स्वास्थ्य सरोकार

कोरोना सङ्क्रमित शिशुले नियमित खोप लगाउन हुन्छ ?

person explore access_timeअसार १४, २०७८ chat_bubble_outline0

नेपालमा कोरोना सङ्क्रमणको दोस्रो लहर कायम छ । सङ्क्रमितको ग्राफ ओरालो लाग्ने क्रममा रहे पनि भविष्यमा सङ्क्रमणको तेस्रो लहर आउने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र जनस्वास्थ्यविद्हरुले सचेत गराइरहेका छन् ।

सङ्क्रमणको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने जनस्वास्थ्यविद्हरुले सङ्केत गरेका छन् । नेपालमा शिशु जन्मेदेखि १५ महिनाको अवधिमा विभिन्न प्रकारका १२ वटा खोप अनिवार्य रूपमा लगाउनुपर्छ । तर कोरोना सङ्क्रमणको दोस्रो लहर कायम रहँदा त्रासले शिशुहरुलाई नियमित खोप दिन अभिभावकहरु हिचकिचाएको अवस्था छ । 

१५ महिनाभन्दा कम उमेर समूहका बच्चालाई कोभिड–१९ पुष्टि हुँदा बीसीजी, डीपीटी—हेपबी—हिब, पोलियो, पीसीभी, रोटा, जेई, दादुरा, रुबेला जस्ता नियमित खोप दिन हुन्छ कि हुँदैन भनेर अभिभावक अन्योलमा परेको पाइन्छ । यस्तो अवस्थामा शिशुलाई यी खोप लगाइदिन हुन्छ कि हुँदैन ? कोरोनाको त्रासमा बच्चालाई नियमित खोप नदिएको खण्डमा स्वास्थ्यका कस्ता समस्या आउँछन् ? कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका अन्य उमेर समूहका नागरिकले दोस्रो मात्रा कस्तो अवस्थामा लगाउन हुँदैन भन्नेबारे आमचासो छ । 

प्रस्तुत छ, यिनै विषयमा केन्द्रित रहेर खोप सल्लाहकार समितिका सदस्य एवं स्वास्थ्य सेवा विभाग,परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलसँग  रातोपाटीले गरेको कुराकानी–

कोरोनाभाइरस (कोभिड–१९) बाट सङ्क्रमित भएका १५ महिनाभन्दा कम उमेर समूहका शिशुले नियमित खोप लगाउन हुन्छ कि हुँदैन ?

शिशुका लागि नियमित खोप अत्यन्त महत्त्वपूर्ण हुन्छ । कोरोना महामारीको बेला यी खोप लगाउने समय भएका अर्थात् १५ महिनासम्मका साना नानीबाबुहरू पनि सङ्क्रमित हुन सक्छन् । पहिलो महामारीमा कम उमेर समूहका बालबालिका न्यून मात्रामा सङ्क्रमित भएका थिए । तर अहिले तुलनात्मक रूपमा १० वर्षभन्दा कम उमेर समूहका बालबालिका बढी सङ्क्रमित भएका छन् । 

जन्मेदेखि १५ महिनासम्म लगाइने १२ प्रकारका खोप लगाउने क्रममा बच्चालाई कोरोना सङ्क्रमण भएमा लक्षण कम देखिन थालेपछि नियमित खोप लगाउन मिल्छ । जस्तै ज्वरो, खोकी कम भएर सामान्य अवस्था फर्किसकेपछि खोप दिन मिल्छ । कोरोना सङ्क्रमित बच्चाको अवस्था सामान्य छ भने रिपोर्ट पोजेटिभ आए पनि नियमित खोप लगाइदिन मिल्छ ।

कोरोना सङ्क्रमण हुने त्रासले बच्चालाई नियमित खोप लगाइदिन अभिभावक हिचकिचाएको पनि पाइन्छ, नियमित खोप नलगाएमा भविष्यमा बालबालिकाको स्वास्थ्यमा असर पर्छ कि पर्दैन ?

बालबालिकालाई दिइने नियमित खोप कुनै पनि हालतमा छुटाउन हुँदैन । अघिल्लो कोरोना महामारीका समयमा स्वास्थ्य संस्थाहरू बन्द भए, त्रासका कारण कर्मचारीहरू समयमा स्वास्थ्य संस्था नपुग्ने समस्या पनि हामीले झेलेका थियौँ । पहिलो महामारीमा मनोवैज्ञानिक त्राससमेत अहिलेको भन्दा बढी थियो । अहिले त्यस्तो अवस्था छैन । 

कहीँकतै कर्मचारीहरू स्वास्थ्यमा संस्थामा नपुगे, प्रयास गर्दागर्दै पनि स्थानीय निकायका खोप केन्द्रमा खोप ढिला पुग्यो भने अर्को महिना स्वयंसेविका, स्वास्थ्य संस्थाले नै खबर गरेर बच्चालाई खोप दिनैपर्ने निर्देशन दिएका छौँ । देशभरका सबै खोप केन्द्रबाट सहजरूपमा बच्चाका लागि नियमित खोप कार्यक्रम चलिरहेको छ । जनस्वास्थ्यका मापदण्ड अपनाएर बालबालिकाको खोपकार्ड देखाएर बन्दाबन्दीको समयमा सहज रूपमा सवारीसाधन वा पैदल रूपमा खोपकेन्द्रमा पुग्न कसैले नरोक्ने भएकाले बालबालिकालाई नियमित खोप लगाइदिनुपर्छ । 

शिशुहरुलाई नियमित खोप लगाइएन भने रोग  प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । १५ महिनाको अवधिमा साना नानीबाबुलाई नियमित खोप नदिएमा उमेर बढ्दै गएपछि धेरै किसिमका सङ्क्रमणजन्य तथा पोलियो रोग आदि लाग्छ । त्यसैले उनीहरूले समयमै खोप पाएनन् भने जनस्वास्थ्यको हिसाबले असुरक्षित हुन्छन् । नियमित खोप नलगाउने बच्चाहरु नै भविष्यमा सङ्क्रमणयुक्त महामारीजन्य रोगको शिकार बन्छन् । 

अहिले कोरोना सङ्क्रमणको त्रासले बालबालिकालाई नियमित खोप नलगाइदिँदा उमेर बढ्दै गएपछि बच्चालाई विभिन्न किसिमका रोगको उच्च जोखिम हुन्छ । 

कोरोना महामारीको समयमा जन्मेदेखि १५ महिनासम्मका बालबालिकाले नियमित खोप लगाउँदैछन् ?

नेपालमा वार्षिक रूपमा ७ लाखभन्दा बढी महिलाले गर्भधारण गर्छन् । करिब १५ प्रतिशत महिलाले गर्भपतन गराउँछन् । वार्षिक रूपमा करिब साढे ६ लाख शिशु जन्मन्छन् । वार्षिक साढे ६ लाख बालबालिकाले स्वास्थ्य सुरक्षाका लागि १२ किसिमका विभिन्न खोप लगाउन सुरु गर्छन् । तर यी सबै खोप साढे ६ लाख शिशुले लगाउँदैनन् । पूर्ण रूपमा नियमित खोप करिब ६ लाख शिशुले मात्रै लगाउँछन् ।

कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाएपछि दोस्रो मात्रा लगाउने समयमा सङ्क्रमित भएमा दोस्रो मात्रा लगाउन हुन्छ कि हुँदैन ?

दोस्रो मात्रा लगाउने समयमा सङ्क्रमित भएर पीसीआर नेगेटिभ आएको ६ हप्तापछि मात्रै खोप लगाउन हुन्छ । केही अध्ययनहरुले भर्खर कोरोना सङ्क्रमण भएका नागरिकले एक महिनासम्म खोप नलगाए पनि हुने देखाएको छ । भर्खरै कोभिडमुक्त हुनेहरूमा एन्टिबडीको विकास भएको हुन्छ । अर्काे कुरा कोरोनामुक्त भएको छोटो समय अर्थात् एक महिनाभित्र नयाँ नयाँ भेरियन्ट आउने सम्भावना कम हुन्छ । त्यसैले कोरोनामुक्त भएको एक महिनापछि मात्रै दोस्रो मात्रा लगाउन भनिएको हो । पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा खोप लगाउने बेलामा सङ्क्रमण भएको अवस्थामा दोस्रो मात्रा लगाउन हुँदैन ।

कोभिडको दोस्रो मात्रा खोप लगाउने बेलामा नन्कोभिड रोग लाग्दा खोप लगाउन हुन्छ भन्छन् नि ?

कोरोनाविरुद्धको पहिलो खोप लगाएर दोस्रो मात्रा खोप लगाउने बेला जटिल खालको स्वास्थ्य समस्या भएर अस्पताल नै भर्ना भएमा खोप लगाउने कुरा भएन । ज्वरो आएको छ भने ज्वरो घटेको २४ घण्टापछि खोप लगाउँदा हुन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।