केरुङ नाका खोल्ने सरकारको प्रक्रिया कहाँ पुग्यो ?
काठमाडौँ । विगत ५ महिनादेखि बन्द रहेको चीनसँगको रसुवा–केरुङ नाका अझै खुल्न सकेको छैन । गत डिसेम्बरमै चीनको ऊहान प्रान्तमा कोरोना भाइरस (कोभिड–१९)को प्रकोप देखिएसँगै बन्द गरिएको यो नाका चिनियाँ पक्षले नै नचाहँदा खुल्न नसकेको हो ।
कोरोनाका कारण बन्द गरिएको नाका सुरक्षा संवेदनशीलतालाई भन्दै चीनले खोल्न नचाहेपछि हालसम्म पनि सो नाका खुल्न नसकेको सरकारले जनाएको छ । सरकारले पटक पटक नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गरे पनि चिनियाँ पक्ष केरुङ नाका खोल्न तयार नभएको बरु वैकल्पिक रूपमा तातोपानी नाका प्रयोग गर्न सुझाएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले बताए ।
‘हामीले उत्तरतर्फका दुवै नाका खोल्न नचाहेका होइनौँ । यसका लागि चिनियाँ पक्षसँग बारम्बार वार्ता गरिरहेका छौँ । तर चिनियाँ पक्षले नै केरुङ नाका खोल्न चाहेको छैन ।’ महानिर्देशक दाहालले भने, ‘कोरोनापछि बन्द रहेको केरुङ नाका खोल्न उद्योग मन्त्रालयले चिनियाँ पक्षलाई पत्र समेत काटिसकेको छ । तर उता (चीन)बाट सकारात्मक उत्तर आएको छैन । बरु वैकल्पिक नाकाको रूपमा तातोपानीलाई प्रयोग गर्न चीनले भनिरहेको छ,’ महानिर्देशक दाहालले भने ।
त्यसो त तातोपानी नाका सञ्चालनमा आएको पनि धेरै भएको छैन । २०७२ सालको भूकम्पपछि रोकिएको यो नाका करिब ५ वर्षपछि गत भदौ असोज ताकाबाट मात्र सञ्चालनमा ल्याइएको हो । लामो समय बन्द रहेर भर्खरभर्खर मात्र सञ्चालनमा आएको सो नाका खुल्दा नखुल्दै कोरोनाका कारण पुनः समस्यामा फसेको छ । हाल चीनसँग जोडिएको एउटै वैकल्पिक नाकाका रूपमा तातोपानी नाका रहे पनि कोरोनाका कारण सो नाकाबाट प्रयाप्त मालसामान आयात हुन नसकेको तातोपानी भन्सार कार्याल प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
हाल तातोपानी नाकाबाट दैनिक १५–१६ वटा मालबाहक कन्टेनरहरुले मात्र सामान उठाइरहेको भन्सार प्रमुख खत्रीको भनाइ छ ।
‘अहिलेको समयमा उत्तरतर्फको एउटै वैकल्पिक नाका तातोपानी नाका नै हो । गत डिसेम्बरमा चीनमा कोरोना देखिएसँगै बन्द गरिएको केरुङ नाकाको विकल्पमा समेत तातोपानीको प्रयोग हुँदै आएको छ । तर वैकल्पिक एउटै नाका हुँदा समेत यो नाकाले अपेक्षित उपलब्ध हासिल गर्न सकिरहेको छैन ।’ भन्सार प्रमुख खत्रीले भने, ‘कोरोनाकै कारण चिनियाँ सामानको आयात ८० प्रतिशतले कटौती भएको छ । पहिलेको तुलनामा हाल करिब २० प्रतिशत मात्र सामान आयात भइरहेको छ ।
हाल चीनबाट अत्यावश्यक मेडिकल सामग्री, खाद्यान्न र फलफूल बाहेक अन्य रेडिमेड फेन्सी तथा ठूला मेसिनरी सामग्री केही आएका छैनन् । जसले गर्दा राजस्व सङ्कलनमा समेत गम्भीर धक्का लाग्न पुगको छ,’ भन्सार प्रमुख खत्रीले भने ।
खत्रीका अनुसार तातोपानी भन्सार कार्यालयले हाल सरदर दैनिक ६ करोड रूपैयाँ राजस्व उठाइरहेको छ । कोरोनापछि मात्र तातोपानी भन्सारले कुल ३ अर्ब ५० करोड रूपैयाँ राजस्व उठाइसकेको छ ।
चालक, सहचालकले क्वारेन्टाइनमा बस्न नमान्दा नाका खोल्न अस्वीकार
कोरोनापछि पूर्णतः बन्द गरिएको रसुवाको केरुङ नाका चिनियाँ पक्षले खोल्न नमाने पनि त्यसको कारक नेपाली पक्ष नै भएको केरुङ भन्सार कार्यालय प्रमुख पुण्य विक्रम खड्काको भनाइ छ । कोरोनापछिको सुरक्षा संवेदनशीलतालाई कारण देखाउँदै चिनियाँ पक्षले बन्द गरेको नाका नेपालबाट जाने मालबाहक गाडी कन्टेनरका चालक सहचालक लगायतका व्यापारीहरुले अनिवार्य क्वारेन्टाइनमा बस्न नमानेपछि चिनियाँ पक्ष नाका खोल्न राजी नभएको खड्काको भनाइ छ ।
‘खासमा रसुवा–केरुङ नाका खोल्न नचाहेको होइन । सरकारी पक्षबाट पनि प्रयासहरु भइरहेका छन् । तर उता (चिनियाँ) पक्ष नै तयार भएका छैनन् । यसको पछाडि हामी नेपालीहरु नै हौँ । कोरोनापछि सुरक्षा संवेदनशीलतालाई देखाउँदै बन्द गरेको नाका खोल्न चिनियाँ पक्षले सुरक्षा सर्त राख्दै हाम्रा कन्टेनर, चालक सहचालकलाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा बसेर मात्र बोर्डर पारि जान पाउने सर्त राखेको थियो । तर हाम्रा कन्टेनरहरुले मानेन् । जसका कारण चिनियाँ पक्ष राजी भएनन्,’ भन्सार प्रमुख खड्काले रातोपाटीसँग भने ।
त्यसो त यता तातोपानी नाकामा पनि सुरक्षा संवेदनशीलतालाई चिनियाँ पक्षले कडाइकासाथ लागू गरेको छ । आधारभूत सुरक्षाका नियमहरु पालना नगर्नेलाई बोर्डमा प्रवेश निषेध गरिएको छ ।
नेपाली र नेपाली कन्टेनरलाई बोर्ड पारमा निषेध
वैकल्पिक नाकाका रूपमा एउटै नाका खासाको तातोपानी नाका प्रयोग गर्न दिए पनि चिनियाँ पक्षले नेपाली र नेपाली कन्टेनरहरुलाई चीन प्रवेशमा निषेध (रोक) लगाएका छन् । नेपालबाट जाने कुनै पनि कन्टेनरहरुले चीन प्रवेश पाउँदैनन् । बरु चीनले बोर्डरसम्म माल सामान ल्याइदिने व्यवस्था गरेको छ ।
तातोपानी नाका भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार बोर्डरपारिसम्म उताका कन्टेनरहरुले सामान ल्याउँछन् र अनलोड (झार्ने) गर्छन् । न्यूनतम ३० मिनेट पछि यताबाट गएका कन्टेनरहरु त्यहाँ गएर पुनः मालसामान लोड गरेर फर्कन्छन् ।
‘कोरोनाको सङ्क्रमण नफैलियोस् भनेर सीमा बोर्डमा मालसामान राख्न अस्थायी स्टोरको व्यवस्था गरिएका छ । जहाँ उताबाट आएकाले सामान झारेर जान्छन् र केही समयपछि यताबाट गएका कन्टेनरहरुले लोड गरेर फर्किन्छन् ।’ भन्सार प्रमुख खत्रीले भने, ‘उक्त स्टोरसम्म जान पनि चालकदेखि सहचालक र गाडीले समेत पूर्णतः सुरक्षाका जाँचपास गरेको हुनुपर्छ ।’
केरुङ नाका बन्द हुँदा ७ अर्ब बराबरको नोक्सान
उत्तर तर्फको केरुङ नाका बन्द हुँदा राज्यलाई झण्डै ७ अर्ब रूपैयाँ बराबरको राजस्व नोक्सान हुनपुगेको छ । गत माघबाट बन्द हुनपुगेको सो नाकाबाट चालू आर्थिक वर्षको अन्त्यसम्ममा करिब १२ अर्ब रुपैयाँ बराबरको राजस्व उठाउने सम्भावना हुँदाहुँदै कोरोनाका कारण उक्त अवसर गुमेको भन्सार प्रमुख पुण्य विक्रम खड्काको भनाइ छ ।
‘लक्ष्यभन्दा बढी राजस्व उठाउने मध्येकै एक भन्सार नाका केरुङ हो । यसले गत वर्ष मात्रै झण्डै २० प्रतिशतले लक्ष्यभन्दा बढी राजस्व उठाउन सफल भएको थियो । त्यो सम्भावना यस पटक पनि थियो ।’ भन्सार प्रमुख खड्काले भने, ‘चालू आर्थिक वर्ष अन्त्यको ५ महिना अगावै केरुङ भन्सार कार्यालयले लक्ष्यको करिब ८५ प्रतिशत राजस्व उठाइसकेको छ । माघको १५ गतेदेखि बन्द रहेको भन्सारले माघ १५ अगावै ७ अर्ब ९० करोड रूपैयाँ राजस्व उठाइसकेको छ । बाँकी ५ महिनामा ५–७ अर्ब नउठ्ने भन्ने थिएन । जुन कोरोनाका कारण गुम्न पुगेको छ,’ खड्काले भने ।
भन्सार प्रमुख खड्का अनुसार केरुङ भन्सार कार्यालयको यस वर्षको राजस्व लक्ष्य कुल ९ अर्ब ३५ करोड मात्र हो ।
सन् २०१९ को डिसेम्बरमा नै चीनमा कोरोनाको प्रकोप देखिने वित्तिकै बन्द गरिएको रसुवा केरुङ नाका खोल्ने पहल सरकारी स्तरबाट भइरहेको तर विविध कारणबस खुल्न नसकेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले बताउँछन् । नाका पूर्णतः बन्द नभए पनि केही प्राविधिक समस्याका कारण मालसामान आयात निर्यात हुन नसकेको उनको भनाइ छ ।
‘चीन तर्फको केरुङ नाका बन्द नै भएको अवस्था भने होइन । केही प्राविधिक गडबढीका कारण मालसामान आयात निर्यात हुन मात्र नसकिरहेको अवस्था हो । यसका लागि हामीले तीव्र पहल गरिरहेका छौँ । आवश्यक चिनियाँ पक्षसँग छलछल जारी राखेका छौँ ।
केही हाम्रा स्थानीय समुदाय र केही चिनियाँ पक्षहरुको अडान र विरोधका कारण रोकिएको अवस्था हो । यो समस्या छिट्टै समाधान गर्नेतर्फ सरकार अघि बढेको छ । अबको केही समयभित्रै समस्या समाधान हुन्छ र नाका खुल्छ,’ सचिव अर्यालले रातोपाटीसँग भने ।
यता भन्सार विभागका महानिर्देशक सुमन दाहालले पनि रसुवाको केरुङ नाका खुलाउन सरकारी स्तरबाट द्विपक्षीय, त्रिपक्षीय पहल भइरहेको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने