सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वसाधारणमा आमहड्तालको मार : वैशाखी टेकेर त्रिपुरेश्वरदेखि रत्नपार्कसम्म

बिहीबार, २२ माघ २०७७, २० : १९
बिहीबार, २२ माघ २०७७

आनन्द पासवानका दुबै हात र एउटा खुट्टा राम्ररी चल्दैन । तर, उनी राम्रा चित्रहरु कोर्न सक्छन् । पासवानले चित्र कोरिरहेको हेर्न बटुवाहरुको भीड लाग्छ । ‘कसैले चित्र किनेर पनि लैजानुहुन्छ । चित्र नलगेपनि मेरो कला देख्नेहरुले केही न केही पैसा दिनुहुन्छ,’ पासवान भन्छन्,‘यसरी नै घरपरिवार धान्दै आएको छु ।’

काठमाडौंको सतुंगलमा श्रीमती र दुई वर्षीय छोरीसहित बस्दैं आएका छन्, पासवान । नेकपाको प्रचण्ड–माधव समूहले गरेको आन्दोलनका कारण बुधबार उनी त्रिपुरेश्वरदेखि रत्नपार्कसम्म वैशाखी टेकेर आउनुप-यो ।

 
‘चित्र नबनाई पैसा मिल्दैन । के गर्ने ?’ उनले भने, ‘झडप हुँदा भाग्नसक्ने सामथ्र्यसमेत नभएका हामीजस्ता अपाङ्गता भएकालाई आम हड्ताल कहिल्यै नहोस् भन्ने लाग्छ । के कारणले हड्ताल गरियो भन्ने पनि थाहा छैन ।’ 

आमहड्तालकै कारण ७१ वर्षीय लालबहादुर तामाङले पनि सास्ती पाए । ‘सितापाईलाबाट त्रिपुरेश्वरसम्म त टेम्पोमा पाइयो । त्यसपछि कुनै सवारी नपाउँदा वीर अस्पतालसम्म हिंडेर आउनुप-यो,’ तामाङले भने,‘डाक्टरले सुगर बढेको छ, हिंड्दा राम्रै हुन्छ भन्छ । तर आम हड्तालले म मात्रै नभएर दुनियाँलाई दुख दिने भो । नेताहरुले खोइ चेतेको ? सीमित व्यक्तिका लागि हड्ताल रमाइलै पनि होला, तर गरिखानेका लागि त कठिन छ ।’

बन्दकर्ताहरु आमहड्ताललाई क्रान्तिको अनिवार्य नियम ठान्छन् । ‘ यो क्रान्तिको नियम हो । हिजो हामीले जनयुद्ध लडेरै लोकतन्त्र–गणतन्त्र स्थापना ग-यौं । अहिले केपी ओलीले कु गरेकाले हामी फेरि सडकमा आयौं,’ हड्तालमा सहभागी एक युवाले रातोपाटीसँग भने, ‘हामीलाई पनि फेरि बन्द गर्नु नपरोस् भन्ने लागेको थियो । तर यो क्रान्तिको नियम हो । जनताले दुख–सुख बुझिदिनुपर्ने हुन्छ ।’

बन्द–हड्तालको मार साधारण जनतालाई पर्ने गरेको अनुभव गजेन्द्र अछामीको छ, रामेछापको मन्थली स्थायी घर भएका अछामी काठमाडौंमा ट्याक्सी चलाउँछन् । देशमा अस्थिरता बढ्दै गएकाले आफ्नो पेशागत सुरक्षालाई लिएर उनी चिन्तित छन् । गत पुसमा उनले झन्डै २२ लाख रुपैयाँ पर्ने ट्याक्सी किस्तामा किनेका थिए ।

 ‘जेनतेन ऋण गरेर ८ लाख डाउन पेमेन्ट गरियो । अहिले मासिक ३५ हजार किस्ता बुझाउनुपर्छ,’ अछामीले भने,‘ट्याक्सी किनेको ३ महिनामै लकडाउन भयो । त्यसपछि गाउँ गएर गाडी थन्क्याएर बसें । अहिले ट्याक्सीको किस्ता बुझाउन र घरपरिवार धान्न हम्मेहम्मे छ । लकडाउन सकिएर बल्ल राम्रो आम्दानी होला भनेको आम–हड्ताल सुरु भयो, आज एउटाले ग-यो, भोली अर्कोले गर्ने होला ?’

बिहान ५ बजेदेखि राती ११ बजेसम्म ट्याक्सी चलाउँदा समेत घरपरिवार धान्न मुस्किल भइरहेका बेला आयोजित बन्दले उनी निकै निराश छन् । ‘मेरो जिन्दगी त ट्याक्सी चलाएरै बित्ला । महंगो शुल्क तिरेर छोरालाई स्कुल पढाएको छु, उसले त पढ्न पाउनुप-यो । लकडाउनका कारण लामो समय अवरुद्ध भएको छोराको पढाई अब यस्तै बन्द हड्तालले अवरुद्ध गर्ने होला ?’ उनले भने ।  

रत्नपार्कमा पानी बेच्ने रामगोपाल दनुवार र चिया बेच्ने मिना तामाङ पनि आन्दोलनबाट खुसी छैनन् । ‘हामी व्यापार गर्नेलाई आन्दोनल भएपनि नभएपनि केही फरक पर्नेवाला छैन । खाली दुख पाउनु भएन भन्ने हो । बन्दका कारण हिजो–अस्तीभन्दा कम व्यापार भयो,’ दनुवारले भने । 

तामाङलाई आन्दोलनबाट उपलब्धि हुन्छ भन्नेमा विश्वास छैन । ‘३५ वर्षदेखि यहीं चिया बेचिरहेकी छु, ४६ सालको आन्दोलन हुँदा २१ वर्षकी थिएँ । ६२ सालमा पनि आन्दोलन भयो । यतिबेला त केही हुन्छ कि भनेर हामी पनि जुलसमै लागेका थियौं । तर, खोइ भाग्य फेरिएको ?’ तामाङले भनिन्,‘हामीलाई पहिले खुलामञ्चमा व्यापार गर्न दिने पनि भनियो । तर, ०७६ साल वैशाखमा त्यहाँबाट लखेटिएपछि यही फुटपाथमा चिया बेच्दैछु । यहाँ पनि नगरपालिकाले भेट्नासाथ लखेटी हाल्छ । कहिल्यै गरिखान दिने होइन ।’

तामाङले थपिन्, ‘तीन महिनासम्म लकडाउन हुँदा पनि राहतका नाममा केही पाइएन । हामीलाई नेताले मान्छे गन्दैनन्, हाम्रा समस्या बुझ्दैनन्,  हामीले के भन्ने ?’

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप