सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

सत्ता, प्रतिपक्षीदेखि भूमिगत पार्टीसम्म आन्तरिक किचलो : स्वार्थको झगडा कि सिद्धान्तमा बेमेल ?

बिहीबार, ०४ मङ्सिर २०७७, ०७ : २०
बिहीबार, ०४ मङ्सिर २०७७

काठमाडौं । नेपालका राजनीतिक दलमा आन्तरिक किचलो स्थायी समस्याका रुपमा स्थापित छ । आन्तरिक विवाद, आरोप–प्रत्यारोप र विभाजनको श्रृङ्खला सामान्य राजनीतिक चेत भएकालाई खासै अनौठो विषय रहेन । राणा शासनको अन्त्य भएयताका पञ्चायत, बहुदलदेखि गणतान्त्रि व्यवस्थासम्म आइपुग्दा राजनीतिक पार्टीमा टुटफुट र आन्तरिक किचलोको श्रृङ्खला जारी छ ।

आन्तरिक विवादको चंगुलमा  अहिले पनि झण्डै दुई तिहाइ बहुमत रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) देखि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र भूमिगत रहेको विप्लव नेतृत्वको नेकपालगायतका पार्टीहरु फसेको पाइन्छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

उसो त आन्तरिक विवादका कारण नेकपा विभाजनको डिलमा छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘पत्र–युद्ध’को अवस्था सिर्जना भएको छ । यता कार्यकर्ता सामाजिक सञ्जालमा भिडिरहेका छन् ।

बहुमतको बलमा गत साता सचिवालय बैठक पेस भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ओलीको मन्जुरी छैन । बहुमत सदस्य उक्त प्रस्तावमाथि छलफल चलाएर ओलीसँग छिनोफानो गर्न रणनीतिमा देखिन्छन् ।

दुई पक्षीय रस्साकस्सी र आरोप प्रत्यारोपका बीच बुधबार ओलीसमेतको सहभागितामा सचिवालय बैठक बस्यो। यस्तो अवस्थामा नेकपाभित्रको अन्तरसंघर्ष विभाजनमा गएर टुंगिन्छ वा सम्झौतामा भन्न सकिने अवस्था छैन ।

नेपाली काँग्रेस

मुलुकको सबै भन्दा जेठो पार्टी काँग्रेस घरझगडाबाट ग्रसित छ । काँग्रेसको विगत र वर्तमान आन्तरिक कलहबाट निरपेक्ष छैन । बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको नेतृत्वले विभिन्न खालको विवाद झेलेको पाइन्छ । आन्तरिक विवादले विभाजनसम्म भोगेको काँग्रेसमा अहिले पनि अन्तरसंघर्ष जारी छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन काँग्रेसमा विवादको विषय बनिरहेको छ ।

१४ औं महाधिवेशन उन्मुख काँग्रेसमा नेताहरुका बीचमा देखिएको अविश्वास र शक्तिको लालसाले आन्तरिक विवाद सतहमा देखिन्छ । पछिल्लो एक वर्ष यसै विषयमा काँग्रेस गुज्रिन पुगेको छ । जो अहिले पनि जारी छ ।

तर काँग्रेसको पार्टी संगठन अस्तव्यस्त छ । संघीय संरचना अनुसार पार्टीको पूर्ण कमिटी छैन भने भ्रातृ तथा शुभेच्छुक संस्थाको हरिबिजोग छ । तर नेतृत्व पंक्तिमा संगठनको चिन्ताभन्दा भावी सभापतिको होडबाजी बलियो ढंगले उठिरहेको छ ।

जनता समाजवादी पार्टी

नवगठित जसपामा नेता कार्यकर्ताको समायोजन पेचिलो बनेको छ । मुलुकको तेस्रो राजनीतिक शक्तिका रुपमा स्थान बनाएको जसपाले पार्टी एकीकरणको ६ महिना बित्दा पनि केन्द्रीय कार्यसमितिसमेत बनाउन सकेको छैन ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन समाजवादी र महन्थ ठाकुरसहित ६ नेताको सामूहिक नेतृत्व प्रणालीमा चलेको राजपाबीच गत वैशाख १० मा एकीकरण बनेको जसपामा केन्द्रीय कार्यकारिणीबाहेक कुनै संरचना छैन । पार्टीका संरचना नहुँदा नेता विशेषका गतिविधिबाहेक संगठनको गतिविधि ठप्पजस्तै छ ।

जसपामा माथिल्लो तहका नेताहरूको व्यवस्थापन नहुँदा ७ सय ५१ सदस्यीय केन्द्रीय कार्यसमिति, १ हजार १ सय सदस्यीय संघीय परिषद्लगायत प्रदेश, जिल्ला, क्षेत्र र वडा तहसम्म समायोजन अलपत्र अवस्थामा छ । जसपामा ५१ जना नेताको पदीय बाँडफाँट नै नेताबीच रस्साकसी छ ।

महन्थ ठाकुर र उपेन्द्र यादवलाई अध्यक्ष तथा बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्षको जिम्मेवारी दिए पनि जसपामा बाँकी नेताहरुको जिम्मेवारी र पोजिसनको टुंगो छैन ।

संसदीय दलको नेतामा उध्यक्ष यादव र वरिष्ठ नेता राजेन्द्र महतोको रस्साकस्सी छ । जो सबैभन्दा पेचिलो बनेको देखिन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

आन्तरिक विवाद र विभाजनको अग्रस्थानमा आउने नाम हो राप्रपा । पूर्वपञ्चहरु सम्मिलित राप्रपाको विगत र वर्तमान विवाद र विभाजनले भरिएको छ ।

२०४७ सालमा पञ्चायतको अन्त्यपछि स्थापना भएको राप्रपा चौँथो पटक विभाजन भइ फेरि जोडिएको छ । राप्रपाको केन्द्रमा रहेका कमल थापा, पशुपतिशम्शेर राणा, प्रकाशचन्द्र लोहनीबीच बेला बखत खटपट जारी छ । पार्टीको चुनाव चिन्ह, झण्डा र पार्टी दर्ताको विषयमा राप्रपामा प्रकट भएको विवाद थापा र लोहनीद्वारा सार्वजनिक भएको थियो ।

अहिले पनि थापाले चुनाव चिन्ह गाई गुमाउनु पर्दाको पीडा बोध गर्दै आएको पाइन्छ ।

विप्लव समूह

भूमिगत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादबाट मुक्त छैन । पार्टी महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)बीच अन्तर संघर्ष जारी छ ।

प्रकाण्डले एकलौटी रुपमा विद्यार्थी, पत्रकार र स्वास्थ्यकर्मीको जनवर्गीय संगठन पुनर्गठन गर्दा समान्तर गतिविधि नेकपामा भइरहेको छ । साथै एकीकृत क्रान्तिको कार्यदिशाका विषयमा पनि नेकपामा मतभेद छ ।

‘सहर र गाउँबाट एकैपटक विद्रोह गर्नुपर्छ’ भन्ने विप्लवको मत छ ।

विप्लवको यो कार्यदिशा महाधिवेशनबाट पास भए पनि अहिले सुषुप्त रुपमा त्यसमाथि बहस हुन थालेको देखिन्छ । पार्टीका केही युवा नेता ‘तत्काल छापामार युद्धको अभ्यास गर्नुपर्ने’ लाइनमा छन् ।

तर, विप्लव महाधिवेशनबाट पारित नीतिअनुसार नै अघि बढ्न चाहन्छन् । यसले पनि नेकपामा विवाद बढाएको छ ।

साझा पार्टी

बीबीसीको जागिरबाट अवकाश लिएका रवीन्द्र मिश्रको संयोजकत्वमा २०७३ साउन ३ गतेबाट वैकल्पिक राजनीतिको नाममा उदायको साझा पार्टी पनि विवादको चक्रमा छ ।

विवेकशीलसँग २०७४ साउनमा पार्टी एकता गरको साझाले धेरै दिन टिकाउन सकेन । एकताको १७ महिनामै २०७५ पुसमा उनीहरुको बाटो छुट्टियो ।

त्यसपछि महाधिवेशनमार्फत् विवेकशील दलको नेतृत्व उज्ज्वल थापाले मिलन पाण्डेलाई हस्तान्तरण गर्दा मिश्रको नेतृत्वमा रहेको साझा पार्टीबाट भने नेताहरु बाहिरिने क्रम जारी छ ।

मिश्रले पार्टी स्थापनामा साथ दिएका ओमप्रकाश अर्याल, सरोज धिताल, जयभद्र खनाल, रेशु अर्याल ढुंगाना लगायतको साथ चाँडै गुमाए । आन्तरिक मतभेदका कारण पूर्वाधार विज्ञसमेत रहेका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले मिश्रको साथ छोडिसकेको अवस्था छ ।

यस्तै वामपन्थी राजनीतिक पृष्ठभूमिबाट वैकल्पिक राजनीतिमा छिरेका मुमाराम खनाल पनि साझाबाट केही अघि बाहिरिए । मिश्रको कार्यशैलीसँग अझै पनि बिमति राख्नेको साझामा कमी छैन ।

आन्तरिक विवादबारे विश्लेषकका तर्क

राजनीतिक दलका आन्तरिक विवादका तीन वटा कारण रहेको राजनीतिक विश्लेषक पुरञ्जन आचार्यको बुझाइ छ । सिद्धान्तमा विचलन, अपार्दशी कार्यशैली र आफू बाहेक कसैले पार्टी वा देश चलाउन सक्दैन भन्ने अहंकारले पार्टीहरुमा आन्तरिक कलह हुने गरेको उनको विश्लेषण छ ।

‘पहिलो– नेपालमा जुन उद्देश्यले आन्दोलनमा लाग्छन् बीचमा त्यसलाई छाडेर अर्को बाटोमा लाग्छन्  । यिनीहरु मिसन लेस हुन्छन् । सिद्धान्त लेस पनि हुन्छन् । दोस्रो– यिनीहरुको कार्यशैली हो । जे गर्न खोज्न लुकाएर गर्न खोज्छन् । जनताबाट पनि लुकाउने र कार्यकर्ताबाट पनि लुकाउने कार्यशैलीले पछि समस्या खडा गर्छ । तेस्रो–कारण आफू नै सर्व श्रेष्ठ हुँ भन्ने अहंकार र दम्भले यो देशको राजनीति बारम्बार बर्बादीको बाटोमा गएको छ । शक्तिमा पुगेपछि संविधान पनि मै, डाक्टर पनि मै, बुद्धिजिवी पनि मै सबै मै भन्ने देखिन्छ,’ आचार्यले भने ।

सात दशको यात्रामा राजनीतिक दल आन्दोलन गर्न सफल हुँदा पनि पछि आफै जनताको नजरमा गिर्नुको मुलत: यी तीन कारणले रहेको उनको भनाइ छ ।

सत्तामा पुगेपछि बिपी कोइरालाबाहेक कुनै पनि व्यक्ति क्रान्तिकारी भएर ननिस्केको आचार्यले सुनाए । प्रधानमन्त्रीले आफ्ना सहयात्रीलाई दास सम्झदा समस्या खडा हुने गरेको उनको बुझाइ छ । पार्टीभित्रको विवाद पनि राजकीय अंशबण्डासँग जोडिएको आचार्यले बताए । ‘राजकीय भोगका लागि चाहे सत्तामा हुन चाहे प्रतिपक्षीमा मानसिता तयार भइसक्यो । चाहे विप्लवको  होस् वा विप्लव बाहिरका दलको कुरा,’ आचार्यले भने, ‘अहिले विप्लव म मात्र हुँ सर्वेसर्वा भन्दै पैसा उठाइरहेका होलान् । विप्लवले लिएको पैसा प्रकाण्डले झलझली देखिरहेको हुन्छ । अनि उसले पनि त्यही काम गर्न खोज्दा विवाद हुन पुग्छ ।’

उनका अनुसार देश र नागरिक भन्दा आफूलाई केन्द्रमा राख्ने चाहनाले प्रतिपक्षमा पनि प्रतिपक्षको उदय हुन्छ र पार्टीमा आन्तरिक विवाद खडा हुन्छ ।

यता राजनीतिक विश्लेषक श्याम श्रेष्ठ भने पार्टीमा द्वन्द्व हुनु स्वभावीक ठान्छन् । तर द्वन्द्व विचार, सिद्धान्त भयो कि सत्ता स्वार्थको भन्ने कुुरा महत्वपूर्ण हुने उनको बुझाइ छ । उनले भने, ‘विचार सिद्धान्तको द्वन्द्वले पार्टीको विचार पनि विकसित हुन्छ र पार्टी पनि विकसित हुन्छ । तर निहित स्वार्थको द्वन्द्वले पार्टी फुटको दिशातिर जान्छ । किनभन्दा त्यहाँ अहंकारको टक्करमा द्वन्द्व हुन्छ । त्यसो हुँदा पार्टीमा गुट पैदा हुन्छ । पार्टी गुटको फाउन्डेसनबाहेक केही रहँदैन ।’

श्रेष्ठको नजरमा अहिलेको नेकपाको द्वन्द्वलाई कुनै विचारको द्वन्द्व नभइ निहित स्वार्थमा आधारित छ । नेकपा बाहेकका पार्टीमा देखिको विवादलाई भने श्रेष्ठले समावेशिताको द्वन्द्वका रुपमा व्याख्य गरे ।

‘द्वन्द्वविनाको पार्टी भेटिँदैन । विप्लवको पार्टीको द्वन्द्व केही हदसम्म वैचारिक देखिन्छ । काँग्रेस, जसपा र राप्रपामा भागबण्डा वा समावेशिताको द्वन्द्व देखिन्छ । यो स्वाभाविक हो,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप