शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इतिहासमै पहिलो पटक ‘भर्चुअल अटो शो’ को तयारी गर्दै नाडा

शुक्रबार, १६ असोज २०७७, १५ : ३६
शुक्रबार, १६ असोज २०७७

काठमाडौं । अटोमोबाइल एशोसिएशन अफ नेपाल (नाडा) ले भर्चुअल अटो शो को तयारी थालेको छ । कोभिड–१९ का कारण प्रभावित वृहत ‘नाडा अटो शो २०२०’ स्थगन गरेको नाडाले भर्चुअल रुपमै भए पनि अटो शो गर्ने तयारी थालेको हो ।

अर्चुअल अटो शोका लागि यतिखेर आयोजक नाडा र अटो मोबाइल व्यवसायीहरु बीच छलफल चलिरहेको नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले रातोपाटीसँग बताए ।

‘कोभिड–१९ को विषम परिस्थितिका कारण यस पटक नाडा अटो शो आयोजना गर्न सकिएन । भौतिक रुपमा अटो शोको आयोजना गर्न नसकिएपनि भर्चुअल रुपमै भए पनि अटो शो गर्न सकिन्छ कि भन्ने हाम्रो सोचाइ होे । तर के कसरी गर्न सकिन्छ अहिले हामी प्रयत्न गर्दैछौँ । यदि सफल भइयो भने नेपाली अटोमोबाइल क्षेत्रमा इतिहास बन्नेछ,’ नडाका अध्यक्ष दुलालले भने ।

त्यसो त भर्चुअल अटो शोको प्रयोग छिमेकी मुलुक भारत र बंगलादेशमा समेत भइसकेको छ । उताको प्रयोगलाई हेरेर आवश्यक व्यवस्थापन गरे नेपाल पनि यो सम्भव हुने दुलालको भनाइ छ ।

हाल सोही अटो शोका लागि नाडा आन्तरिक गृहकार्य जुटेको छ । यदि भर्चुअल अटो शो हुने अवस्था आए अनलाइन मार्फत थ्रीडी भिजअुलका साथ गाडी प्रदर्शन गर्ने, गाडीको विशेषताको जानकारी दिने र सोहि भर्चुअल मञ्चबाट उपभोक्ताहरुले गाडी खरिद तथा बुकिङ्ग गर्न सक्ने र कम्पनी गाडी बेच्न सक्ने अध्यक्ष दुलालले बताए ।

‘अहिले पनि कम्पनीहरु आफ्ना नयाँ गाडीहरु अनलाइन मार्फत भर्चुअल रुपमै सार्वजनिक गर्दै आएका छन् । यसको प्रयोग समूहगत रुपमा अटो शो कै रुपमा दिन सकिन्छ कि भन्ने हाम्रो ध्यय हो । यदि त्यसो गर्न सकिए उपभोक्ता र व्यवसायि दुबैलाई फाइदा पुग्ने देखिन्छ’ अध्यक्ष दुलाले भने ।

यद्यपि भर्चुअल रुपमै अटो शो आयोजना हुने भनिएपनि तत्काल दसैँ–तिहारअघि भने हुने सम्भावना भने अब टरेको अध्यक्ष दुलालको भनाइ छ । अनुसन्धानकै क्रममा रहेको यो प्रयोग यदि सम्भव भए दसैँ–तिहार पछि मंसिर पुसमा मात्र आयोजना गर्न सकिने दुलालले जानकारी दिए ।

अटोमोबाइल क्षेत्रकै वृहत अटो शो सन् १९९८ देखि प्रत्यक वर्ष आयोजना हुँदै आएको छ । विशेष गरी दसैँ–तिहार लक्षित गरी आयोजना हुँदै आएको नाडा अटो शोको १५ औँ संस्करण यस पटक कोभिड–१९ का कारण प्रभावित हुन पुगेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप