त्रिशूली नदीको खतरनाक रुप, पुलमाथि पानी बग्यो

काठमाडौँ । पछिल्लो समय परेको निरन्तर वर्षाको कारण त्रिशूली नदी मडारिएको बगेको छ । त्रिशुली नदीमा रहेका झोलुङ्गे पुलदेखि पक्की पुलहरु उच्च जोखिममा परेका छन् ।
त्रिशूली नदीमा पानीको सतह बढेपछि चितवनको भरतपुर महानगरपालिका–१, दासढुङ्गाको पक्की पुल समेत खतरनाक अवस्थामा पुगेको छ । पक्की पुलको पिल्लर पुरै पानीमा डुबेको छ । गोरखा–धादिङ हुँदै बग्दै आएको बुढीगण्डकी नदी बेनिघाटमा मिसिएर सुरु हुने त्रिशुली नदी उर्लिएको हो ।
त्यस्तै भरतपुर महानगरपालिका–२९, सिमलतालमा रहेको झोलुङ्गे पुलको बीच भागलाई त्रिशुली नदीले नाघेको छ । सिमलताललाई तनहुँसँग जोड्ने पुलको मध्यभागमा बाढीले हिर्काइरहेकाले पुल बग्ने खतरा बढेको छ । बाढीले पुल छोएपछि त्यहाँ आवतजावत बन्द भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार त्रिशुली नदीमा रहेका सबै पुल उच्च जोखिममा छ । उनले भने, ‘सिमलतालमा रहेको झोलुङ्गे पुलको दुवैतिर रहेको पर्खालसमेत भत्किने अवस्थामा छ ।’
त्रिशुली नदी उर्लिएसँगै चितवन, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न क्षेत्रमा समेत बाढीको जोखिम बढेको छ ।
बिहान ५ बजेदेखिको वर्षाको कारण मुग्लिन–नारायणघाट सडकखण्डमा मात्र एक दर्जनभन्दा बढी ठाउँमा पहिरो समेत गएको इन्सपेक्टर भट्टले जानकारी दिए ।
सोमबार साँझ चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि आवतजावत नै ठप्प भएको छ । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूलो पहिरो खसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी
-
सरकार ! एउटा प्रेम अदालत गठन गर् !
-
दानव नदीमा डुबेर बेपत्ता तीनमध्ये एक जनाको शव फेला
-
रास्वपा नेताहरूले भैरहवा आएर भने – लुम्बिनीमा लगानीको सम्भावना छ
-
तीनकुने घटना : ‘सुरक्षा कमजोरी’बारे छानबिन गर्न समिति गठन