शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीमा कसैको नाम काटिएको होइन : कर्ण थापा (भिडियो वार्ता)

‘माधव नेपाल एमालेमा बस्न चाहँदैनन्’
बिहीबार, ०३ असार २०७८, १९ : १०
बिहीबार, ०३ असार २०७८

पछिल्लोपटक मन्त्रिपरिषद पुनर्गठनलाई लिएर नेकपा एमालेको केपी ओली समूहभित्रै असन्तुष्टि र अन्तरविरोध देखा परेका खबरहरु आइरहेका छन् । खासगरी ओली पक्षका नेता महेश बस्नेतले आफ्नो नाम गृहमन्त्रीमा निश्चित भइसकेका बेला प्रधानमन्त्री नजिकका मानिसले नाम काटिदिएको सार्वजनिक अभिव्यक्ति दिएपछि असन्तुष्टि बाहिर आएको हो ।

मन्त्रिपरिषद पुनर्गठनको विषयलाई लिएर ओली समूहभित्र असन्तुष्टि देखिएकै हो त ? हामीले यसबारे प्रधानमन्त्री ओलीका निकट मानिने एमाले नेता कर्ण थापासँग बुझ्ने प्रयास गर्यौं ।     

नेकपा एमाले सुदुरपश्चिम प्रदेशका अध्यक्षसमेत रहेका केन्द्रीय नेता थापा पनि मन्त्रिपरिषद पुनर्गठनप्रति सन्तुष्ट देखिएनन् । तर, महेश बस्नेतको नाम गृहमन्त्रीका रुपमा चर्चामा आएको र पछि काटिएको भन्नेचाहिँ उनले अस्वीकार गरे ।

आफू गृहमन्त्री बन्ने पक्का भएका बेला प्रधानमन्त्रीका सल्लाहकार र वरिपरिका केही मानिसले मन्त्री बन्नबाट रोकेको बस्नेतले सार्वजनिक रुपमै बताएका थिए । तर, थापाले भने त्यसरी प्रधानमन्त्रीको सचिवालयका सदस्यले कसैको नाम नकाटेको र कसैको नथपेको बताए ।

‘खगराज अधिकारीको नाम पछि आयो, पहिला अर्कै नाम थियो भन्ने सही होइन, कसैको पनि नाम काटिएको छैन’, थापाले भने, ‘जहाँ छलफल हुनुपर्ने हो, त्यहाँ छलफल भएअनुरुप नै निर्णय भएको छ । कसैको नाम काटियो, कसैका थपियो, यो कसैले गर्यो भन्ने मलाई लाग्दैन । प्रधानमन्त्रीले आफैं गर्नुहुन्छ । सचिवालयका मान्छेले यो थप्ने र अर्को काट्ने गर्दैनन् ।’

प्रचार र सन्तुष्टि लिन कोही कसैले त्यस्तो ‘स्टन्टबाजी’ गरेको हुन सक्ने थापाले बताए । यद्यपि थापाले पनि प्रधानमन्त्री ओलीले पछिल्लोपटक गरेको मन्त्रिपरिषद विस्तारमा परेका मानिसहरुबाट भने आफू सन्तुष्ट हुन नसकेको बताए ।

रातोपाटी अनलाइन टीभीमा बिहीबार अन्तरवार्ता दिने क्रममा थापाले भने, ‘अहिलेको मन्त्रिपरिषदमा जे–जस्ता मान्छेहरु गएका छन्, सबै कुरामा म सन्तुष्ट छैन । किनभने, योभन्दा काविल र योग्यतम् मान्छे अरु पनि हुन सक्थे ।’

तर, मन्त्रिपरिषदमा जे–जस्ता मानिसहरु छानिए, यसको जवाफदेहिता र जिम्मेवारी प्रधानमन्त्री स्वयंले लिने भन्दै मन्त्रीका रुपमा गएकाहरूको परीक्षण हुन बाँकी नै रहेको उनको विश्लेषण छ ।

‘माधव नेपाल एमालेमा बस्न चाहँदैनन्’

एमाले अन्तरविरोधबारे सोधिएको प्रश्नमा थापाले माधव नेपालसहितको एउटा कोर टिम एमालेमा बस्नै नचाहेको दाबी गरे । ‘माधव नेपाल र उहाँलाई मान्ने एउटा कोर टिम छ, उहाँहरु नेकपा एमालेमा बस्नै चाहनुहुन्न,’ थापाले भने, ‘माधव नेपाल यो पार्टीबाट बढीभन्दा बढी मान्छेहरु लिएर जान चाहनुहुन्छ । हामी सके सच्चिएर यहीँभित्र बस्नुहोस्, यदि उहाँ जानुभयो भने उहाँको कुनै बहकावमा अरु मान्छेहरूलाई जान नदिऔं, हामी पार्टीभित्रै रोकौँ । संघर्षको चुरो कुरो यो हो ।’

एमाले नेता थापाले अहिलेको नेकपा एमाले र हिजोको नेकपाका केही नेताहरुको उद्देश्य केपी ओलीलाई जसरी पनि हटाउने भन्ने एकसुत्रीय अभियानकै निरन्तरताका कारण एमालेभित्र द्वन्द्व चर्किएको बताए । उनले जालझेल र षडयन्त्रको माध्यमबाट सीमित मान्छेहरु मिलेर सत्ता हत्याउन लागिपरेको भन्दै प्रधानमन्त्रीले गठबन्धनमार्फत निजी स्वार्थ प्राप्त गर्न नदिएपछि उनीहरु प्रधानमन्त्री ओलीविरुद्ध लागेको टिप्पणी गरे ।

‘जतिबेला केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउन जेजस्ता आरोपहरू लगाइए, त्यो अनुचित थियो भन्ने अहिले पुष्टि पनि भयो’, थापाले रातोपाटीसँग भने, ‘नेकपाको एकता टुटाउने भुमिका माधव नेपालले मुख्य रुपमा खेलेको हो, प्रचण्ड पनि त्यसमा मिसिनुभयो ।’

प्रचण्ड, झलनाथ र माधव नेपालहरुले केपी ओलीलाई जसरी पनि हटाउने भनेर महन्थ ठाकुर र उपेन्द्र यादवलाई समेत प्रधानमन्त्रीका रुपमा अघि सारेर प्रतिशोधको राजनीति गरेको थापाले दाबी गरे ।

थापासँगको भिडियो वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर पाठक
कुवेर पाठक
लेखकबाट थप