शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

दक्षिण चीन सागरमा चिनियाँ सेनाको आमने–सामने हुँदै अमेरिकी युद्धपोत

शुक्रबार, ०५ असार २०७७, ०० : ००
शुक्रबार, ०५ असार २०७७

एजेन्सी । अमेरिकाले प्रशान्त महासागरमा ३ वटा युद्धपोत परिचालन गरेको छ । चीनको सरकारी अखबार ग्लोबल टाइम्सका अनुसार अमेरिकाको यो कदमबाट दक्षिण चीन सागरमा चिनियाँ सेनामाथि खतरा बढेको छ ।

अमेरिकी युद्धपोतहरु तैनाथ भएलगत्तै चिनियाँ नौसेनाका विशेषज्ञ ली जीले भनेका छन्– ‘अमेरिका यो ढंगले प्रशान्त क्षेत्र लगायत सम्पूर्ण विश्वमा आफुलाई सबैभन्दा शक्तिशाली नौसेना शक्तिका रुपमा देखाउने कोसिस गरिरहेको छ । उनीहरु (अमेरिकी नौसैनिक) यति नजिक छन् कि जतिबेला पनि चीन सागरमा घुस्न सक्छन् ।’

चिनियाँ नौसेना विशेषज्ञहरुका अनुसार प्रशान्त महासागरमा अमेरिकी युद्धपोतहरुको उपस्थितिले स्प्राटली र पारसल टापुमा रहेका चिनियाँ सेनामाथि खतरा देखिएको छ र ती टापुहरुमा जाने जहाजहरु पनि जोखिममा परेका छन् । 

अमेरिका भन्छ– युद्धपोत तैनाथ गर्नुमा कुनै राजनीतिक कारण छैन 
अमेरिकाले प्रशान्त महासागरमा युद्धपोतको तैनाथी गर्नुमा कुनै राजनीतिक कारण नभएको बताएको छ । अमेरिकी नौसेनाका प्रवक्ता कमाण्डर रियन मोम्सेनले भने– ‘अमेरिकी नौसेना प्रशान्त क्षेत्रमा हरेक दिन सक्रिय रहन्छ । यस क्षेत्रमा हामी आफ्ना मित्रहरुलाई सहयोग गर्न हामी उपस्थित भएको हौं । विगत ७५ वर्षदेखि अमेरिकी जहाजहरु नियमित रुपमा दक्षिण चीन सागर, पूर्वी चीन सागर र फिलिपिन्स सागरमा गस्ती गर्दै आएका छन् । यो प्रशान्त महासागरमा सुरक्षा व्यवस्था र शान्ति कायम गर्ने हाम्रा धेरै तरिकाहरुमध्ये एक हो ।’

दक्षिण चीन सागरमा अमेरिका र चीनबीच विगत देखिनै तनाव हुँदै आएको छ । यो वर्ष अप्रिल ६ मा चीन र अमेरिकी युद्धपोतहरु १०० मिटरको दूरीमा आमने सामने भएका थिए । सन् २०१८ अक्टुबरमा पनि एक चिनियाँ युद्धपोत अमेरिकी युद्धपोतभन्दा ४१ मिटर नजिक पुगेको थियो ।

सन् २०१८ मा अमेरिकी विमानले दक्षिण चीन सागरमा उडान भरेको थियो । यो उडानप्रति चीनले तत्काल आपत्ति जनाएको थियो । दक्षिण चीन सागर एक विवादित समुद्री क्षेत्र हो । जुन क्षेत्रमा चीन, भियतनाम, फिलिपिन्स र ताइवाले आ–आफ्नो दावी गर्दै आइरहेका छन् । यद्यपि, यो अहिले चीनको कब्जामा रहेको छ ।

अमेरिकाले अहिले त्यहाँ थिओडोर रुजवेल्ट, रोनाल्ड रेगन र निमित्ज र निमित्ज युद्धपोत तैनाथ गरेको छ । अमेरिकी नौसेनाका अनुसार रेगन र रुजबेल्ट पश्चिमी प्रशान्त महासागरमा तैनाथ गरिएको छ भने निमित्ज युपोत पूर्वी चीन सागरमा तैनाथ गरिएको छ । ३ वटा युद्धपोतको वजन १ लाख टन रहेको बताइएको छ भने ६० वटा लडाकू विमानहरु तैनाथ रहेका छन् । सन् २०१७ मा उत्तरकोरियासँगको विवाद चर्किएपछि पहिलोपटक यो क्षेत्रमा अमेरिकाले आफ्ना युद्धपोतहरु तैनाथ गर्न सुरु गरेको थियो ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप