्याभूति गर्नु पर्नेछ । 

सम्झौता अन्तर्गत, अमेरिकाले जुलाईको मध्यसम्ममा अफगानिस्तानमा तैनाथ कूल १२ हजार सैनिकमध्येबाट ८ हजार ६०० मात्र राख्ने र बाँकी करिब ५ हजार फिर्ता गर्ने उल्लेख छ । अमेरिकाले एक अनुमान अनुसार अफगानिस्तानका २० अमेरिकी सैन्य अखडामध्ये पाँच वटा बन्द गर्नेछ । 

नाम बताउन नचाहने एक सैनिक अधिकारका अनुसार अमेरिकी सेनाले दक्षिणको हेल्मान्ड प्रान्तको राजधानी लश्करगाह र पश्चिमी हेरात प्रान्तको सैनिक अखडा छाड्न थालेको छ ।  अफगानिस्तानका लागि अमेरिकी सेनाका प्रवक्ता कर्णेल सन्नी लेगिटले अमेरिकी सैनिकले अफगानिस्तानमा आतङ्कवाद विरुद्धको अभियान र अफगान सेनालाई गरिरहेको सहयोगलाई निरन्तरता दिने बताए ।

छिमेकी कान्धाहार प्रान्तसँगै जोडिएको हेल्मान्ड प्राप्त तालिबानीको गढ मानिन्छ । यहाँ १८ वर्षे द्वन्द्वमा अमेरिकी र बेलायती सेनाले तालिबानसँग भिषण रक्तपातपूर्ण युद्ध लडेका थिए ।  हेल्मान्ड प्रान्तका गभर्नरका प्रवक्ता ओमर ज्वाकले एएफपीलाई सप्ताहान्तमा २० देखि ३० जना विदेशीले लश्करगाह छाडेको बताए । 

अमेरिका र तालिबानबीच सम्झौता भएपछि पनि तालिबान समूहले अफगान सैनिकमाथि ठाउँठाउँमा हमला गरेका छन् तर यी हमला रोक्न अमेरिकी सेनाले खासै तत्परता देखाएको छैन । 

काबुलमा अराजकता

अमेरिकी सैनिक फिर्ती सम्झौताको शर्त अन्तर्गत तालिवान समूहले इस्लामिक स्टेट समूह र अलकायदा जस्ता जिहादीहरूलाई नियन्त्रण गर्नु पर्नेछ । साथै उनीहरुले अफगान सरकारसँग शान्ति वार्ता गर्नु पर्नेछ जुन मङ्गलबार सुरु हुनु पर्ने हो । 

तर काबुलमा अस्थिरता छ र तालिवानसँग वार्ता गर्न एकीकृत मोर्चा गठन गर्न असमर्थ देखिन्छ । सोमबार राष्ट्रपति असरफ घानीलाई दोस्रो कार्यकालको शपथ लिए । चुनावमा धाँधली भएको आरोप लगाएका उनका प्रतिद्वन्द्वी पूर्व प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले सोमबार नै समानान्तर समारोह आयोजना गरी प्रधानमन्त्रीको रूपमा शपथ लिए ।

अमेरिकाले अब्दुल्लाको शपथप्रति असन्तुष्टी जनाउँदै त्यसको निन्दा गरेको छ । अमेरिकाले तालिबानसँग वार्ता गर्नुअघि काबुलमा एकता कायम हुनुपर्नेमा जोड दिएको छ ।  अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले ‘समावेशी सरकार र एकताबद्ध अफगानिस्तानलाई प्राथमिकता दिनु नै मुलुकको भविष्यका लागि सर्वोपरी हो’ भनेका छन् ।

तालिबान र काबुल सरकारबीच शान्ति वार्ता यही मङ्गलबार शुरु हुनुपर्ने थियो तर तालिवान कैदीहरूको रिहाइको विवादले समस्या जकडिएको छ । विद्रोही तालिबानहरूले वार्ता अगाडि यस विषयलाई एक पूर्वशर्तको रूपमा अगाडि सारेका छन् तर घानीले अहिलेसम्म त्यसो गर्न इन्कार गरेका छन् ।

राष्ट्रपति घानीले मङ्गलबार यस विषयमा एक आदेश जारी गर्ने र वार्ता टोलीको विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको थियो । तालिवानका एक सदस्यले आफूहरूले मुक्त गर्नुपर्ने पाँच हजार युद्धबन्दीको एउटा सूची अफगान सरकारलाई बुझाएको बताएका छन् । 

तर उनले घानी सरकारले विश्वास गुमाउन थालेको आरोप लगाए । अफगान सरकारले ‘बुढा भएका, बिरामी वा जेल सजाय सकिएका कैदीहरूलाई मात्र रिहा गर्ने योजना बनाएको’ भन्दै त्यो अस्वीकार्य हुने उनको भनाई छ ।  तालिबानीका राजनीतिक प्रवक्ता सुहेल शाहीनले मङ्गलबार ट्वीट गर्दै कुनै पनि बन्दीलाई ‘हाम्रो प्रतिनिधिमण्डलले प्रमाणीकरण गरेपछि मात्र स्वीकार गरिने’ बताएका छन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप