सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महासंघको बन्दसत्रमा प्रधान र ढकालबीच आरोप-प्रत्यारोप

चन्द्र ढकालप्रति प्रधान- ‘दाइलाई अभिभावक मान्नुपर्ने कर्तव्य बिर्सिनुभयो’, किशोर प्रधानप्रति ढकाल– ‘अर्काको एजेन्डामा हिँड्नु राम्रो होइन’
शुक्रबार, १२ मङ्सिर २०७७, १६ : ३५
शुक्रबार, १२ मङ्सिर २०७७

काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । महासंघको ५४ औं साधारणसभाको दोस्रो दिन बन्द सत्रमा आफ्नो मन्तव्य राख्दै वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरु किशोर प्रधान र चन्द्र ढकाल एक अर्काको दोषारोपणमा उत्रिएका हुन् । 

बन्द सत्रको सुरुमा बोलेका किशोर प्रधानले चन्द्र ढकाललाई आफ्नो दाइलाई अभिभावक मान्ने जिम्मेवारीबाट बिर्सिएको आरोप लगाए । ‘म के भन्न चाहन्छु भने मेरा भाई जो मेरो समकक्षी हुनुहुन्छ र अहिले मसँग प्रतिस्पर्धामा हुनुहुन्छ, उहाँको पनि नेपाल उद्योग वाणिज्य महासंघलाई एकदमै आवश्यकता छ ।

उहाँ असल र सरल व्यक्तिको रुपमा पाएको छु । पछि पनि उहाँसँग बसेँ, उहाँको मिठास, उहाँको वाणीलाई मैले नुन अनुभव गरेँ, मलाई लाग्यो कि एउटा भाईले दाजुलाई भनिरहेको छ । तर उहाँले बिर्सिनुभो, दाजुको अभिभावकत्वलाई स्थापित गरेर आफूले लिनुपर्नेमा कसैको प्रभावमा त्यो बाटो बिर्सिनुभएको छ भन्ने मलाई लागेको छ ।’ प्रधानले आफैं पनि त्यो बाटोमा आउने समय भएको भन्दै भावी दिनको लागि बाटो देखाउन आफू तयार रहेको बताए । 

उता ढकालले पनि प्रधानलाई आफ््नो एजेन्डा नै नभएको आरोप लगाए । ‘हामी निजी क्षेत्रको प्रतिनिधि संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधित्व गर्न र नेतृत्व लिन गइरहेका छौं । यसरी जाँदै गर्दा शेखर गोल्छाजीको एजेन्डाभन्दा पनि हाम्रो भिजन र हाम्रो आफ्नै एजेन्डा हुनुपर्छ भन्ने राख्न चाहन्छु । र, शेखरजी अब आउने अध्यक्ष हुनुहुन्छ, उहाँले गर्ने काम किशोरजीको मात्रै नभएर चन्द्र ढकालको टीम विजय भएर आउँदा पनि शेखरजीकै नेतृत्वमा काम गर्ने हो । त्यसैले किशोर दाइलाई म के भन्न चाहन्छु भने निजी क्षेत्रको नेतृत्व लिन गइरहँदाखेरि वास्तवमा त्यो टीमको लिडरको एजेन्डा हुनुपर्छ । न कि कुनै एउटा हुनेवाला अध्यक्षको वा अर्को नेतृत्वले लिएको एजेन्डा फलो गर्ने र सहयोगीको भूमिका खेल्छु भन्नु व्यवसायिक हिसाबले त्यति राम्रो होइन ।’ 

किशोर प्रधानले अभिभावक नमानेर बाटो बिराएको भनाइको जवाफमा शेखर गोल्छा र भवानी राणाको उदाहरण दिँदै ढकालले भने, ‘मेरो आदरणीय किशोर दाइ, मभन्दा धेरै पुरानोे हुनुहुन्छ, म आदर पनि गर्दछु । तर यो यहाँले यो भनिरहँदाखेरि शेखर गोल्छाजी र म करिब ३ वर्ष पहिले मात्रै आउनुभएको हो । त्यसैगरेर भवानी म्याडमको अवधि पनि धेरै भएको छैन, उहाँ पनि निवर्तमान हुँदै हुनुहुन्छ, वास्तवमा त्यो पनि हेर्नुपर्छ भन्ने हुन्छ,’ ढकालले भने, ‘त्यसैले सिनियर हुँदैमा नेतृत्व पाउनुपर्छ, मतदाताले मत दिनैपर्छ भन्ने चाहिँ होइन ।’

दुवै उम्मेदवारले आफ्नो टीममा रहेका अरु उम्मेदवारको क्षमता र दक्षताको प्रशंसा गर्दै उनीहरुलाई जिताउन समेत आग्रह गरे । कार्यक्रममा प्रधानले मतदाताहरुलाई मस्तिष्कबाट नभई मनबाट भोट गर्न आग्रह गरेका थिए । ढकालले भने यो निर्वाचनलाई सामान्य हारजितको रुपमा लिनुको सट्टा जीवन मरणको दोसाँधको रुपमा लिएको भन्दै असन्तुष्टि जनाए ।

‘तपाइँ हामी जसले जिते पनि हाम्रो व्यवसायिक यात्राले हामीलाई धेरै टाढा पुर्याउँदैन’ उनले भने । उनले शेखर गोल्छालाई पनि महासंघ विधानको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्थाको स्पिरिटलाई बिर्सिएको आरोप लगाए ।  आजको बन्दसत्र सकिएसँगै शनिबार महासंघको निर्वाचन प्रारम्भ हुनेछ । निर्वाचनमा कुल ६२ जना प्रतिस्पर्धीका लागि १ सय २१ जनाको उम्मेदवारी परेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप