शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरका पाँच दलको निष्कर्ष : राष्ट्रपति संविधान विरोधी कार्यलाई मलजल गर्ने मतियार

सोमबार, १० जेठ २०७८, २२ : ४२
सोमबार, १० जेठ २०७८

भक्तपुरका पाँच राजनीतिक दलहरुले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान विपरितका सवै कार्यलाई मलजल गर्ने मतियार भएको आरोप लगाएका छन् । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले उक्त निष्कर्ष निकालेका हुन् ।

सोमवार नेपाली काँग्रेस भक्तपुरको पार्टी कार्यालयमा बसेको संयुक्त बैठकले राष्ट्रपति सबै दलको साझा हुनुपर्ने सर्वव्यापी मान्यता विपरित वर्तमान प्रधानमन्त्री केपी ओलीको कार्यकर्ता जस्तो भएर संविधान विरोधी हर्कत गरेको निष्कर्ष निकालेको छ । बैठकले सो हर्कतको प्रतिरोध गर्ने निर्णय समेत गरिएको माओवादी नेता डीपी ढकालले जानकारी दिए । नेता ढकालका अनुसार बैठकले विरोध कार्यक्रमलाई  जनस्तरमा पुर्याउन नगर र वडाका कमान्डर समेत तोकिएका छन् ।

उनका अनुसार भक्तपुरका सार्वजनिक स्थानहरुमा प्रतिगमन, कोभिड उपचार र जनजीविका व्यवस्थापनमा असक्षमताको विरोध गर्दै कालो झण्डा झुन्ड्याउने निर्णय भएको छ । जेठ १३ गते साँझ ७ बजे प्रत्येक घरबाट रित्तो थाल ठटाएर खबरदारी गर्ने विरोधका कार्यक्रम समेत तय गरिएको उनले बताए ।

बैठकपछि पाँच दलले  संयुक्त विज्ञप्ती जारी गर्दै कोभिडका कारण दैनिक सयौं जनता औषधोपचार, अस्पतालको बेड, अक्सिजन नपाएर ज्यान गुमाइरहेको र निषेधाज्ञाका कारण जनता घरभित्र नै रहनुपरेको अवस्थामा असंवैधानिक रुपमा जबर्जस्ती घोषणा गरिएको मध्यावधि निर्वाचन हुन नसक्ने ठहर समेत गरेका छन् ।

विज्ञप्तीमा आम नागरिकलाई सर्वसत्तावाद, अलोकतान्त्रिक र गैरसंवैधानिक क्रियाकलापका विरुद्धको संघर्षमा साथ दिन आग्रह समेत आग्रह गरिएको छ । विज्ञप्तीमा नेपाली काँग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष डिपि ढकाल, नेकपा (एमाले)का जिल्ला अध्यक्ष रञ्जन केसी, जनता समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष श्याम शिल्पकार र राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष शिवहरि खनालले हस्ताक्षर गरेका छन्।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप