बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

खोपबारे सरकारको खोकाइ : बोली फेर्दै, भाका सार्दै !

भारतले पैसा लिएर ठग्यो, चीनले मूल्य सार्वजनिक गर्न मानेन
मङ्गलबार, ०८ असार २०७८, १७ : १२
मङ्गलबार, ०८ असार २०७८


काठमाडौं । नेपाली वाङ्‍मयमा ‘खोक्नु’ शब्द स्वास्थ्यसँग मात्र सम्बन्धित छैन, कुनै कुरा बोलेर पूरा गर्न नसक्नुलाई पनि ‘खोक्नु’ भन्ने गरिन्छ । ओली सरकारले जनतालाई समयमै खोपको उपलब्ध गराउन दिएको वचन यस्तै ‘खोकाइ’ मा परिणत भएको छ । खोपको प्रबन्ध गरिनेछ भनेर सरकार खोकेको खोक्यै छ । तर, अहिलेसम्म पहिलो डोज पाएकाले दोस्रो डोज लगाउने म्यादसमेत गुज्रिसकेको अवस्था छ । कोरोनाको तेस्रो लहर आउने जोखिम बढिरहे पनि सरकार खोप खरीदमा पूरै असफल सावित भएको छ ।

गत वर्षको माघ १४ गते कोरोनाविरुद्धको खोप कार्यक्रमलाई भर्चुअल विधिबाट उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई निशुल्क खोपको प्रवन्ध गरिनेछ ।’

प्रधानमन्त्रीले कोरोना भाइरसविरुद्ध लड्न खोप नै एकमात्र विकल्प भएको बताउँदै खोप लगाउन सबै नेपालीलाई आग्रहसमेत गरेका थिए । उनले भनेका थिए, ‘तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिन्छ, । कुनै भेदभावबिना नै सबै नेपालीलाई निःशुल्करूपमा खोप लगाइन्छ ।’

प्रधानमन्त्री ओलीले माघ १४ गते ३ महिना भन्दै गर्दा २०७८ सालको वैशाख १४ गतेसम्म सबै नेपालीले खोप लगाइसकेको हुनुपर्ने थियो । तर, तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाउन सम्भव नहुने देखेपछि प्रधानमन्त्री ओलीले बोली फेरे ।

माघ १४ गते तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप दिन्छु भनेका प्रधानमन्त्री ओलीले त्यसको ७२ घण्टा पनि नबित्दै माघ १७ गते चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सन् २०२१ को अन्त्यसम्म सबै नेपालीलाई खोप दिइसक्ने बताए ।

उक्त कार्यक्रममा ओलीले भनेका थिए, ‘मैले भनेको छु एकदमै फोरफ्रन्टमा रहेर कठिनाई झेलेर काम गर्नेहरूलाई खोप दिलाउने काम आगामी ३ महिनाभित्र हामी सम्पन्न गर्नेछौँ र क्रमशः सन् २०२१ भित्र सम्पूर्ण जनतालाई लाइसकेर कोभिड–१९ लाई हामी नेपालबाट भगाउँछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीले विश्वास लिएका छौँ ।’

प्रधानमन्त्री ओलीले भनेका सन् २०२१ को अन्त्य भनेको २०७८ सालको पुस १६ गतेभित्र हो । विना तयारी, विना आधार खोपबारे आफ्नो धारणा दिएर सहानुभूति बटुल्न खोजेका प्रधानमन्त्रीलाई आफ्नै भनाइमा विश्वास नलागेपछि तीनदिनमै उनले बोली फेरेका हुन् ।

यसबीचमा प्रधानमन्त्रीले पटक–पटक चाँडै नै सम्पूर्ण नेपालीले निःशुल्करूपमा खोप पाउने दाबी गर्दै आइरहेका छन् । जेठ ९ गते बालुवाटारमा प्रधानमन्त्री ओलीले सम्पादकहरूलाई बोलाएका थिए । त्यहाँ उनले आगामी निर्वाचन अगाडि सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताए । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको मिति तोकेकी छिन् ।

गत जेठ १४ गते देशवासीका नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले पहिलो डोज खोप लगाएका सबैलाई चाँडै दोस्रो डोज खोप उपलब्ध गराउने विश्वास दिलाए । उनले भने, ‘पहिलो मात्रा खोप लगाएका नागरिकका लागि दोस्रो मात्राको व्यवस्था जसरी पनि गरिने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु । थप खोपको व्यवस्था गरेर सबै वयस्क नागरिकलाई खोप लगाइने र महामारीलाई नियन्त्रण गरी छाड्ने विश्वास दिलाउन चाहन्छु ।’

गत असार २ गते कोभिड –१९ व्यवस्थापन निर्देशक समितिको बैठकमा प्रधानमन्त्री ओलीले आगामी साउन महिनादेखि लगाउने गरी ४० लाख डोज खोप ल्याउन लागिएको बताए । कोरोना भाइरसविरुद्ध लड्न खोप नै अनिवार्य र महत्वपूर्ण तत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले आगामी साउन महिनादेखि लगाउने गरी ४० लाख डोज खोप ल्याउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।

 

प्रधानमन्त्री ओली मात्र होइन, निवर्तमान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पनि जेठ १४ गते पत्रकार भेटघाटका क्रममा ‘अबको १० दिनमै खोपका सम्बन्धमा ब्रेक थ्रु हुने’ बताएका थिए । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा तत्कालीन परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ यस्तो थियो : ‘कोरोनाविरुद्धका खोपहरू क्लिनिकल ट्रायलका क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको छ । अहिले चीन, रुस, अमेरिका र बेलायतलाई पत्राचार गरिसकेका छौँ । चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी १० दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ ।’

निवर्तमान परराष्ट्रमन्त्री ज्ञवालीले भनेको १० दिनको ब्रेक थ्रुको समय जेठ २५ गते सकिएको छ । उनी पनि सरकारबाट बाहिरिएका छन् । यसबीचमा खोप खरिद वा आयातका सम्बन्धमा कुनै ब्रेक थ्रु हुन सकेको छैन । ज्ञवालीपछि आएका परराष्ट्रमन्त्री रघुवीर महासेठले ब्रेक थ्रु गर्न के गरिरहेका छन् भन्ने सम्बन्धमा केही बोलेका छैनन् ।

तत्कालीन समयमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले पनि खोप आयातका लागि पहल भइरहेको र चाँडै खोप आउने कुरा बताइरहेकै थिए । यद्यपि उनले मिति र मात्रा भने तोकेका थिएनन् ।

हालसालै स्वास्थ्यमन्त्री बनेका शेरबहादुर तामाङले पनि खोप छिट्टै आउने बताएका छन् । असार ६ गते केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै यति आउँछ भनेर तत्काल भन्न नमिले पनि केहीदिनमै खोपबारे सकारात्मक समाचारहरु आउन थाल्ने उनले बताएका छन् । मन्त्री तामाङले निजी संस्थाले खोप ल्याउँदा खर्च लाग्ने भएकाले सरकारले नै खोप ल्याउने र निशुल्क रुपमा लगाउने बताएका थिए । जब कि यसअघि नै निजी संस्थाहरुले पनि खोप ल्याउने पहल गरिरहेका छन् ।

भारतले १० लाख डोजको पैसा लिएर ठग्यो  

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४२ लाख ४८ हजार डोज खोप आइपुगेको छ । सुरुमा नेपाललाई भारत सरकारले अनुदानस्वरुप १० लाख डोज कोभिशिल्ड खोप दिएको थियो । त्यसलगत्तै सरकारले भारतसँग ५० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेर २० लाख डोजका लागि पैसासमेत पठाइसकेको छ । तर, २० लाख डोजका लागि पैसा पठाएको भए पनि १० लाख डोज मात्रै भारतले उपलब्ध गराएको छ ।

ओली सरकारसँग मोदी सरकारको सम्बन्ध राम्रो बनेको भनिए पनि महामारीका बेला १० लाख डोजको पैसा भुक्तानी लिएर भारतले नेपाललाई खोप दिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपतिसँग आग्रह गर्दा पनि मोदी सरकारले नेपालको आग्रहलाई सुनुवाइ गरेको छैन ।

उता अक्सफोर्ड एस्ट्राजेनेकाको ३ लाख ४८ हजार डोज कोभिशिल्ड खोप पनि यसअघि नै नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधाबाट प्राप्त हुने खोपमध्ये पहिलो चरणमा ३ लाख ४८ हजार डोज खोप नेपाललाई उपलब्ध गराइएको थियो । कोभ्याक्स सुविधाको खोप पाउने राष्ट्रमा नेपाल एसियामै पहिलो राष्ट्र थियो ।

त्यसैगरी भारतीय सेनाले नेपाली सेनाका लागि भन्दै १ लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराइसकेको छ । यसरी भारत र कोभ्याक्स सुविधामार्फत् नेपालमा २४ लाख ४८ हजार थान कोभिशिल्ड खोप आइपुगेको छ ।

त्यसैगरी चीनमा उत्पादित भेरोसेल खोपको १८ लाख डोज नेपाल आइसकेको छ । चीनले पहिलोपटक अनुदान सहयोगमा ८ लाख डोज भेरोसेल खोप नेपाललाई उपलब्ध गराएको थियो । राष्ट्रपतिले नै आग्रह गरेपछि चीन सरकारले दोस्रोपटक पुनः ८ लाख डोज खोप नेपाललाई अनुदान दिएको थियो । सोहीबेला तिब्बत सरकारले पनि नेपाललाई २ लाख डोज भेरोसेल खोप सहयोग गरेको थियो । तिब्बत सरकारले दिएको खोपको प्राथमिकतामा भने तिब्बतसँग सिमाना जोडिएका मानिसहरु परेका थिए ।

नेपालमा विभिन्न माध्यमबाट कोभिशिल्डको २४ लाख ४८ हजार डोज खोप आएको छ । सबै गरी हालसम्म जम्मा ४२ लाख डोज खोप आएको भए पनि हालसम्म २० लाख २९ हजार १६६ जनाले मात्रै कोभिशिल्ड खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ४ लाख ११ हजार ६ जनाले कोभिशिल्डको दोस्रो डोजसमेत लगाएका छन् भने पहिलो डोज मात्रै लगाउनेको सङ्ख्या १८ लाख २३ हजार ६६३ छ । १४ हजार १९९ डोज खोप खेर गएको तथ्यांक छ ।

यसरी हेर्दा हाल पनि सरकारसँग १ लाख ९९ हजार १३२ डोज कोभिशिल्ड खोप बाँकी नै छ । तर, पनि कोभिशिल्ड खोपको व्यवस्था नहुँदा ३ महिनाभित्र लगाइसक्नुपर्ने कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउन नपाउने नागरिकको सङ्ख्या १५ लाखभन्दा बढी छ । सरकारले खोपको व्यवस्था गर्न नसक्दा समयमै दोस्रो डोज खोप लगाउनबाट उनीहरु बञ्चित भएका हुन् ।

त्यसैगरी, नेपाललाई हालसम्म १८ लाख डोज भेरोसेल खोप उपलब्ध भएकामा पहिलो चरणमा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहलाई दिइएको खोपमा ३ लाख ५० हजारभन्दा बढीले पहिलो मात्रा लगाएका थिए । पहिलो मात्रा लगाएका २ लाख ९१ हजार जनाले दोस्रो मात्रा पनि लगाइसकेको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् ।

दोस्रो चरणमा ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई खोप लगाइएको थियो । जसमा हालसम्म ३ लाख ७० हजारले भेरोसेल खोप लगाइसकेका छन् ।

खोप किन्ने प्रस्ताव मन्त्रिपरिषद्मा, चीनले मूल्य सार्वजनिक गर्न मानेन

गत जेठ ३१ गतेमात्रै स्वास्थ्य मन्त्रालयले १ करोड २० लाख डोज खोप किन्ने निर्णय गर्दै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो । तर, उक्त प्रस्तावबारे के निर्णय भयो, हालसम्म बाहिर आएको छैन । कुन देशसँग कुन खोप खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको हो, त्यो पनि सार्वजनिक भएको छैन । अनि कति रकममा किन्न लागिएको हो, त्यसबारे पनि कुनै विवरण सार्वजनिक गरिएको छैन ।

यद्यपि त्यसको एक दिनअघि अर्थात् जेठ ३० गते स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, मुख्यसचिव, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र चीनस्थित सिनोफार्मका अधिकारीबीच वार्ता भएको थियो । त्यही वार्तामा नेपाललाई तत्काल ६० लाख डोज भेरोसेल खोप बेच्न चीन तयार भएको बताइएको छ ।

चीन सरकारले भेरोसेल खोपको एक डोजको मूल्य १७ डलर तोकेको छ । तर, चीनले नेपाललाई त्योभन्दा सस्तो मूल्यमा खोप उपलब्ध गराउने भएकाले मूल्य सार्वजनिक गर्न नपाइने सर्त चीन सरकारले राखेको छ । साथै खरिद गर्ने मूल्य बराबरको रकम पहिले नै पठाउने शर्त पनि चीनले राखेको बताइएको छ ।

यसअघि भारतबाट खरीद गरिएको कोभिशिल्डको प्रतिडोजको मूल्य ४ डलर मात्र तोकिएको थियो ।

चीनबाट १ करोड २० लाख डोज खोप आयात गर्न सके ६० लाख जनसङ्ख्यालाई दोस्रो डोजसमेत लगाउन पुग्छ । त्यसपछि खोप लगाउन योग्य २ करोड १७ लाख ५६ हजार ७६३ नागरिकमध्ये करिब २० प्रतिशतले खोप पाउन सक्छन् ।

जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित समयमै खोप लगाउन नसके स्थिति झन् झन् बिग्रँदै जाने बताउँछन् । कोभिड –१९ को संक्रमण रोक्न र देशलाई चलायमान बनाउन खोप नै एकमात्र उपाय भएको भन्दै खोप लगाउन ढिला भइसकेको उनी तर्क गर्छन् ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप