सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

शुक्रबार, १८ असार २०७८, १६ : ५३
शुक्रबार, १८ असार २०७८

विपक्षी गठबन्धन आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ । 

बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ। यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय भएको छ ।

असार २१ गते संविधान रक्षाका लागि काठमाडौंको माइतीघर मण्डल र उपत्यकाबाहिर पनि प्रदर्शन गर्ने निर्णय भएको विद्यार्थी संगठनहरूले जारी गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए।

त्रिविमा एमफिल र पीएचडी लगायतमा बढाएको शुल्क वृद्धि विरूद्ध आन्दोलनरत विद्यार्थीको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् ।

प्रेस नोट

आज मिति २०७८ / ०३/ १८ गते राजनीतिक , संवैधानिक र शैक्षिक क्षेत्रमा व्याप्त प्रतिगमन र वेथितिका विरुद्ध आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुको संयुक्त बैठक वसी तपशील वमोजिमको निर्णय गरियो ।

१) २०७८ आषाढ १९ गते शनिबार ७७ वटै जिल्लामा मसाल जुलुस सहित प्रदर्शन गर्ने।

२) २०७८ आषाढ २० गते प्रतिगमनका विरुद्ध विद्यार्थी आन्दोलनका पुर्व अध्यक्ष वा नेताहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने।

३) २०७८ आषाढ २१ गते संविधान जोगाउन , संविधानको प्रति प्रदर्शन गर्ने । उपत्यकामा माइतीघर मण्डला र उपत्यका बाहिर प्रत्येक जिल्लामा।

४ ) त्रिभुवन विश्वविद्यालयमा एम.फिल. पीएचडी.मा बढाएको शुल्क वृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थीहरुको सङ्घर्षप्रति ऐक्यबद्धता जनाउँदै बढाइएको शुल्क तत्काल फिर्ता गर्न जोडदार माग गर्दछौं ।

५ ) रि-इन्सुरेन्स कम्पनी दर्ता गर्दा सरकारले ब्यापक रुपमा चलखेल गरी ठूलो मात्रामा अनियमिता गरेको पाइएकाले तत्काल छानबिन गर्न जोडदार माग गर्दछौं ।

६ ) कोरोना कहरका विरुद्ध ज्यानको वाजी थापेर सवैभन्दा अग्रभागमा लडिरहेका स्वास्थ्यकर्मीहरुको सम्मानमा विद्यार्थी नेता डोजाङ् शेर्पाको नेतृत्वमा रत्नपार्कमा बनाइएको भित्ते चित्र मेटेर काठमाडौं महानगरपालिकाले अत्यन्तै आपत्तिजनक कार्य गरेको छ। स्वास्थ्यकर्मीहरुको मनोबल गिराउने यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दै कामनपाका मेयरलाई तत्काल माफी माग्न आग्रह गर्दछौं ।

७ ) चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षामा प्रत्येक ७२ घण्टामा पटकपटक पिसिआर टेस्ट गर्नुपर्ने प्रावधान अत्यन्तै अव्यवहारिक रहेको छ। ५ वटा सम्म परिक्षा दिने विद्यार्थीलाई पहिलोपटक गरिएको पिसिआर टेस्ट वा एन्टिजेन्ट टेष्टलाई मान्यता दिई परीक्षामा सामेल गरियोस्।

८ ) राजनीतिक , संवैधानिक र शैक्षिक प्रतिगमनका विरुद्ध आन्दोलनरत विद्यार्थी नेता तथा कार्यकर्ताहरूमाथि गरिएको निर्संश प्रहरी दमनको घोर निन्दा र भर्त्सना गर्दै सम्पुर्ण घाइते विद्यार्थी नेताहरूको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । 

राजिव ढुंगाना               
अध्यक्ष
नेपाल विद्यार्थी संघ

रन्जित तामाङ
 अध्यक्ष 
अखिल (क्रान्तिकारी)

सुदेश पराजुली
अध्यक्ष
अनेरास्ववियु

रुपनारायण श्रेष्ठ
अध्यक्ष
 समाजवादी विद्यार्थी युनियन
  
विमल पोखरेल
अध्यक्ष
अखिल (छैठौं)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप