शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

तबलिगि जमातको बौलट्ठिपन,नेपाली मुस्लिम समुदाय र कोरोना रोकथाम

बिहीबार, ११ वैशाख २०७७, ०८ : १४
बिहीबार, ११ वैशाख २०७७

मन्दिर, मस्जिद, गुम्बा र चर्चहरु मान्छेका आआफ्नै आस्थाका स्थल हुन् l कोही मन्दिर जान्छन्, कोही मस्जिद र कोही गुम्बा अनि कोही चर्च जान्छन् l ती स्थलमा ईश्वर, अल्लाह, बुध्द वा येशु जसलाई पुकारे पनि वास्तवमा गरिने कामना भनेको मानव कल्याण नै हो l तर, दुर्भाग्यबश तिनै पवित्रस्थल महामारी फैलाउने स्थलमा परिणत भयो भने ?

कुनै धर्म र सम्प्रदायप्रति आक्षेप लगाउन खोजेको होइन, तर दुखको कुरा, अहिले मुस्लिम सुन्नि समुदायसँग सम्बन्धित तबलिगि जमातको बौलट्ठिपन तथा चरम लापरवाहीले केही मस्जिद र मदरसाहरु कोरोना संक्रमण स्थल बनेका छन् l

त्यो समुहको बलमिच्याईपूर्ण कार्यले भारत, पाकिस्तान, बंगलादेशका साथै हाम्रै नेपालमा समेत कोरोना संक्रमणको खतरनाक भुमरी देखिएको छ l उदयपुर तथा पर्सा जिल्लाका मस्जिदमा भेटिएका संक्रमितहरुले जोखिमको खतरा जटिल मोडमा पुर्याएको प्रष्ट हुन्छ l खतराको घन्टी हप्तौं अघि बजिसकेको भएपनि भारतसँगको खुल्ला सिमा कडाईकासाथ पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएकाले कोरोनाको संक्रमण नेपालमा पनि बनमा लागेको डढेलो झै फैलिन सक्ने संभावना बढेको छ l

भारतबाट सुरु भएको तबलिगि जमातको छाडा र गैर-कानुनी व्यवहारले क्रमश: अपराध उन्मुख स्वरुप लिन थालेको बिषयले भारतमा गम्भिर चिन्ता बढाएको छ l बैशाख ७, २०७७ अर्थात १९ अप्रिल साँझसम्मको भारतमा कोरोना संक्रमणको तथ्यांक हेर्दा कूल संक्रमित, १६,३६५ मध्ये करिब ४,९०० संक्रमित तबलिगि जमातकै कारणबाट फैलिएको बताईएको छ l त्यो भनेको कूल संक्रमणको ३०% हो ल भारतबाट तबलिगि जमातिहरुको ठुलै संख्या नेपालभित्र अबैध बाटोबाट लुकिछिपि छिरेको हुँदा यहाँ संक्रमण फैलिने त्राश बढ्नु स्वाभाविक हो l तबलिगि जमातिहरुसँग नेपाली मुस्लिम समुदायका धेरै मानिसहरु संसर्गमा आएकाले उनीहरुको सही  पहिचान र परीक्षण नभएसम्म त्राश, शंका  र भयको वातावरण सिर्जना हुने नै भयो l हामी कहाँ पहिचान भएका कोरोना संक्रमितमध्ये आधासरो तिनै तबलिगि जमातिहरु नै रहेका छन् l

यस्तो धरातलीय स्थितिमा राष्ट्रिय मुस्लिम आयोगले भने नेपालका कुनै पनि मस्जिद र मदरसाहरुमा तबलिगि जमातिहरु लुकेर बसेका छैनन् भनि स्पष्टीकरण दिएको छ । तर उदयपुर, पर्सा, कपिलवस्तुका मस्जिदहरुमा लुकिछिपि बसेका तबलिगि जमातिहरु भेटिनु र उनीहरुमा कोरोना पोजिटिभ प्रमाणितसमेत भएको खबरले आयोगले भनेको कुरा सरासर झुठो प्रमाणित गरिदिएको त छ नै, उसको विश्वसनीयतामै प्रश्नचिन्ह समेत लागेको छ l सूर्यलाई हत्केलाले छेक्न सकिदैन भन्ने तथ्य आयोगले स्वीकार गर्नु पर्ने हो !

बरु, मुस्लिम संघ नेपालले तबलिगि जमातीहरुलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्यानपिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । संघका अध्यक्ष अब्दुल सतारले नेपालमा रहेका तबलिगि अगुवाहरुलाई जुन जिल्लामा भएपनि परीक्षण गराएर कोरोनामुक्त रहेको प्रमाणपत्र लिन आग्रह गरेका हुन्, जुन स्वागतयोग्य छ ।

तर भौतिक तथा सामाजिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनले सुझाएको र विश्व समुदायले पालन गरिरहेको नियम बिपरित बंगलादेश  र पाकिस्तानमा आमरुपमा बन्दाबन्दी अवज्ञा गरी हजारौं हजार मानिस मस्जिद र सडकमा निस्किएको परिप्रेक्ष्यमा अध्यक्ष अब्दुल सतारको आग्रह कति पालन होला ?

बंगलादेश र पाकिस्तानमा बन्दाबन्दी अवज्ञाबाट ती मुलुकमा कोरोना संक्रमण विकराल हुन पुग्यो भने त्यसको लप्काले पनि हामीलाई छुने खतरा अर्कोतर्फ छँदैछ l खासगरी नेपाल र बंगलादेशको सिमानाको दुरी निकै कम भएको र नेपाल-भारतबीचको कुखुरे घाँटी  ( chicken neck) बाट भारत हुँदै नेपाल छिर्ने क्रम पहिलेदेखिकै हो l अब त्यो खतरा झनै बढेको छ l केही समयअघि, म्यानमारबाट धपाइएका भनिएका रोहिंगा  मुसलमानहरु बंगलादेशबाट अबैध रुपमा भारतमा  र त्यहाँबाट फेरि अबैध रुपमा नेपाल आइपुगेको ज्वलन्त दृष्टान्त छ l त्यस्तै पाकिस्तानबाट पनि अवैध बाटो हुँदै संक्रमित व्यक्ति नेपाल आई पुग्दैनन् भन्न सकिन्न l

शंकास्पद व्यक्तिहरु भारतबाट अवैध रुपमा नेपाल छिर्ने र नेपालबाट पनि अवैध रुपमा भारत छिर्ने गरेको यथार्थताप्रति दुबै देशका सरकार अनभिज्ञ छैनन् l वर्तमान संगिन स्थितिमा नेपालले भारतसँगको खुला सिमाना पूर्ण रुपमा नियन्त्रण गर्न नसक्ने हो भने कोरोना महामारीमाथि बिजय प्राप्त गर्ने कुरा नसोचे पनि हुन्छ l कोरोना महामारीको यो कठीन मोडमा सरकारको मात्र होइन, सम्पूर्ण नेपाली जनताको संयुक्त र एकाकार प्रयास भएन भने संक्रमणको चक्रिय फैलावटबाट हजारौं नेपालीको मृत्यु हुने र देश भयंकर बिग्रहको चपेटमा पुग्ने निश्चित छ l

कोरोना संक्रमणले धर्म, जात, रंग, देश, क्षेत्र केही नछुट्ट्याउने तथ्य आत्मसात गरी संकटको यस घडिमा सबै नेपाली एक जुट भई यो महामारीमाथि बिजय प्राप्त गर्न इमान्दारीसाथ सरकारले चाल्ने कदममा सहयोग गर्नु पर्छ l नेपाली मुस्लिम समुदायले पनि सदिऔंदेखि नेपालका हिन्दु, बुद्धिष्ट र मुस्लिम धर्माबलम्बीबीच कायम भाईचारा र सद्भावको सम्मान गर्दै नागरिक दायित्व निर्बहन गर्नु जरुरी छ l

तबलिगि जमातिहरुले नियतवश वा अन्जानमा जसरी भएको भएपनि  सरकारी नीति विपरित बन्दाबन्दी आदेश उल्लंघन गरेका छन् l यस्तो गैर-कानुनी कॄयाकलापमा नेपाली मुस्लिम समुदायको ठूलो हिस्सा असहमत छ l तर, एकले बिराउने सयलाई पिराउने भनेजस्तै स्थिति जनमानसमा देखापर्ने सम्भावना नकारीहाल्न नमिल्ला l त्यसै समुदायको एउटा सानो समुह तबलिगि जमातको बौलट्ठिपन तथा चरम लापरवाहीले गर्दा सम्पूर्ण मुस्लिम समुदायप्रति जनमानसमा शंका र रोषको वातावरण सॄजना नहोस् भन्ने तर्फ आम नेपाली सतर्क  रहनु आवश्यक छ l

आशा छ, नेपाली मुस्लिम समुदायभित्रको तबलिगि जमातले पनि सरकारी नीति, निर्णय र आदेश पालनामा सहयोग पुर्याउने छ l त्यसो भएमा कोरोनामाथि बिजय प्राप्त गर्न सुगम त हुने छ नै, हाम्रो मुलुकमा विद्यमान साम्प्रदायिक सद्भाव पनि अक्षुण रहनेछ l

Picture source: https://media.voltron.voanews.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डिल्लीरमण ढकाल
डिल्लीरमण ढकाल
लेखकबाट थप