रुसी राष्ट्रपति पुटिनको पक्षमा आयो जनमत, अब सन् २०३६ सम्म शक्तिमा

एजेन्सी । रुसमा राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल लम्ब्याउनेगरी जनमत आएको छ । झण्डै एक हप्ता लामो मतदानपछि बिहीबार सार्वजनिक भएको नतिजाअनुसार राष्ट्रपति पुटिन आगामी सन् २०३६ सम्म शक्तिमै रहन पाउने भएका छन् ।
पुटिनलाई लामो समयसम्म शक्तिमा राख्नेगरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो । नयाँ मतादेशले संविधान संशोधनको प्रस्तावलाई अनुमोदन गरेकाले रुसको संविधानमा केही संशोधन भएको छ ।
संविधान संशोधनसम्वन्धी प्रस्ताव राष्ट्रपति पुटिनले गत जनवरीमा ल्याएका हुन् । त्यस प्रस्तावमा अहिले मात्रै मतदान भएको हो । शुरुमा गत अप्रिल २२ मा मतदान गर्ने तय भएपनि कोरोनाभाइरसको सङ्क्रमण फैलिँदै गएपछि गत जुलाई १ का लागि तय गरिएको थियो । तर त्यतिबेला पनि हुन नसकेपछि सरेर अहिले मतदान गरिएको जनाइएको छ ।
मतदानका लागि एक हप्तासम्म मतदान केन्द्रहरु खुल्ला गरिएको थियो भने मतदान गर्ने बेलामा भिडभाड नहुने व्यवस्था गरिएको थियो । मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ । प्रत्येक कार्यकाल ६ वर्षको हुने भएकाले उनले अर्को १२ वर्ष रुसमा शासन गर्ने कानूनी बाटो खुलेको छ ।
राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो । तर संविधानको नयाँ व्यवस्थाले २०२४ देखि थप छ वर्षे दुई कार्यकाल थपेकाले उनको कार्यकाल अव सन् २०३६ सम्म सुनिश्चत भएको हो ।
अहिले ६७ वर्ष हुनुभएका पुटिनले रुसमा गत दुई दशकदेखि शासन गर्दै आएका छन् । उनी रुसी जनताका बीचमा अति लोकप्रिय मानिन्छन् । उनलाई थप दुई कार्यकाल शक्तिमा राख्ने प्रस्ताव सहितको संविधान संशोधनको यो प्रस्तावलाई संसदले यसअघि नै पारित गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका उपाध्यक्ष सियाओ नेपाल भ्रमणमा
-
बिदामा पनि पठनपाठन गर्न शिक्षा मन्त्रालयको अनुरोध
-
बङ्गलामुखीको बार आज कुन राशिलाई कति लाभ ?
-
गण्डकीको बर्खे अधिवेशन जेठ ११ देखि
-
वित्तीय जोखिम मूल्याङ्कनको रेड जोन माछापुच्छ्रेमा सबैभन्दा कम बेरुजु
-
चार वायुको प्रभाव नेपालमा, कहाँ-कहाँ छ वर्षाको सम्भावना ?