सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले धान रोपाइँमा सहयोग, कहाँ कति रोपाइँ सम्पन्न ?

शुक्रबार, ०२ साउन २०७७, १३ : १४
शुक्रबार, ०२ साउन २०७७

काठमाडौं । कोरानो भाइरसले विश्वकै अर्थतन्त्रलाई तहसनहस बनाइरहेको बेला कृषिमा भने आशा जागेको छ । कोरोना भाइरसको रोकथामका लागि सरकारले जारी गरेका लकडाउनका कारण धेरै क्षेत्र अस्तव्यस्त भए पनि कृषि क्षेत्रमा भने सकारात्मक परिणाम देखा पर्न थालेको छ । विगतका वर्षका तुलनामा यो वर्ष धान रोपाइँमा वृद्धि हुनु यसको एउटा उदाहरण हो ।

असार सकिएसँगै देशभर ८१ प्रतिशत भन्दा बढी धान रोपाइँ भइसकेको छ । जब कि गतवर्ष यो बेलासम्ममा ४० प्रतिशतमात्र रोपाइँ भएको थियो । 

समयमै धान रोपाइँ सम्पन्न हुनुको मुख्य कारण जनशक्तिको उपलब्धता नै हो । विगतका वर्षमा धान रोपाइँको समय जनशक्तिको निकै अभाव हुन्थ्यो । जनशक्तिको अभावका कारण रोपाइँमा ढिलो हुने र रोप्न नसकेर कतिपय जग्गा बाँझो समेत हुन्थ्यो । 

तर लकडाउनका कारण सहरका मान्छेहरु गाउँ पसेका कारण रोपाइँमा जनशक्तिको अभाव नभएको तथा समयमै रोपाइँ सम्पन्न भएको कृषि तथा पुशपक्षी विकास मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताए । ‘शहरका मान्छे गाउँ गएका छन्, विदेशबाट आएकाहरु पनि अहिले सबैजना गाउँमै छन् । खेतीबारी गर्न जनशक्तिको अभाव नभएका कारण रोपाइँमा यसपाली सहयोग पुगेको छ,’ उनले भने । त्यस अतिरिक्त यसपटक मनसुनले पनि साथ दिएको उनको भनाइ छ ।

उनका अनुसार समयमै मनसुन शुरु भएको बेलाबेलामा पानी परिरहेकै कारण किसानलाई धान रोप्न पानीको अभाव महसुस कहिल्यै भएन । यसपटक धान खेतीको क्षेत्रफल बढ्ने अनुमान पनि गरिएको छ । सरकारी तथ्यांक अनुसार नेपालमा १३ लाख ७१ हजार ७०६ हेक्टरमा धान खेती हुन्छ । विभिन्न कारणले सबै जमिनमा धान रोपाइँ हुँदैनथ्यो । 

कृषि मन्त्रालयको तथ्यांक अनुसार गतवर्ष १२ लाख ९५ हजार २८२ हेक्टरमा मात्र धान रोपाइँ भएको थियो । अर्थात त्यतिबेला ९४.४३ प्रतिशत धान रोपाइँ भएको थियो । यसपाली असारको अन्तिममा मात्र ११ लाख १९ हजार ९१ हेक्टरमा धान रोपाइँ भइसकेको छ । कतिपय ठाउँमा भदौ लाग्दासम्म पनि रोपाइँ गर्ने गरिन्छ । यसपाली शतप्रतिशत धान रोपाइँ हुने विश्वास मन्त्रालयले लिएको छ । 
समयमै धान रोपाइँ सम्पन्न भएपछि उत्पादनमा पनि वृद्धि हुने मन्त्रालयको विश्वास छ । यसपाली ६० लाख मेट्रिकटन धान उत्पादन गर्ने लक्ष्य कृषि मन्त्रालयले लिएको छ । ६० लाख मेट्रिक टन धान उत्पादन भयो भने देश चामलमा आत्मनिर्भर हुने मन्त्रालयको दावी रहेको छ ।

कहाँ कति रोपाइँ ?
असार ३१ गतेसम्ममा सातवटै प्रदेशमध्ये सबभन्दा बढी सुदुरपश्चिम प्रदेशमा ९१.८१ प्रतिशत रोपाइँ भएको छ भने भगौलिक हिसाबले सबभन्दा बढी रोपाइँ तराईमा ८४.२१ प्रतिशत भएको छ । 
उच्च पहाडी भूभागमा ७४.७६ र मध्यपहाडी ७५.१२ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ । 

धानको सुपर जोन रहेको प्रदेश १ मा ६९.९१ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । सबभन्दा बढी धान उत्पादन हुने प्रदेश २ मा हालसम्म ८३.४१ प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै वागमती प्रदेशमा ७२.१०, गण्डकी प्रदेशमा ८३.६९, प्रदेश ५ मा ८६.६०, कर्णालीमा ८६.८४ प्रतिशत रोपाइँ भइसकेको छ । 

गत वर्ष प्रदेश १ मा यसबेला ७ प्रतिशत रोपाइँ मात्र भएको थियो । गत वर्ष यो अवधिमा प्रदेश २ मा ३० प्रतिशत, वागमती प्रदेशमा ३१.०६ प्रतिशत, गण्डकी प्रदेशमा ७१ प्रतिशत, प्रदेश ५ मा ९५ प्रतिशत, कर्णाली प्रदेशमा ७० र सुदुरपश्चिम प्रदेशमा ५५.८४ प्रतिशतमात्र रोपाइँ भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप