मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बीमा समितिका अध्यक्षको कार्यकाल आजदेखि सकिँदै, नयाँ अध्यक्ष नियुक्तिको छैन तयारी

बिहीबार, २३ पुस २०७७, १३ : ०२
बिहीबार, २३ पुस २०७७

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँको कार्यकाल आजदेखि सकिएको छ । ४ वर्षअघि तात्कालिन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बीमा समितिको अध्यक्षमा नियुक्त गरेका चापागाँइको कार्यकाल बिहीबारदेखि सकिन लागेको हो । यद्यपि अध्यक्ष चापागाँइँ १० दिन अघिदेखि नै विदामा बसिसकेका छन् । 

अध्यक्ष चापागाइँको कार्यकाल समिएसँगै बीमा समितिमा नयाँ अध्यक्ष बन्ने दौडधुप तीव्र बन्दै गएको छ । सरकारी पदमा बहालवाला अधिकारी, राष्ट्र बैंकका अधिकारीदेखि बीमा कम्पनीका पूर्व कार्यकारी प्रमुखहरु समेत यो दौडधुपमा रहेको बुझिएको छ । 

हाल सो पदका लागि राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा राष्ट्र बैंककै निर्देशक रामशरण खरेलको चर्चा चलिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका निकट मानिने शिवाकोटी फागुनदेखि राष्ट्र बैंकबाट अवकाश पाउन लागेका छन् ।

राष्ट्र बैंकको गभर्नर बन्ने लक्ष्य लिए पनि त्यो हुन नसकेपछि शिवाकोटीलाई समितिमा सेटलमेन्ट गर्ने सम्भावना बलियो भएको बताइन्छ । त्यस्तै, अर्थमन्त्री मन्त्रालयका आर्थिक सल्लाहकारको भूमिकामा रहेका राष्ट्र बैंकका निर्देशक खरेललाई पनि अर्को सम्भावित दाबेदारको रुपमा हेरिएको छ । 

त्यस्तै, महेश गुरागाइँलाई अर्को सम्भावनायुक्त व्यक्तिको रुपमा हेरिएको छ । चार्टर्ड एकाउन्टेन्ट रहेका गुरागाइँ पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष समेत हुन् । पुनर्बीमा कम्पनीकै सञ्चालक रमेश लम्साललाई पनि अर्को मुख्य दाबेदार मानिएको छ ।  उता, नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्य समेत यो संस्थाभन्दा बढी सक्रिय हुने ठाउँ खोजिरहेको बताइन्छ ।

नेप्सेका पूर्व अध्यक्ष टंक पनेरु पनि यो पदका लागि आकांक्षी रहेको बताइन्छ । बीमा समितिकै पूर्व कार्यकारी निर्देशकहरु समेत यो लाइनमा रहेको बुझिएको छ । चिरञ्जीवी चापागाइँ आफैं पनि अर्को कार्यकालको दाबेदार मानिए पनि नेकपाको राजनीतिक उतारचढावसँगै उनको पक्षमा राम्रो माहौल नबनेको बताइन्छ । 

नयाँ अध्यक्ष नियुक्तिको तयारी छैन

अध्यक्ष बिदामा बसेको १० दिन भइसक्दा नयाँ अध्यक्षको नियुक्तिको लागि अर्थ मन्त्रालयले कुनै तयारी थालेको छैन । सामान्यतया यस्तो नियुक्तिका लागि विषयगत मन्त्रालयले उपसमिति गठन गर्ने र सो उपसमितिले गरेको सिफारीसमा मन्त्रिपरिषद्ले नियुक्ति गर्ने प्रावधान रहेपनि बीमा ऐनले अध्यक्षको नियुक्तिका लागि सोझै प्रस्ताव लैजाने छुट दिएको छ । त्यसैले, अहिलेसम्म यसबारे मन्त्रालयमा कुनै छलफल नभएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार प्रकाशकुमार श्रेष्ठले बताए ।  

मन्त्रिपरिषद् बैठकबाट नयाँ अध्यक्षको नियुक्ति गर्नेछ ।  तर, अहिलेसम्म मन्त्रालयमा यस्तो समिति गठन गर्नेबारे हालसम्म कुनै छलफल नभएको अर्थ मन्त्रालयले जनाएको छ । सर्वोच्च अदालतले बीमा क्षेत्रको ज्ञान भएको व्यक्तिलाई मात्रै अध्यक्षमा नियुक्ति गर्न सक्नेगरी व्याख्या गरेको अवस्थामा अधिकांश दाबेदारहरु बीमा क्षेत्रइतरको देखिँदा कस्तो व्यक्तिलाई सरकारले नयाँ अध्यक्षमा नियुक्ति गर्छ भन्ने चासो देखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप