आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

विवेकशील साझाले भन्यो- सुसंस्कृत राजनीतिबाट सरकार बदलौं

सोमबार, २३ चैत २०७७, १५ : ०४
सोमबार, २३ चैत २०७७

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले  सुसंस्कृत राजनीतिबाट वर्तमान सरकारलाई विस्थापित गर्नुपर्ने बताएका छन् । विवेकशील साझा पार्टीद्वारा पार्टी कार्यालय बखुन्डोलमा गरिएको अन्तरक्रिया कार्यक्रमा उनले भने,‘  सबैले सुसंस्कृत राजनीति गर्नुपर्छ । त्यहीअनुसार संसदबाट नयाँ सरकार बन्नुपर्छ ।’ 

सोही कार्यक्रममा विवेकशील साझाका संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । ‘राजनीतिमा नैतिकता ठूलो हुन्छ । केपी ओलीजीले नैतिक रुपमा राजीनामा दिनुपर्छ । बाटो खोलिदिनुर्छ।’

यस्तै उनले  संविधानअनुसार हुने निर्वाचनका लागि विवेकशील साझा सबै तयार रहेको बताए । पाण्डेले भने,  ‘हामी संविधानअनुसार हुने निर्वाचनका लागि तयार छौँ । तर संविधानभन्दा बाहिरबाट हुने चुनाव भने हामीलाई मान्य छैन ।’

यस्तै फरक प्रसंगमा अध्यक्ष मिश्रले विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भइसकेको बताए । ‘हामीबाट अपेक्षा धेरै भयो । त्यो पूरा गर्न सक्ने अवस्थामा छैनौं । तर यो बीचमा विवेकशील साझा वैकल्पिक शक्तिका रुपमा स्थापित भएको छौं । त्यसैले गाली पनि बढी खाइरहेका छौं ।’

उनले अगाडि भने, ‘ हामी पहिले वैकल्पिक पार्टी थियौँ । अब निर्विकल्प पार्टी बन्छौं । हामी सहर केन्द्रित पार्टी होइन । हामी गाउँ गाउँमा पनि पुगिरहेका छौं ।’ भ्रष्टता, असक्षमता र अनियमित ७० वर्षदेखिको समस्या भएको उनले बताए । जसकारण व्यवस्था बदलिए पनि नागरिकको जीवन नबदलिएको मिश्रको भनाइ छ ।

उनले भने, ‘बारम्बार व्यवस्था बदलिनु र नागरिकको जीवन नबदलिनु बिडम्बना हो  । पुराना पार्टीका नेताहरुको त्यागको पक्ष अतुलनीय छ । तर इमानदारिता र सक्षमतामा पुरानोबाट समस्या देखियो ।’

उनले सार्वजनिक शिक्षा र स्वास्थ्य निशुल्क हुनुपर्नेमा जोड दिए । ‘आधारभूत मानव अधिकार भनेको लोकतन्त्र मात्र होइन शिक्षा र स्वास्थ्यको निशुल्क पाउनु पनि हो’ उनले भने । यस्तै उनले  पेशाकर्मीले पार्टीको छाता ओड्न नहुनेमा पनि जोड दिए । ‘पेशाकर्मीले पार्टीको छाता ओड्नुहुँदैन भनेका छौं । सबै ठाउँमा काम गराउन जाँदा राजनीति कनेक्सन गर्नुपर्ने अवस्था छ । त्यसले विकृति जन्माउन काम गर्छ’ मिश्रको भने, ‘त्यहाँ कुनै हालमा राजनीति हुनुहुँदैन । यो तोड्न चाहन्छौं।’

यस्तै संयोजक  पाण्डेले २५ प्रतिशत युवाले आगामी निर्वाचनमा आफूहरू भोट गर्ने दाबी गरे । ‘विदेशमा भएका ७० लाख युवाले क्रान्ति गर्दैछन् । प्रविधिको प्रयोगले  भ्रम र झुट कुराबाट जानकार रहेकाले विवेकशील साझाले बलियो रुपमा उभिनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप