बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली सुरु देखिनै संघीयता विरोधी हुन्: महन्थ ठाकुर

आइतबार, २६ पुस २०७७, १७ : ००
आइतबार, २६ पुस २०७७

बुटवल । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओली पहिले देखिनै संघीयता विरोधी भएको आरोप लगाएका छन् । ‘प्रधानमन्त्री ओलीको  इतिहास हेर्दा नै संघीयत विरोधी थियो । अहिले पनि फेरि प्रतिनिधिसभा विघटन गरेर आफु थप अधिनायवादी भएको पुष्टी गरे’ प्रेस संगठन नेपालले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा अध्यक्ष ठाकुरले भने । 

प्रधानमन्त्री ओली संघीयता विरोधी भएको आरोप लगाउंँदै ठाकुरले हालको संघीय संरचनाप्रति आफ्नो पार्टीको असहमति कायमै रहेको बताए । जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनका आधारमा प्रदेशहरुको सीमाङ्कन र नामाङ्कन हुनुपर्ने आफूहरुको माग यथावत रहेको ठाकुरले बताए ।  ‘ओलीजी शुरुदेखि नै संघयिता विरोधी हो, हामीले मधेशमा बहिष्कार पनि गरेको हो’ ठाकुरले भने–‘अहिलेको सरकार पनि संघीयता विरोधी छ ।’

उनले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले अदालतप्रति पूर्ण विश्वास गर्दै पर्ख र हेरको स्थितिमा रहेको बताए । ‘हामी पर्ख र हेरको स्थितिमा छौं’ ठाकूरले भने–‘अदालतप्रति पूर्ण विश्वास छ, त्यसैले अगाडीको रणनीति त्यसपछि मात्र निर्धारण गरिनेछ ।’

तत्कालीन मधेशवादी दलहरुसँग गरिएका सहमति उल्लंघन गरेर संविधान बनाइएकाले आफ्नो पार्टीले शुरुदेखि नै संविधान त्रुटिपूर्ण छ भन्दै संशोधन हुनुपर्ने माग राख्दै आएको ठाकुरले स्मरण गरे ।  प्रतिनिधिसभा विघटन असामयिक र संविधानविपरित भएकाले यसविरुद्ध आफ्नो पार्टीले सबैभन्दा पहिले आन्दोलन शुरु गरेको दाबी समेत उनले गरे । उक्त विरोध प्रदर्शनमा जनताको व्यापक सहभागिता भएबाट आन्दोलन सफल भएको अध्यक्ष ठाकुरको भनाई थियो । संसद पुनःस्थापना नभएर चुनावमा जानु परे पार्टी तयार रहेको ठाकुरले स्पष्ट पारे । ‘हामी चुनावबाट भाग्दैनौं’ ठाकुरले भने– ‘यस विषयमा पार्टीमा एकमत छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप