बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा बन्धक बनाइ महिलाको हत्या, अपराधबाट बच्न मकवानपुरबाट नक्कली नागरिकता

सिन्धुपाल्चोकका विनयले कसरी लिए मकवानपुरबाट नागरिकता ?
मङ्गलबार, २० असोज २०७७, १३ : ५१
मङ्गलबार, २० असोज २०७७

काठमाडौँ । महानगरीय अपराध महाशाखाले महिलालाई बन्धक बनाई हत्या गर्ने फरार अभियुक्तलाई पक्राउ गरेको छ । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–११ बडेगाउँका ३५ वर्षीय विनय श्रेष्ठ भन्ने विनय माझी पक्राउ परेका हुन् ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाकाअनुसार विनयले २०७६ जेठ ५ गते सिन्धुपाल्चोक कर्थली–३ की ३६ वर्षीय पम्फा श्रेष्ठलाई आफू बस्दै आएको कोठामा बन्धक बनाई हत्या गरेको खुलेको छ ।

हत्यालगत्तै श्रेष्ठ फरार थिए । विनयलाई मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१४ नयाँबस्ती गौरीटोलबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको एसएसपी थापाले जानकारी दिए ।

विनयले सोमबहादुर राईको नामबाट जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता समेत लिएको खुलेकाले सो सम्बन्धमा समेत अनुसन्धान भइरहेको एसएसपी थापाले बताए ।

अपराधबाट बच्नको लागि विनयले मकवानपुरबाट नागरिकता लिएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी विनयले कसरी, कहाँबाट सोम बहादुर राईको नाममा नागरिकता लिए खुल्न सकेको छैन ।

प्रहरी अनुसन्धानको क्रममा विनयले पम्फालाई २०७६ वैशाख ३० गतेदेखि जबरजस्ती बन्धक बनाई जेठ ५ गते हत्या गरेका थिए । हत्यापश्चात कोठा बाहिरबाट ताल्चा लगाएर विनय फरार भएको थापाले बताए ।

कागेश्वरी नगरपालिका– गोठाटारस्थित रमेश श्रेष्ठको अस्थायी टहरामा बस्ने विनयको कोठामा लगाइएको ताल्चा फोडी हेर्दा पम्फा मृत अवस्थामा खाटमा फेला परेकी थिइन् । पम्फा काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीमा भाडामा बस्थिन् ।

सोही ठाउँमा पम्फाले सडक फुटपाथमा तरकारी बेच्थिन् । सोही क्रममा उनीहरुको चिनजान भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । चिनजानकै क्रममा नजिक भएका विनयले पम्फाको हत्या गरे ।

विनयमाथि कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानको लागि विनयलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको एसएसपी थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप