शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सरकारले भन्यो– भिसा सकिए पनि चैत मसान्तसम्म घर फर्कन पाइँदैन

बिहीबार, ०६ चैत २०७६, १८ : २६
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । सरकारले बिदेशमा भिसा सकिएर नेपाल फर्कन चाहने नागरिकलाई पनि नेपाल प्रवेश गर्न नदिने स्पष्ठ पारेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका प्रवक्ता नारायण विडारीले भिसा सकिएका नेपालीलाई समेत अप्रिल १२ सम्म नेपाल आउन नदिने स्पष्ठ पारेका हुन् । 

बिहीबारको नियमित पत्रकार सम्मेलनका क्रममा पत्रकारले सोधेका जिज्ञासाको उत्तर दिँदै विडारीले संक्रमित भएका वा बिरामी परेकालाई देशबाट निकाल्न नपाइने विश्व स्वास्थ्य संगठनको सिद्धान्त भएको भन्दै सबैलाई त्यो अवधिसम्म सोही स्थानमा बस्न आग्रह गरे ।

‘संक्रमित हुनुभएको वा बिरामी पर्नुभएको व्यक्तिलाई कसैले पनि आफ्नो मुलुकबाट बाहिर निकाल्न मिल्दैन । जो जुन देशमा जहाँ हुनुहुन्छ, उहाँ नेपाली नागरिक हुनुहुँदो रहेछ भने पनि उहाँ त्यहीँ उपचारमा रहनुहुन्छ । उपचार भएर स्वाथ्यलाभ गर्नुहुन्छ’ उनले भने । संक्रमित यसमा उपचार लगायत जे गर्नुपर्ने त्यही देशमा गर्नुपर्छ । 

अहिले विदेशमै रहेर पनि संक्रमित नभए पनि उनीहरुलाई सो अवधिसम्म नेपाल फर्किने बाटो बन्द रहने समेत विडारीले स्पष्ठ पारे । ‘यो २० मार्चदेखि लागु हुनेगरी १२ अप्रिलसम्म उहाँहरु आउन पाउनुहुन्न यो प्रष्ठ हुनुस्, त्यसपछिको परिस्थिति फेरि विश्लेषण हुन्छ । संसारमा यो संक्रमणको प्रभाव र दक्षिण एशियामा पर्नसक्ने त्यतिबेलाको अवस्था हेरेर यो अवधि सर्न सक्छ, खुल्न खुल्न सक्छ । सुरुमा हामीले ५ देशको कुरा गर्यौं, पछि ८ देशको कुरा गर्यौं । हुँदैहुँदै आएर आधा आकाश, आधा संसारको कुरा गरिसकेका छौं ।’
 
अहिले सरकारले युरोप, पश्चिम एशिया, खाडी क्षेत्रका सबै मुलुक, पश्चिम एशिया, दक्षिण कोरिया र जापान लगायत ५५ मुलुकसँगबाट नेपाल आउन पूर्ण रुपमा बन्देज लगाएको छ । ती देशबाट सोझै आउने, तेस्रो मुलुकबाट ती देश हुँदै आउने र ती देशबाट जुनसुकै मुलुक ट्रान्जिट हुँदै आउने तीनै प्रकारको आवत जावतलाई सरकारले प्रतिबन्ध लगाएको छ । यसका कारण विदेशमा बस्ने भिसा सकिएर नेपाल आउन चाहने व्यक्तिलाई अप्ठ्यारो परेको छ । संक्रमण नभएका तर संक्रमणको जोखिममा रहेका व्यक्तिलाई यसले झन् त्रसित बनाएको छ । तर प्रवक्ता विडारी भन्छन् – ‘ती सबै मुलुकबाट यात्रा प्रतिबन्ध छ, त्यसैले अहिले यसलाई यही रुपमा बुझ्नुपर्छ ।’


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप