शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भत्ता नपाउँदा वृद्धवृद्धाको दसैं बन्यो ‘खल्लो’

बुधबार, १२ कात्तिक २०७७, १४ : ५४
बुधबार, १२ कात्तिक २०७७

सरकारले दिने वृद्धभत्ता आएपछि दसैं मनाउने भन्दै ढुक्क भएर बसेकी थिइन्, धादिङ ज्वालामुखी गाउँपालिकाकी ७७ वर्षीय नानीमाया गुरुङ । आयआर्जनको अरु केही स्रोत नभएको उनले अघिल्ला वर्षमा समेत यही भत्ताबाट दसैंखर्च टार्दै आएकी थिइन् । 

गुरुङमात्रै नभएर सामाजिक सुरक्षा भत्ता (वृद्धभत्ता) पाउने उमेर समूह र वर्गका नागरिकले पहिलो चौमासको भत्तालाई दसैंखर्चका रुपमा हेर्ने गर्थे । त्यस्तो भत्ताकै भरमा दसैंमनाउनेहरु पनि धेरै थिए । तर यो वर्ष नानीमाया गुरुङजस्ता हजारौं नागरिकको दसैंखल्लो भएको छ । जिल्लाका अधिकांश स्थानीय तहले दसैंअघि त्यस्तो भत्ता वितरण गरेका छैनन् ।

किन दिइएन वृद्धभत्ता ? 
अनिवार्य रुपमा बैंक खातामार्फत् मात्रै वृद्धभत्ता दिनुपर्ने नियम, कोष तथा लेखा नियन्त्रण कार्यालयले रकम निकासा गर्न गरेको ढिलाइका कारण त्यस्तो भत्ता समयमै वितरण गर्न नसकिएको स्थानीय तहहरुले बताएका छन् । ज्वालामुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्सालले वृद्धभत्ता दिने उमेर समूहको बारेमा संघीय सरकारले गरेको निर्णय र खाता नखोली बजेट निकासा नै नगर्ने व्यवस्थाका कारण वृद्धभत्ता वितरण गर्न नसकिएको बताए । 

‘सुरुमा हामीलाई अपांगता भएका व्यक्ति र एकल महिलालाई दिइने भत्ता रोक्नु भनेर परिपत्र आयो । फेरि पछि सबैलाई त्यस्तो भत्ता सबैलाई दिनु भन्ने परिपत्र आयो,’ लम्सालले भने, ‘यही अन्यौलताका कारण भत्ता वितरणमा ढिलाई भएको हो अब तिहारअघि सबैलाई दिइसक्छौं ।’

जिल्लाकै सिद्धलेख गाउँपालिकाले पनि वृद्धवृद्धालाई ‘दसैंखर्च’स्वरुप वृद्धभत्ता दिन सकेन । दसैंभन्दा अघि नै वृद्धभत्ता दिने प्रयास गरे पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल बताउँछन् । 
‘हामीले सकेसम्म छिटो वितरण गर्ने प्रयास गरेका हौं । तर कोलेनिका (कोष तथा लेखा नियन्त्रण कार्यालय) ले बजेट निकासा गर्न ढिला गरेका कारण सम्भव भएन । फुलपातीको दिनमात्रै कोलेनिकाको खाताबाट हाम्रो खातामा पैसा आयो । बैंकका कर्मचारीहरुले सबैको खातामा पैसा पठाइसकेका छन् । तर, बैंक बन्द भएकोले निकाल्न समस्या भयो’ अध्यक्ष सिलवालले भने ।  

उनले बैंक खाताबाटै वृद्धभत्ता दिने व्यवस्था गरे पनि बैंकका कर्मचारी मार्फत् सम्बन्धित ठाउँमै वृद्धभत्ता दिने व्यवस्था गर्ने समेत बताए । ‘हाम्रो नदिने नियत होइन, प्राविधिक कारणले ढिला भएको हो,’ सिलवालले भने ‘सक्नेले आजै आएर लैजान सक्नुहुन्छ, नसक्नेलाई दिन तोकेर सम्बन्धित ठाउँमै गएर वितरण गर्ने व्यवस्था मिलाउँछौं ।’

के भन्छ राष्ट्रिय परिचयपत्र विभाग ? 
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले भने सरकारले वृद्धभत्ताको रकम समयमै निकासा गरेको दाबी गरेको छ । विभागका प्रवक्ता शिवराज जोशीले भने एकल महिला र अपांगता भएका व्यक्तिबाहेक अरुको भत्ता समयमै पठाइएको बताए । ‘एकल महिला र नीलो परिचयपत्र भएका ‘ख’ वर्गको अपांगता भएका व्यक्तिहरुको बारेमा केही अन्यौल भएको हो, तर अरुको भत्ता समयमै गएको छ । यी दुई वर्गका लाभग्राहीको भत्तामा ढिलाई हुनु चाहिँ स्वभाविक नै हो । 

विभागले असोज ४ गते अति–अशक्त अपांगता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा वितरण गर्न नीतिगत अवरोध रहेको भन्दै यस्ता लाभग्राहीको नाम सूचना व्यवस्थापन प्रणालीबाट हटाउँदै त्यस्तो समूहलाई भत्ता वितरण नगर्न परिपत्र गरेको थियो । तर यो निर्णयको चर्को विरोध भएपछि सरकारले त्यो निर्णय फिर्ता लिइएको थियो । तर, सोही परिपत्रका कारण स्थानीय तहहरुमा भत्ता वितरण र लाभग्राहीको छनौटमा समस्या उत्पन्न भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप