बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा विभाजनको साइड इफेक्ट : एक्लिए राजेन्द्र महतो

आइतबार, ०३ साउन २०७८, २० : ५८
आइतबार, ०३ साउन २०७८

जनता समाजवादी पार्टी (जसपा) अन्ततः विभाजित भइसकेको छ । अब निर्वाचन आयोगबाट पार्टीको आधिकारिकता कसको भागमा पर्छ, त्यसको मात्रै पर्खाइ भइरहेको छ । पार्टीको हरेक समिति र संसदीय दलमा समेत उपेन्द्र यादव पक्षको बहुमत रहेका कारण उसैले आधिकारिकता पाउने देखिएको छ ।

एकीकरण भएको एक वर्ष नबित्दै जसपा विभाजन हुँदा सबैभन्दा बढी घाटा राजेन्द्र महतोलाई लागेको छ । जसपामा महन्थ ठाकुर पक्षबाट जति नेता तथा सांसदहरु उपेन्द्र यादवको पक्षमा लागेका छन्, ती सबै पार्टीका वरिष्ठ नेता रहेका राजेन्द्र महतोकै पक्षका छन् ।

अध्यक्ष उपेन्द्र यादवको पक्षका राष्ट्रियसभा सदस्य एवं कार्यकारिणी सदस्य मृगेन्द्रकुमार सिंह यादव, कार्यकारिणी सदस्य एवं प्रदेश २ सांसद समेत रहेका समाजिक विकास मन्त्री नवलकिशोर साह, संघीय सांसदहरु प्रमोद साह, अमृता अग्रहरि, नरमाया ढकाल, प्रदेश २ का सांसद डा.रिना यादव, अञ्जु यादव, निरा साह गइसकेका छन् । उनीहरु सबैजना राजेन्द्र महतोका खास व्यक्ति थिए । र, सबैजना पूर्व सद्भावना पार्टीका नेता हुन् ।

पूर्वराजपामै रहेका महेन्द्रराय यादवको सम्पूर्ण टीम उपेन्द्र यादवमा गइसकेको छ भने अनिल कुमार झाको पक्षमा रहेका संघीय सांसद रानी मण्डल र राजकिशोर यादवको पक्षमा रहेका कार्यकारिणी सदस्य गजाधर यादव पनि उपेन्द्र यादवको पक्षमा गइसकेका छन् । महन्थ ठाकुर पक्ष अर्थात पूर्व तमलोपाका भने कोही पनि यताउति भएका छैनन् । राजेन्द्र महतोको पक्षबाट मात्रै संघ र प्रदेश गरी आठजना सांसद उपेन्द्र यादवको पक्षमा लागेका छन् ।

२०७५ सालमा ६ वटा पार्टी मिलेर राजपा गठन भएको थियो । ती छ वटा दलमध्ये राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी पनि एक हो । राजपामा राजेन्द्र महतो जहिले पनि बहुमतमा हुन्थे । सांसददेखि लिएर केन्द्रीय कमिटी लगायतमा राजेन्द्र महतोको नै बहुमत हुन्थ्यो । उनले त्यसकै आधारमा महन्थ ठाकुरसँग पार्टीको सत्ता साझेदारी गरेर पार्टीमा आफ्नो प्रभाव कायम राख्दै आएका थिए । जसपा बनिसकेपछि पनि राजेन्द्र महतोले पार्टीमा आफ्नो पूर्व समूहको प्रभाव देखाएका थिए । त्यही आधारमा उनले आफूलाई संसदीय दलको नेता बनाउन सफल भए । तर, आज उनीसँग रहेका सबै नेता तथा सांसद उपेन्द्र यादवको पार्टीमा लागेका छन् । राजेन्द्र महतोका खासखास नेता तथा सांसद छाडेर हिँडेपछि जसपामा महतो निकै कमजोर भएका छन् ।

आखिर, महतो पक्षकै सांसद तथा नेताहरु किन उपेन्द्र यादवको पक्षमा लागे त ?

महतोसँग सद्भावना पार्टीमा लामो समय काम गरेका श्रीमननारायण मिश्र भन्छन्, ‘राजेन्द्र महतोले ती सांसद तथा नेताहरुसँग जस्तो व्यवहार गर्नुहुन्थ्यो, त्यस्तै व्यवहार उहाँहरुले पनि गर्नुभयो, ‘टिट फर ट्याट’ !’

जसपाका वरिष्ठ नेता महतोले राजनीतिलाई व्यपार बनाएको बताउँदै उनले ‘टिकट बेच्नेदेखि लिएर पार्टीमा ‘युज एण्ड थ्रो’ को राजनीति गरेकै कारण आज महतोसँग कार्यकर्ताले पनि त्यस्तै व्यवहार गरेको नेताहरु बताउँछन् । महन्थ ठाकुर पक्ष छाडेका प्रमोद साह भन्छन्, ‘राजेन्द्र महतोले पछिल्लो समय सिद्धान्तहीन राजनीतिक गर्न लागेका कारण मैले उहाँको साथ छाडेको हुँ ।’ नेपाल सद्भावना पार्टी पटक–पटक विभाजन भए पनि साहले महतोलाई छाडेका थिएनन् । तर, अहिले उनले पनि महतोको साथ छाडेर उपेन्द्र यादवलाई रोजेका छन् ।

त्यस्तै, अमृता अग्रहरि सद्भावना पार्टीमा महतोभन्दा पनि पुरानो नेतृ हुन् । पछिल्लो समय महतोको व्यवहारबाट आजित भएर उनले पार्टी छाडिन् । मृगेन्द्र कुमार सिंह यादव सुरुमा मधेशी जनअधिकार फोरम नेपालमा थिए । पछि राजेन्द्र महतोले आफ्नो पार्टीमा ल्याए । सँगै लामो समय राजनीति गरे । तर, उनले पनि महतोको साथ छाडेका छन् ।

महन्थ ठाकुर पक्षका लक्षणलाल कर्ण र मनिष सुमनले पनि राजेन्द्र महतोलाई अहिले साथ दिइरहेका छैनन् । अहिले पार्टीमा महतो पक्षबाट बोलिदिने कोही नेता छैन । मनिष सुमन अहिले मौन बसेका छन् भने लक्ष्मण लाल राजेन्द्र महतो खेमा छाडेर महन्थ ठाकुरको खेमामा गइसकेका छन् ।

महतोले नै रेशम चौधरी र लक्ष्मण थारुलाई राजपामा ल्याएका थिए । तर, अहिले उनीहरु पनि महतोको पक्षमा छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप