बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभा बैठकमा जब मन्त्री सांसदमाथि खनिए....

आइतबार, १३ असार २०७८, १९ : २७
आइतबार, १३ असार २०७८

प्रदेश १ प्रदेशसभा बैठकमा एक मन्त्रीले व्यक्तिगत आलोचना र गाली बेइज्जती गर्न थालेपछि सभामुखले चार पटक रुलिङ गर्नुपरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले सांसदविरुद्ध व्यक्तिगत आलोचना गर्न थालेपछि सभामुख प्रदीपकुमार भण्डारीले उनलाई चार पटक रुलिङ गरेका हुन् । आइतबार मन्त्रालयगत बजेट विनियोजनका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री  गुरुङ आफ्नै जिल्ला ओखलढुंगाबाट निर्वाचित माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि खनिएका थिए ।

सभामुखको रुलिङलाई बेवास्ता गर्दै मन्त्री गुरुङले सांसद  खड्कालाई सुध्रिने सल्लाह दिन समेत भ्याए । एकोहोरो व्यक्तिगत गाली गलौजमा केन्द्रित भएपछि सभामुख भण्डारीले मन्त्रीलाई आफ्नो भनाइ छोट्याउन रुलिङ गरे । 
उनले सभामुखको रुलिङलाई बेवास्ता गर्दै व्यक्तिगत आलोचनालाई जारी राखे । सभामुखले चार पटक रुलिङ गरेपछि बल्ल मन्त्री गुरुङले भनाइ टुंग्याए । 

जवाफ दिन रोष्ट्रममा गएका मन्त्री नै व्यक्तिगत गाली गलौजमा उत्रिएपछि जनता समाजवादी दलका नेता जयराम यादवले नियमापत्ति गरेका थिए । यादवको नियमापत्ति पछि सभामुख भण्डारीले मन्त्री विरुद्ध रुलिङ गरेका हुन् ।

विनियोजन विधेयकको विषयगत छलफलका क्रममा पछिल्ला दुई वटा बैठकमा भौतिक पूर्वाधार विकास मन्त्रालयको विनियोजन माथि छलफल भएको थियो । छलफलमा बोल्ने शतप्रतिशत सांसदहरुले भौतिक पूर्वाधार विकास अन्तर्गतको विनियोजनप्रति असहमति जनाउँदै आलोचना गरेका थिए । आइतबार ओखलढुंगाका सांसद खड्काले सरकारले ल्याएको बजेट मन्त्रीमुखी, दलालमुखी र गुटकेन्द्रीत भएको टिप्पणी गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप