बुधबार, ३१ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जहाँका जनताले सांसद चुनेको अनुभूति नै नगरी प्रतिनिधिसभा विघटन भयो

निर्वाचित सांसद जेलमा, सांसद विकास कोषको रकममा सत्तारुढ दलकै नेता–कार्यकर्ताको मस्ती
शनिबार, ११ पुस २०७७, ११ : ४८
शनिबार, ११ पुस २०७७

कैलाली । २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभामा निर्वाचित सदस्यहरु प्रतिनिधिसभा विघटनसँगै कोही सडक संघर्षमा उत्रिएका छन्, कोही वैशाखमा हुने भनिएको निर्वाचनको तयारीमा जुट्न थालेका छन् । प्रतिनिधिसभा विघटनको सिफारिस असंवैधानिक रहेको दावीसहित सर्वोच्च अदालतमा दायर रिटहरुमाथि सुनुवाई भइरहेको छ ।

प्रतिनिधिसभा विघटनको वैधानिकताबारे सर्वोच्च अदालतले फैसला गर्ने नै छ, यद्यपि तर यी सब घटनाक्रमलाई प्रतिनिधिसभाका अन्य निर्वाचन क्षेत्रका तुलनामा कैलाली क्षेत्र नम्बर १ मा भने पृथक ढंगले हेर्न थालिएको छ ।
कैलाली क्षेत्र नम्बर १ त्यस्तो एकमात्र निर्वाचन क्षेत्र हो जहाँका मतदाताले प्रतिनिधिसभाको यो कार्यकालभर संघीय संसदमा आफ्नो प्रतिनिधि रहेको र आफ्ना क्षेत्रका समस्यालाई संघीय संसदमा राखेको अनुभूति गर्न पाएनन् । किनकि यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशमलाल चौधरीले ढिलै भए पनि सांसद पदको सपथ त लिन पाए तर संसद बैठकमा कहिल्यै सहभागी हुन पाएनन् । न त आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका गतिविधिलाई उनले नेतृत्व गर्न पाए । कैलालीकै टीकापुर काण्डमा दोषी ठहर भई आजीवन कारावासको सजाय पाएका चौधरीले जेलमै रहेको अवस्थामा सांसद पदको सपथ लिए पनि सांसदको हैसियतले काम गर्ने अवसर पाउन नसकेका हुन् ।


कैलाली क्षेत्र नम्बर १ का जनताले न आफूले मत दिएर जिताएको सांसदसँग कहिल्यै विकास निर्माणका समस्याबारे गुनासो राख्न पाए, न कहिल्यै कुनै समस्या सुनाउन पाए । झण्डै तीन वर्ष यसैगरी बिताएका कैलाली क्षेत्र नम्बर १ का मतदाताका लागि वैशाखमा हुने भनिएको निर्वाचनले केही आशा सञ्चार त गरेको छ नै, विभिन्न राजनीतिक दल पनि जनतालाई आफ्नो पक्षमा आकर्षित गर्ने अभियानमा जुट्न थालेका छन् ।
नेपाली काँग्रेसका कैलाली क्षेत्र नं १ का सभापति भुवनेश्वर अधिकारी झण्डै तीन वर्षको अवधिमा आफ्नो क्षेत्रका जनतामाथि धेरै अन्याय भएको बताउँछन् । रेशम चौधरीले चुनाव जितेपछि पहिलो वर्ष स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (संसद विकास कोष)बाट बजेट आए पनि उक्त रकम कहाँ कति खर्च भयो भन्नेबारे पारदर्शिता नभएको अधिकारीको भनाइ छ । ‘बजेट कसरी खर्च भयो, केमा खर्च गरियो भन्ने कुरा यहाँका जनताले थाहा नै पाएनन्,’ उनले भने, ‘दोस्रो वर्ष विकास कोषको बजेट नै आएन । यो वर्ष आए पनि राजनीतिक भागबण्डामा बाँडियो ।’

आफूहरुले उक्त बजेटलाई क्षेत्रका जनताले अनुभूति गर्न सक्ने गरी खर्च गर्न बारम्बार ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘हामीले स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी खर्च गर्न भन्दै आए पनि सरकारमा बसेका नेता तथा पार्टीले यहाँका जनताले अनुभुत गर्न पाउने गरी बजेट बाँडेनन्,’ उनले भने, ‘यहाँका जनतामा अत्याचार र अन्याय भएको छ ।’
यस क्षेत्रमा अझै सामाजिक सदभाव कायम भएको अनुभुत जनताले गर्न नपाएको उनको भनाइ छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका स्थानीय नेता टिकाराम चौधरी सांसद विकास कोषबाट पहिलो वर्ष र तेस्रो वर्ष बजेट आएको बताउँछन् । बजेट आए पनि नेकपाका नेता तथा कार्यकर्ताले कहाँ वितरण गरे, केमा वितरण गरे भन्ने आफूहरुले नै पत्तो नपाएको उनको भनाइ छ ।

‘रेशम चौधरी हाम्रै पार्टीका सांसद भए पनि उहाँको नाममा आउको सांसद विकास कोषको बजेटलाई उहाँका मतदाताले अनुभूति गर्न सक्ने गरी खर्च गरिएन,’ उनले भने, ‘अलिकति रकम टीकापुर वडा नं १ मा खर्च गरियो भन्ने छ तर अन्यत्र यो बजेटको सदुपयोग भएन ।’

सत्तारुढ नेकपाका नेता तथा कार्यकर्ताले नै सो बजेटमा मस्ती गरेको उनको आरोप छ । राजपाले बाटो ग्राभेलका लागि १० लाख बराबरको बजेट चलाएको जनाउँदै उनले चुनावका क्रममा पार्टीले र स्वयं रेशम चौधरीले जनतामा गरेको अठोट पूरा हुन नपाएको प्रस्ट पारे ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका क्षेत्रीय सभापति मानसिंह साउद पनि कैलाली–१ का सांसद विकास कोषको रकम दुरुपयोग भएको बताउँछन् । ‘यस क्षेत्रमा विकास न्युन छ, विकास पनि कहाँबाट हुनु ? यस क्षेत्रबाट जितेर गएका सांसद आजीवन कारावासमा छन्,’ उनले भने, ‘सांसद विकास कोषबाट आएको बजेट केमा खर्च गरियो भन्ने कुरा यहाँका जनता र हामी स्वयं पनि अनविज्ञ छौं ।’

रेशम चौधरीको निर्वाचन क्षेत्रमा आएको बजेटलाई सत्तारुढ दल नेकपाले आफ्ना कार्यकर्तामार्फत आफ्नो अनुकुल हुनेगरी खर्च गरेको उनको आरोप छ । पहिलो र तेस्रो वर्ष त बजेट आयो तर दोस्रो वर्ष बजेट नै फ्रिज भएको समेत उनले सुनाए ।

नेकपाका टीकापुर नगर अध्यक्ष एवं प्रदेश कमिटी सदस्य खडक शाह पनि सांसद विकास कोषको बजेट जनताकोे आधारभुत आवश्यकताभन्दा पनि नेताको ईच्छा, चाहना अनुसार वितरण भएको स्वीकार्छन् । ‘बाटो, पुलपुलेसा जस्ता कुरा त जनताका आधारभुत कुरा हुन्, त्यो ठाउँमा जिरो लगानी छ,’ उनले भने, ‘लगानी ब्यक्तिको चाहना अनुसार भईदियो, वितरण प्रणाली सन्तोषजनक भएन । उत्पीडित जाती र क्षेत्रमा पुगेन, एउटा जातीलाई नै

उत्पीडनमा पारेर बेजट बाँडफाँट भयो ।’
तीन वर्षसम्म यो क्षेत्रका जनता र मतदातामा चरम अन्याय भएको दावी गर्दै उनले अब जनताले नै त्यसको फैसला गर्ने बताए ।

सांसद जेलमा नभइदिएको भए...
कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य रेशम चौधरी जेलमा रहेकै कारण उनको क्षेत्रका जनताले यसबीचमा विकास निर्माणदेखि लिएर नीति निर्माणको तहमा संघीय संसदमा आफ्नो प्रतिनिधित्व नभएको अनुभूति गरे ।


उनी जेलमा नभइदिएको भए सांसद विकास कोषको रकम पनि त्यति दुरुपयोग हुँदैनथ्यो कि भन्ने जनतामा परेको छ । किनकि कैलालीकै अन्य क्षेत्रमा सानातिना नै सही, देखिने गरी विकास निर्माणका काम अघि बढेका छन् ।
कैलाली क्षेत्र नं ५ लाई नै उदाहरणका रुपमा लिने हो भने स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद विकास कोषमार्फत पहिलो वर्ष ३ करोड, दोस्रो वर्ष ६ करोड र यो वर्ष ४ करोड रुपैयाँ आएको छ ।
सो क्षेत्रमा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाका अनुसार उक्त बजेटमा स्थानीय तह र प्रदेश सरकारले पनि साझेदारी गर्न सक्छन् । आफूले यो कार्यक्रममार्फत आएको बजेटलाई जनताका सरोकारका बिषयमा खर्च गरेको उनको भनाइ छ ।

कैलाली बहुमुखी क्याम्पसको परीक्षा हल, धनगढी नमुना प्राविधिक माध्यामिक विद्यालयमा साईन्स ल्याव निर्माण, सर्वोदय माविको भवन निर्माण, ईन्द्रोदय आधारभूत विद्यालय र बेहडा बाबा माविको भवन निर्माण, फुलबारी क्याम्पसको पर्खाल निर्माण लगायतमा आफूले बजेट खर्चिएको उनले बताए ।

त्यसैगरी पर्यटन क्षेत्र अन्तर्गतमा पर्यटन सांस्कृतिक संग्रहालय, सभाहल, मठमन्दिर र खानेपानी, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा पनि बजेट खर्च गरिएको उनले सुनाए । निर्वाचित सांसदमार्फत खर्च हुनु र सांसद बेगर खर्च हुनुमा धेरै फरक पर्ने उनको भनाइ छ । उनका अनुसार निर्वाचित सांसदले जनताको मागअनुसार बजेट खर्च गर्नुपर्छ भने अन्यले जनताले के भन्लान् भनेर वास्ता नगरीकन आफूखुसी दुरुपयोग गर्न सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप