आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

बुधबार, ०७ साउन २०७७, १८ : ११
बुधबार, ०७ साउन २०७७

सप्तरी । सप्तरीको राजविराज नगरक्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । मंगलबार लकडाउन घोषणा गरेको नगरक्षेत्रमा बुधबार स्वास्थ्यकर्मीसहित १ दर्जनभन्दा बढीमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले बिहिबार विहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञाको घोषणा गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बिहिबार बिहान ५ बजेदेखि अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

बुधबार राजविराज नगरपालिका वडा नम्बर २ बस्ने ३१ वर्षीय युवक, वडा नम्बर ३ बस्ने ६३, ३२ र २३ वर्षीय पुरुष, वडा नम्बर ६ बस्ने ३२ र ३६ वर्षीया महिला एवम् ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण फेला परेको छ । त्यस्तै वडा नम्बर ७ बस्ने २० वर्षीय युवक र ४०, १७, १५ र १५ बर्षीया महिलामा कोरोना संक्रमण फेला परेको गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालले जनाएको छ । उता, सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–१ बस्ने एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

त्यस्तै,गजेन्द्रनारायणसिंह सगरमाथा अस्पतालका एक नर्स र एक स्वीपरलाईसमेत कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए । अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्स र एक स्वीपरमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए ।

राजविराजका एक जना व्यवसायीको केही हप्ताअघि कोरोना संक्रमणका कारण मृत्यु भएपछि उनका परिवारका ५ जना तथा उनको पसलमा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सप्तरीमा बुधबारसम्म कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने ४ सय २ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ३ सय १० जना निको भएर घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप