मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

ओबामाले तोडे परम्परा, यसपटक सार्वजनिक रुपमा नै ट्रम्पमाथि बर्सिए

आइतबार, ०४ जेठ २०७७, १० : ०७
आइतबार, ०४ जेठ २०७७

अमेरिकाका पूर्व राष्ट्रपति बराक ओबामाले कोभिड–१९ को महामारीसँग जुध्नका लागि ट्रम्प प्रशासनको काम कारवाहीको कडा आलोचना गरेका छन् ।

ओबामाका अनुसार ट्रम्प प्रशासनका केही अधिकारीले त जिम्मेवारी निभाइरहेको छु भनेर ढोंगसमेत गरिरहेका छैनन् ।

पूर्व राष्ट्रपतिले सो कुरा कलेज र विश्वविद्यालयमा पढ्ने अश्वेत विद्यार्थीको दिक्षान्त समारोहलाई अनलाइनमार्फत् सम्बोधन गरिरहेका बेला भनेका हुन् ।

 ओबामाका अनुसार श्वेत व्यक्तिको तुलनामा अश्वेत समुदायमा कोरोनाको जुन भयानक असर परिरहेको छ, त्यसले अमेरिकी व्यवस्थाको कमीलाई उजागर गरेको छ ।

कोभिड–१९ को महामारीका बेला ओबामाले सार्वजनिक रुपमा सम्बोधन गरेको कमै देखिएको छ ।

 ओबामाले विद्यार्थीसमक्ष भने, ‘जिम्मेपार पदमा बसेका मानिसहरुले के गरिरहेका छन् भनेर यो महामारीले एउटा कुरा त स्पष्ट पारिरहेको छ । तीमध्ये धेरै मानिसहरु यस्ता छन् जसले आफू कुनै कुराका लागि जिम्मेवार छु भनेर देखावटी समेत गरिरहेका छैनन् ।’

अमेरिकी स्वास्थ्य व्यवस्थाः

शनिबार पूर्व राष्ट्रपति बराक ओबामाले कोरोना संकटले अमेरिकी स्वास्थ्य व्यवस्थामा जातीय असमानता उजागर गरेको बताएका छन् ।

यसबारे ओबामाले भने, ‘यस्तो रोगले पहिले देखि नै विद्यमान असमानता उजागर गर्छ । यो देशमा अश्वेत व्यक्तिहरुले ऐतिहासिक रुपमा जुन स्थितीको सामना गर्नुपरेको छ, त्यसको बोझ भिन्न छ ।’

‘कोभिड–१९ को महामारीले हाम्रो समुदायलाई निकै असर पारिरहेको छ, हामी यसलाई यसैगरी हेर्छौं । यसै गरी हामी हेर्छौं कि एक अश्वेत व्यक्ति बिहान जगिङमा जान्छन् र केही मानिसहरुले ती व्यक्तिलाई रोक्न सक्ने, प्रश्न सोध्न सक्ने र जवाफ नपाएको भन्दै उनलाई गोली हान्न सक्ने सोच्छन् ।’

ओबामाले अहमद आर्बरीको हत्याको विषयमा उनको नाम नलिइकनै रोष व्यक्त गरे । २३ फेब्रुअरीमा जर्जियामा जगिङ गर्न जाँदा २५ वर्षका युवकको गोली हानी हत्या गरिएको थियो ।

डोनल्ड ट्रम्पमाथि टिप्पणीः

ओबामाले महामारीको प्रभावबारे कुरा गरिरहेका थिए । यद्यपि, उनले कसैको नाम लिएनन् ।

सन् २०१७ मा पद छोडेपछि बराक ओबामाले चर्चाबाट दुरी बनाएका थिए । सार्वजनिक रुपमा सायदै उनले यो बीचमा कुनै बयान दिएका छन् ।

उनी साधारणतया ट्रम्पमाथि कुनै टिप्पणी गर्नबाट बच्छन् तर मे ८ मा आफ्ना पूर्व सहयोगी र अधिकारीसँगको कुराकानीमा उनले ट्रम्पको कामकाजमाथि तिखो बयान दिएका थिए ।

उनले भनेका थिए, ‘कुनै व्यक्तिमाथि शपथ लिएर झुटो बोलेको आरोप लागोस् र उनलाई यत्तिकै छोडियोस् भन्ने कुराको कुनै उदाहरण खोज्न सकिँदैन । यो त्यस्तो कुरा हो, जसले तपाईंलाई चिन्तित बनाउँछ । यो निर्धारित प्रक्रिया वा नियम कानूनको कुरा मात्रै होइन यो कानूनको शासनको विषयमा हाम्रो आधारभूत बुझाईमाथिको खतरा हो ।’

त्यतिबेला ओबामाको इशारा राष्ट्रपति डोनल्ड ट्रम्पको त्यो निर्णयतर्फ थियो जसमा ट्रम्पले आफ्ना पूर्व सुरक्षा सल्लाहका माइकल फ्लिनविरुद्ध सबै आरोप रद्द गरेका थिए ।

कोरोनाभाइरसः

राष्ट्रपति ट्रम्पले अमेरिकाका पूर्व राष्ट्रपतिविरुद्ध आरोप लगाउन कहिले पनि हिच्किचाएनन् । यद्यपि, परम्परालाई ध्यानमा राख्दै अमेरिकाका पहिलो अश्वेत राष्ट्रपतिले अहिलेसम्म आफ्ना पूर्व राष्ट्रपतिलाई सार्वजनिक रुपमा आलोचना गर्नबाट बच्दै आएका थिए ।

तर यो महिनाको सुरुवातमा नै ओबामा र उनको प्रशासनका लागि काम गरिसकेका अधिकारीको एक अनलाइन कुराकानी सार्वजनिक भयो ।

उनले कोरोनाभाइरसबाट फैलिएको महामारीसँग ट्रम्प प्रशासन जुन तरिकाले जुधिरहेको छ त्यो विध्वंशतिर उन्मुख भएको बताएका थिए ।

ओबामाले उक्त वेब कलको क्रममा भने, ‘कुनै निकै राम्रो सरकार भएको भए पनि स्थिती खराब नै हुनसक्थ्यो । तर यदि कसैले ‘यसमा मेरो लागि के अवसर छ ?’ भन्ने धारणा राख्छ भने त्यो बर्बादीको बाटो हो ।’

अमेरिकामा कोरोनाभाइरसका १५ लाख बढी संक्रमित छन् र मृतकको संख्या साढे ८९ हजार पार भइसकेको छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप