सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लड प्यालेसमा नविन र मिलनको सांगीतिक धमाका

शनिबार, १७ माघ २०७७, १० : ००
शनिबार, १७ माघ २०७७

करिब १० महिनापछि राजधानीबासीले चर्चित गायक गायिकाको लाइभ गीतसंगीतमा नाच्न पाएका छन् । शुक्रबार साँझ काठमाडौंको टोखास्थित लड प्यालेस उद्घाटनमा आयोजित विशेष संगीतिक कार्यक्रममा उनीहरुलाई सो अवसर मिलेको हो ।

कार्यक्रममा चर्चित गायक, गायिका मिलन नेवार, राजनराज सिवाकोटी, लोकगायक नविन पौडेल लगायतले आफ्नो धमाकेदार सांगीतिक प्रस्तुति मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिलाए ।
लोक गायक नविन पौडेलबाट सुरु भएको संगीतिक प्रस्तुति गायिका मिलन नेवार, राजनराज सिवाकोटीलगायत कलाकारमा पुगेर टुङ्गिएको थियो ।
कार्यक्रममा गायक पौडेलले ‘लेउखुकुरी लेउ’, ‘बुलाकी लाउने’ बोलको गीतबाट दर्शक नचाएका थिए ।

करिब तीन घन्टा चलेको सांगीतिक कार्यक्रममा गायिका मिलन नेवारले ‘जहिले सम्म’, ‘सिरिमा सिरी...’ लगायत करिव आधा दर्जन चर्चित गीतसंगीत प्रस्तुत गरेकी थिइन् । धेरै पछि दर्शकको अगाडि उभिएर कार्यक्रम गर्न पाउदा निकै खुसी लागेको मिलनले बताइन् । कार्यक्रमको अवसर दिएकोमा  लड प्यालेसका संचालकलाई उनले धन्यवाद दिइन् ।

कार्यक्रममा गायक तथा संगीतकार राजनराज सिवाकोटीले फिल्म तथा आधुनिकका चलेका चेप्टे चेप्टे पेरुङ्गा’, सुर्के थैली, कुटुमा कुटु , टाकन टुकुन टाक्क, गोजीमा दाम छैन लगायत आधा दर्जन बढी गीतसंगीत पस्केका थिए । उनले कुटुमा कुटु गीत प्रस्तुत गर्दा दर्शक स्टेजमै चढेर समेत नाचेका थिए । 

कलाकार सुवास खड्काले संचालनमा ल्याएको लड प्यालेस शुक्रबारनै उद्घाटन गरिएको  थियो । टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले रिवन काटेर प्यालेसको उद्घाटन गरेका थिए ।
दुईवटा पार्टी भेन्यु, सांगीतिक कार्यक्रमका लागि आकर्षक स्टेज, पार्किङ लगायत बिभिन्न सुबिधा सहित आकर्षक डिजाइनमा करोडौको लगानीमा तयार प्यालेस विवाह, बर्तमन, पास्नी, व्यवसायिक उत्पादन लन्च लगायतका थुप्रै कार्यक्रमलाई लक्षित गरेर तयार पारिएको प्यालेस संचालक समितिका अध्यक्ष समेत रहेका कलाकार सुवास खड्काले बताए । उनले ‘फोटो तथा भिडियो,  म्युजिक सिस्टम, ब्युटिसियन, व्यवसायिक इभेन्ट म्यानेजमेन्टको लगायत थुप्रै सुविधा रहेको जानकारी दिए ।

थुप्रै म्युजिक भिडियो तथा चलचित्रमा समेत अभिनय गरेका सुवासले व्यवसायमा पनि आफूलाई सक्रिय राख्दै आएका छन् । 

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, कलाकार कृष्ण मल्ल, मदनदास श्रेष्ठ, अभिनेत्री रेजिना उप्रेती, हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’, लोक तथा दोहोरी गायक चन्द्र शर्मालगायत थुप्रै कलाकर्मीको समेत सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप