बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सावधानीपूर्वक मनाइयो २ हजार ५६५ औँ बुद्ध जयन्ती

बुधबार, १२ जेठ २०७८, २१ : ०६
बुधबार, १२ जेठ २०७८

कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्ति पूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याउनुभएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए ।

राजकुमारका रुपमा प्राप्त हुने सुख सयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्किए। तपस्याबाट प्राप्त वृद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याए ।  
बुद्धको जन्म, ज्ञान प्राप्ति, महानिर्वाचन (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् । उनको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाएका छन् । 

“अहिंसा नै शान्ति र मैत्रीका आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको जन्म जयन्तीका अवसरमा यस वर्ष कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा कुनै कार्यक्रम आयोजना गरिएन । गत वर्ष पनि कोरानाबाट बच्न देशभर बन्दाबन्दी गरिएकाले बुद्ध जयन्ती भौतिक दूरी कायम गरी सीमित बौद्ध गुरुले चैत्य, गुम्बा, विहारलगायत धार्मिक स्थलमा पूजा आराधना गरी मनाएका थिए ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्म गुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजा लगायत विधि भने पूरा गरियो । आम नागरिकले भने बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाएका छन् ।  
लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यस वर्ष यी स्थलमा सीमित धर्म गुरु बसेर पूजा पाठ गरी पर्व मनाइएको काठमाडौँ महानगरपालिका वडा नं. –६ का अध्यक्ष दीपेन्द्र कुमार लामाले बताए । बौद्ध क्षेत्रका स्थानीयवासीलाई बेलुकी घर घरमा दीपावली गरी शान्तिको सन्देश दिनसमेत आह्वान गरिएको छ ।

 ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६५ वर्षअघि माता मायादेवी कपिलवस्तुको तिलौराकोटबाट रुपन्देहीको देवदह जाने क्रममा लुम्बिनी उद्यानमा वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।   ईसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि वृद्धत्व प्राप्त गरे । वृद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो । दुःखलाई नास गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

 यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्षीय भिक्षुहरूलाई प्रवचन (धर्मदेशना) का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ । कोरोनाका कारण गत वर्ष र यस वर्ष पनि बौद्ध, स्वयम्भूलगायत धार्मिक स्थल सुनसान बने । बिहान बुद्ध पूर्णिमाका अवसरमा गरिने पूजा, पाठ गरिएपनि अरु औपचारिक कार्यक्रम नगरिएको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामाले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप