सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित

सोमबार, ०१ असार २०८३, ०० : ४५
सोमबार, ०१ असार २०८३

काठमाडौँ ।  फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘इ’ को आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओमाथि ७-१ को फराकिलो जित दर्ता गर्दै प्रतियोगिताको सुखद सुरुवात गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको यस प्रतिस्पर्धामा जर्मनीले खेलको सुरुवातदेखि नै एकपक्षीय वर्चस्व कायम गरेको थियो ।

जर्मनीका लागि खेलको छैटौँ मिनेटमै फेलिक्स नमेचाले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यद्यपि, खेलको २१औँ मिनेटमा कुरासाओका लिभानो कोमेनेन्सियाले गोल फर्काउँदै खेललाई १–१ को बराबरीमा ल्याएका थिए । तर, त्यसपछि जर्मनीले लगातार गोल गर्दै कुरासाओलाई दबाबमा राख्यो । खेलको ३८औँ मिनेटमा निको स्लोटरबेकले गोल गर्दै जर्मनीलाई पुनः २–१ को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनी पहिलो हाफमा ३–१ ले अघि रह्यो ।

दोस्रो हाफमा जर्मनी थप आक्रामक देखियो । खेलको ४७औँ मिनेटमा जमाल मुसियालाले गोल गर्दै अग्रता ४–१ पुर्‍याए । ६८औँ मिनेटमा नथ्यानियल ब्राउन र ७८औँ मिनेटमा डेनिज उन्डाभले गोल थपेपछि जर्मनीले आधा दर्जन गोल पूरा गर्‍यो । खेलको अन्त्यतिर ८८औँ मिनेटमा काइ हाभर्ट्जले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीको ७–१ को विशाल जित सुनिश्चित गरे ।

यो सानदार जितसँगै जर्मनीले समूह ‘इ’ मा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ भने कुरासाओले हारबाट विश्वकप यात्राको सुरुवात गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप